संसदीय दलको बैठकः संसद बैठकमा अनिवार्य उपस्थित हुन प्रधानमन्त्री देउवाको निर्देशन

संसदीय दलको बैठकः संसद बैठकमा अनिवार्य उपस्थित हुन प्रधानमन्त्री देउवाको निर्देशन


प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले संसद बैठकमा अनिवार्यरुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।

मंगलबार अपरान्ह बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संघीय संसदको दुवै सदनको बैठकमा अनिवार्यरुपमा उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन्। 

प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संसद बैठकमा अनिवार्यरुपमा उपस्थित भई पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको पार्टी संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन्। 

बैठकमा सांसदहरुले सत्तारुढ दलहरुसँग परामर्श गरेर मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए भने प्रधानमन्त्री देउवाले सबै दलसँग सम्वाद गरेर एमसीसीलाई पनि अघि बढाउने धारणा राखेका थिए। एमसीसीबारे अघिल्ला सरकारहरुले पनि कानुन प्रक्रिया अघि बढाएकाले यसलाई अन्य दलहरुसँग पनि विस्तृत छलफल गरेर अघि बढाउने धारणा प्रधानमन्त्रीले दलको बैठकमा राखेको सचेतक भुसालले बताइन् । कांग्रेस संसदीय दलले संघीय संसदको बुधबारबाट सुरु हुने बैठकमा संसदमा विचाराधिन अध्यादेश तथा विधेयकहरु पारित गरेर जाने निर्णय पनि गरेको छ । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा विचाराधिन राजनीतिक दलसम्बन्धि अध्यादेशलगायतका अध्यादेश र विधेयकहरु संसदको पहिलो बैठकबाटै छलफलका लागि अघि बढाउने जानकारी गराएका थिए भने गृहमन्त्री बालकृष्ण खाणले दार्चुला घटनाका सम्बन्धमा भारत सरकारलाई पठाइएको कूटनीतिक नोटबारे पनि बुधबारकै बैठकमा संसदलाई जानकारी गराउने बताएका थिए। दार्चुला घटनाका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ संसदको पहिलो बैठकमा गृहमन्त्री खाणले जानकारी गराउने विषयमा पनि दलको बैठकमा छलफल गरिएको सचेतक भुसालले बताइन्।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग छलफल गरी बजेटसम्बन्धि अध्यादेश पनि पारित गर्ने विषयमा पनि बैठकमा छलफल गरिएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।

Logo