सभामुखलाई एमाले सकस बन्दै, कसरी सञ्चालन गर्लान् संसद्?

सभामुखलाई एमाले सकस बन्दै, कसरी सञ्चालन गर्लान् संसद्?


देउवा नेतृत्वको सरकारले हठात अन्त्य गरिदिएको प्रतिनिधि सभाको बैठक आज बस्दैछ। चार बजेलाई संसद्को दुबै सदनको बैठक बोलाइएको छ। 

दोस्रोपटक पुनःस्थापित भएको एक महिनामै अर्थात् साउन ३२ गते संसद्का दुवै बैठक अन्त्य गरिएको थियो। त्यसको भोलिपल्ट भदौ एकमा सरकारले दल विभाजन अध्यादेश पनि ल्याएको थियो। 

देउवा नेतृत्वको सरकारले विशेषगरी अहिलेको सरकार बन्न महत्वपूर्ण भूमिका निर्वाह गरेका माधव नेपाललाई एमालेबाट विद्रोह गरि नयाँ दल गठनका लागि सहज बनाइदिन हठात् अधिवेशन अन्त्य गरि अध्यादेश ल्याईदिएको थियो।

अध्यादेश ल्याएर आफ्नो दल फुटाईदिएको भन्दै एमाले सरकारसँग आक्रामक बनेको छ। अर्कोतिर पार्टीले कारवाही गरेका १४ सांसदलाई पदमुक्त नगरेकोमा सभामुखसँग पनि एमाले रुष्ट छ।

त्यसो त सभामुखको भूमिका प्रति नेकपा एमाले विगत देखिनै असन्तुष्ट थियो। तथापि १४ सांसदको कारवाहीको विषयमा उनको अस्पष्ट अडानले सभामुख र एमालेबीचको दुरी बढेको हो।

१४ सांसदको कारवाही सभामुखले सदर नगरिदिएपछि त झन् संसदमा एमाले र सभामुखबीच द्वन्द्व चर्कने देखिएको छ। 

अब यही जुहारीमा सभामुख अग्निप्रसाद सापकोटाले सदन कसरी संचालन गर्ने भन्ने चासो छ। एमालेले कारवाहीमा परेका १४ सांसद बैठकमा उपस्थित भए सदन सञ्चालन गर्न नदिने निर्णय गरिसकेको छ।

आजको बैठकमा सभामुख सापकोटाका लागि पहिलो चुनौती प्रतिपक्षी एवम सदनकै ठूलो दल एमालेको सामना गर्नु हो। 

पछिल्लो समय ओलीले गर्ने अभिव्यक्तिहरूले सदनमा सभामुखविरुद्ध एमाले कडारूपमा प्रस्तुत हुने संकेत पनि गरेको छ। यसले सभामुख–एमाले द्वन्द्व बढ्ने पनि देखिएको छ। सभामुख सापकोटाविरुद्ध एमाले सर्वोच्च समेत पुगेको छ ।

सदनको ठूलो दल समेत भएकाले सापकोटालाई एमालेको सामना सकसपूर्ण हुने देखिन्छ । अर्कोतिर ओली सरकारले ल्याएको बजेट परिमार्जन गर्न प्रतिस्थापन विधेयक ल्याउने सरकारले तयारी गरिरहेको छ ।

आफ्नो सरकारले ल्याएको विधेयक परिमार्जन खोज्दा एमालले सदनमा त्यसको प्रतिवाद गर्ने देखिन्छ । 

यस्तो अवस्थामा आक्रामक एमालेको समेत साथ लिएर सभा संचालन गर्ने चुनौती सभामुखसामु छ।

Logo