एमसीसी मुलुकको हितमा नरहेको एमालेको निष्कर्ष, सभामुखको भूमिकालाई लिएर चर्को आलोचना

एमसीसी मुलुकको हितमा नरहेको एमालेको निष्कर्ष, सभामुखको भूमिकालाई लिएर चर्को आलोचना


नेकपा एमालेले एमसीसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ। बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरस्थित  ल्होत्से  हलमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्न नहुने बताएका हुन्। 

सांसदहरुले जबसम्म एमसीसीमा संशोधन हुँदैन, तबसम्म एमसीसी अगाडि बढाउन नहुने धारणा राखेका थिए।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमसीसी मुलुकको हितमा नरहेको बैठकले निष्कर्ष निकालेको जानकारी दिए।  

बैठकपछि सामाजिक संजालमा उनले लेखेका छन्, ‘सभामुखको भूमिका एमालेविरोधी माओवादी पार्टी कार्यकर्ता जस्तो भएको, एमसीसी मुलुकको हितमा नरहेको, निर्वाचन आयोग एमाले टुक्र्याउन उद्धत रहेको, जयसिंह धामीको घटनामा सरकारी व्यवहार भारतीयसामु लम्पसारवादी देखिएको जस्ता विषयमा एमाले मूकदर्शक बस्न अवश्य सक्दैन। 

उनले संजालबाटै एमाले बैठकको निष्कर्ष यही हो पनि भनेका छन्। बैठकमा सांसदहरूले सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर चर्को आलोचना गरेका थिए। उनीहरुले संसदमा सभामुखको राजीनामा माग्नुपर्ने धारणा राखे। 

बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एमालेले कारबाही गरेका १४ जनालाई संसद् बैठकमा सहभागी गराइए आफूहरु नबस्ने बताए। उनले गैरसांसदको उपस्थित भए सदन प्रारम्भै हुन नदिने स्पष्ट पारे। 

ओलीले छापामार शैलीमा मध्यरातमा अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउन सहयोग गरेर पार्टी फुटाएको आरोपसमेत लगाए। एमाले अध्यक्ष ओलीले एमसीसीका विषयमा सबैले अध्ययन गरेपछि पार्टीले धारणा बनाउने बताए। 

बैठकमा एमसीसीका विषयमा एमाले सांसदहरुले पार्टीको धारणा माग गरेपछि ओलीले देशको हितविपरित गएर सम्झौता नगर्ने धारणा राखे।

तथापि ओली प्रधानमन्त्री हुँदा उक्त परियोजना पास गर्न मरिहत्ते गरेर लागेका थिए।

Logo