नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संस्थापक नेताद्वय विपी कोइराला र गणेशमान सिंह जेल बसेको ठाउँको माटो छोएर महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै छन्।
उम्मेदवारी घोषणा समय आज मध्यान्ह १२ बजे हो। शर्माले पत्रकारहरूलाई उम्मेवारी घोषणा कार्यक्रममा बोलाएका छन्।
माटो छुँदै महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेर कांग्रेसका संस्थापक नेताहरूको सपनालाई साकार पार्ने प्रतिबद्धता व्यक्त गर्न शर्माले चाहेको देखिन्छ।
उनी कांग्रेसको चर्चितमध्येको एक नेता हुन्। प्रखर वक्ताको छवि बनाएका उनको महामन्त्री पदमा उम्मेदवारी पहिलो पटक हुन लागेको हो।
उनी पार्टीको संस्थापन पक्षका मानिन्छन्। तर, उम्मेदवारी कुन प्यानलबाट भन्ने प्रष्ट भइसकेको छैन।
नेपाल विद्यार्थी संघको उनी पूर्व अध्यक्षसमेत हुन्। उनको घर झापामा छ।
यसअघि महामन्त्री पदमा दुई जना चर्चितमध्येकै युवा नेताहरू गगनकुमार थापा र प्रदीप पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन्।
थापाले नेता शेखर कोइराला निकट हुँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट उम्मेदवारी घोषणा गरेको बुझिएको छ।
पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट उम्मेदवारी घोषणा गरेका हुन्।
आकाङ्क्षी अझै
नेपाली कांग्रेसको विधान २०७५ अनुसार महामन्त्री पद सभपातिपछिको शक्तिशाली पद हो। संगठनको नेतृत्व महामन्त्रीले नै गर्ने हो।
विधानमा दुईजना महामन्त्रीको प्रावधान छ। हालसम्म तीनजना युवा नेताको उम्मेदवारी घोषणा भइसकेको छ।
केन्द्रविन्दुसँग कुराकानी गर्दै डा. मिनेन्द्र रिजालले पनि यसअघि नै महामन्त्री पदमा उम्मेदवारी रहने बताइसकेका छन्।
उनको उम्मेदवारी घोषणा हुन बाँकी छ। उनी पनि कांग्रेको चर्चितमध्येका नेता हुन्। कोइराला परिवार निकट नेताको रूपमा उनी चिनिन्छन्।
महामन्त्री पदमा अन्य आकाङ्क्षीहरू पनि छन्। युवा पुस्ताका प्रभावशाली नेताहरू धनराज गुरुङ, डा. चन्द्र भण्डारी, बद्री पाण्डे, गुरु घिमिरे, सरिता प्रसाई, रामकृष्ण यादवलगायत पनि आकाङ्क्षी हुन्।
यी नेताहरूले उम्मेदवारी घोषणा गर्न बाँकी छ।
प्रकाशित: २४ भदौ २०७८ ११:४८ बिहीबार