मुख्य राजनीतिक दल अनिर्णयका बन्दीः के होला त एमसीसी पास ?

मुख्य राजनीतिक दल अनिर्णयका बन्दीः के होला त एमसीसी पास ?


मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई के गर्ने भन्नेबारे मुख्य दलहरूले आफ्नो अडान स्पष्ट पार्न सकेका छैनन्।

सत्तारुढ दल नेपाली कांग्रेस एमसीसी पास गर्ने पक्षमा रहदा अन्य दलहरूले चुईक्क मुख खोल्न सकेका छैनन्।

मुलुकमा मुख्य राजनीतिक दल सत्तामा हुँदा यस परियोजनालाई बल पुग्ने काम भने गरेकै हुन् । तर, जब निर्णयार्थ घडीमा आइपुग्दा सबैले खुट्टा कमाईरहेका छन्।

सत्तामा रहँदा नेकपा एमालेले पनि एमसीसी परियोजना लागु हुनुपर्ने अडान राखेको थियो।

पटक–पटक संसदमा होस् या सार्वजानिक कार्यक्रमहरूमा एमाले पार्टी अध्यक्ष केपी ओलीदेखि अन्य नेताहरूले खुलेर एमसीसीको विषयमा विचार राखेका थिए। अधिंकाश नेताले छिटो पास गर्नुपर्ने भन्दै आएका थिए। 

अहिले सोही एमाले प्रतिपक्षमा छ र सरकारलाई प्रश्न गरिरहेको छ ‘एमसीसीप्रति सरकारको धारणा के हो ?’

अहिले एमालेको बोली फेरिएको छ। एमालेले संसदमा परियोजना प्रस्तुत भएपछि बल्ल निर्णय गर्ने बताएको छ।

तर, एमालेकै प्रायः नेताहरू एमसीसी पास गर्नु नहुने तर्क राख्दै आएका छन्। एमाले उपाध्यक्ष भीम रावल भने कुनैपनि हालतमा एमसीसी पास गर्न नहुने यो परियोजना राष्ट्रिय हितमा छैन भन्दै सदनदेखि सडकसम्म आवाज उठाइरहेका छन्। 

यता माओवादी केन्द्र पनि एमसीसी परियोजना जस्ताको त्यस्तै पास गर्ने गराउने सुरमा छैन। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पछिल्लो एक सार्वजानिक कार्यक्रममा एमसीसी संशोधनसहित पास गर्नुपर्छ भन्ने तर्क राखेका थिए।

तर, परियोजनाले संशोधन नहुने बताएको छ। अब माओवादी केन्द्र के गर्छ अहिले नै केही भन्न सकिने अवस्थामा छैन। 

तर, केन्द्रका अधिकांश नेताहरू एमसीसीको विपक्षमा रहेका छन्। माओवादी स्रोतले परियोजना संशोधन नभए पार्टी परियोजनाको पक्षमा नरहने बतायो।

यता भर्खरमात्र एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादी पार्टीभित्र पनि परियोजनालाई के गर्ने भन्ने निर्णय भएको छैन। नेकपा (एस) पनि एमसीसीबारे मौन छ।

तथापि सोही पार्टीका एक सांसद केन्द्रीय कमिटि सदस्यले भने एमसीसी पास गर्न नहुने तर्क गरे।

‘जनताले यो परियोजना के हो भनेर उल्था समेत गरेर पढ्न पाएका छैनन्, अहिले नै पास गरेर नेपाल आजको भोलि कायापलट हुने होइन । म चाहिँ भन्छु पास नगर्दा हुन्छ,’ स्रोतले भन्यो। 

यता एमसीसीको बिरोधमा देशभर आन्दोलन सुरु भएको छ। काठमाडौं उपत्यकामा भने दिनहुँ जसो बिरोध हुँदै आएको छ।

आजै एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमणमा बिहान काठमाडौं आइपुगेकी छिन्। 

तर उनको आगमन सुखद भएन। उनी विमानस्थलबाट बाहिरिदै गर्दा उनलाई कालो झन्डा देखाइएको छ।

नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, केपी ओली लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

अहिले देखिएको मुख्य राजनीतिक दलको मौनता र कांग्रेस एक पार्टीको मात्र हुटहुटीले एमसीसी पारित हुन भने निकै गाह्रो देखिएको छ। किनकी यो परियोजना पास गर्न बहुमत चाहिन्छ ।

Logo