हंगामाका बीच नयाँ बजेट प्रस्तुत (भिडियोसहित)

हंगामाका बीच नयाँ बजेट प्रस्तुत (भिडियोसहित)


टप फाइब समाचारमा हामीले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचार भिडियोसहित सम्प्रेषण गर्ने गरेका छौं । आजका टप फाइब समाचार ।

शुक्रबार पनि प्रतिनिधिसभाको बैठक एमालेले अवरुद्ध गरेको छ। तथापि सभामुखले भने पटक–पटक गरी बैठक सञ्चालन भने गरे। एमालेको विरोधकैबीच सभामुखले सरकारलाई तीन अध्यादेश पेश गर्न समय दिए, बैठकले सरकारको तीनवटै आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन विधेयक २०७८ अध्यादेश पारित पनि गर्यो । लगत्तै प्रतिनिधि सभाको तेस्रो बैठकमा भने अर्थमन्त्री जर्नादन शर्माले प्रतिस्थापन विधेयक मार्फत् नयाँ बजेट प्रस्तुत गरेका छन्। 

सरकारले आर्थिक बर्ष २०७८–८९ का लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँको संशोधित बजेट ल्याएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याइएको बजेटलाई प्रतिस्थापन गर्दै अर्थमन्त्री शर्माले संशोधित बजेट संसदमा पेश गरेका हुन। सरकारले यस बर्षको आर्थिक वृद्धिको लक्ष्य भने ७ प्रतिशत लिएको छ। अर्थमन्त्री शर्माले विभिन्न नयाँ कार्यक्रम प्रस्तुत गरे । त्यसमध्ये दीर्घरोगीलाई मासिक ५ हजार भत्ता दिने घोषणा समेत गरेका छन्। 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेलधुरामा जिल्ला कार्यसमितिको सहमति वेगर वडा अधिवेशन सुरु गरेको भन्दै आपत्ति जनाएका छन् । सभापति शेरबहादुर देउवाको गृह जिल्लामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी वडा अधिवेशन सुरु भएपछि उनले आपत्ति जनाएका हुन्। पौडेलले  महाधिवेशनको लागि यो शुभसंकेत नभएको समेत बताएका छन्। 

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ब्राजिलियन फुटबलर पेलेको कीर्तिमान तोडेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी खेलाडी पेलेको कीर्तिमान मेस्सीले ५० वर्षपछि तोडेका हुन् । फिफा विश्वकप छनोट अन्तर्गत शुक्रबार बिहान ह्याट्रिक गर्दै मेस्सीले कीर्तिमान तोडेका हुन। 

सात महिनापछि पहिलो पटक चीन र अमेरिकाका राष्ट्रपतिबीच टेलिफोनमा कुराकानी भएको छ । चीन र अमेरिकाका बीचमा व्यापार, गुप्तचरी र महामारीका विषयमा मतान्तर भइरहेको समयमा दुई राष्ट्रप्रमुख बीच वार्ता भएको हो। चीन–अमेरिका सम्बन्धबीच तनाव कायम भइरहँदा यो छलफल अमेरिका र चीनबीचको प्रतिस्पर्धालाई जिम्मेदारीपूर्वक व्यवस्थित गर्ने अमेरिकाको जारी प्रयासको भाग रहेको ह्वाइट हाउसले जनाएको छ।  

 

Logo