६ वटा प्रदेशमा नेकपा (एस) ले पायो मान्यता, को-को बन्दैछन् संसदीय दलको नेता?

६ वटा प्रदेशमा नेकपा (एस) ले पायो मान्यता, को-को बन्दैछन् संसदीय दलको नेता?


नेकपा एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादीले प्रदेश सभामा पनि मान्यता पाएको छ। गएको भदौ ९ गतेबाट नै केन्द्रीय संसदमा दलको मान्यता पाए पनि प्रदेश संसदमा दलको मान्यता पाएको थिएन।

२२ गतेसम्मको सनाखत अवधि सकिएपछि भने अब प्रदेशमा पनि नवगठित नेकपा एकीकृत समाजवादीले दलको मान्यता पाएको हो। जसनुरुप सात प्रदेशसभा मध्ये ६ वटामा भने पार्टीले संसदीय दलको नेता सचेतक छान्ने बाटो खुलेको छ।

गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादीमा कोही पनि प्रदेश सांसदले सनाखन नगरेका हुँदा ६ प्रदेशमा मात्र सो प्रकृयाको बाटो खुलेको हो।

प्रदेशसभा सदस्यहरुले शुक्रवारदेखि नयाँ दलीय हैसियत पाएका छन् । अब प्रदेशसभा सचिवालयले उनीहरुलाई अलग संसदीय दलको मान्यता र सुविधासमेत दिनु पर्नेछ।
को–को बन्दैछन् संसदीय दलका नेता?

प्रदेश १
प्रदेश–१ मा नेकपा एसका १० जना सांसद छन्। माधव नेपाल समूहमा मुख्यमन्त्री भीम आचार्य पछि दोस्रो प्रभावशाली नेताको रुपमा राजेन्द्र राई थिए। तर, आचार्यले नेकपा एसमा नजाने भनेपछि अहिले नेकपा एसमा राजेन्द्र राई पहिलो वरियतामा उक्लेका छन्।

उनीसँग दलका अरु नेताले प्रतिस्पर्धा नगर्ने बताइएको छ। सँगै सर्वसम्मतरुपमै राजेन्द्र राई दलको नेता चयन गर्ने सम्भावना रहेको सांसद उपेन्द्र घिमिरेले बताए। अनेरास्ववियुका पूर्वअध्यक्षसमेत रहेका राई माधव नेपाल पक्षका प्रदेश–१ का अहिले सिनियर नेता हुन्। उनी दलको नेता हुनासाथ भीम आचार्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी छ।

प्रदेश एकमा कुनै कायापलट नभए आचार्यपछिका मुख्यमन्त्रीको रुपमा राईलाई हेरिएको छ। सांसद राईलाई प्रदेश १ को मुख्यमन्त्री बनाउन अन्य दलसँग पनि छलफल भइरहेको घिमिरेले बताए।

प्रदेश २
प्रदेश–२ मा नेकपा एसका १३ जना सांसद छन्। दलको नेता यसअघि पनि शत्रुधन महतो रहेकाले उनले नै निरन्तरता पाउने सम्भावना रहेको छ। प्रदेश २ मा तत्कालै नेकपा एस प्रदेश सरकारमा सहभागि बन्ने तयारीसमेत रहेको छ।

वागमती प्रदेश 
वागमतीमा नेकपा एसका १३ जना सांसद छन् । ती मध्ये सबैभन्दा सिनियर नेता राजेन्द्र पाण्डे हुन्। नेकपा एस गठनमा उनको हात सबैभन्दा बढी छ। सोही कारण राजेन्द्र पाण्डे सर्वसम्मत दलको नेता चयन हुने भएका छन् । केन्द्रबिन्दुसँगको अन्तर्वार्तामै उनले आफू अष्टलक्ष्मी शाक्यलाई हटाएर मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए।

गण्डकी प्रदेश 
गण्डकी प्रदेशमा नेकपा एस रोज्ने सांसद शून्य छन्। यसअघि केही सांसद माधवकुमार नेपाल समूहमा खुले पनि अन्तिममा उनीहरू पार्टी फूटाउने समूहसँग नजाने भन्दै एमालेमै रहेका थिए।

लुम्बिनी प्रदेश 
लुम्बिनीमा नेकपा एसका एकजना मात्र सांसद रमा घर्ती छन्। त्यसैले त्यहाँ उनी स्वतः दलको नेता हुनेछिन्। उनले संसदीय दलको नेता हैसियतमा सेवा पाउनेछिन्।

कर्णाली प्रदेशमा
कर्णाली प्रदेशमा नेकपा एसका जम्मा तीनजना सांसद छन् । केन्द्रीय सदस्यसमेत रहेकाले चन्द्रवहादुर शाही नेकपा एसको संसदीय दलको नेता बन्ने भएका छन् । प्रकाश ज्वालाको सांसद पद अदालतबाट अन्तरिम आदेशमार्फत खारेज भएकाले शाहीले नेतृत्व गर्नेछन्।

सुदूरपश्चिम प्रदेशसभा 
सुदूरपश्चिम प्रदेशसभामा नेकपा एस सबैभन्दा ठूलो दल हो। १४ सांसदसहित ठूलो दल बनेको हुनाले अन्य प्रदेशमा भन्दा त्यहाँ दलको नेता चयनमा पनि प्रतिस्पर्धा हुने देखिएको छ।

दलको नेताका लागि तारा लामा तामाङ, दीर्घ सोडारी, माया भट्ट र पूर्णा जोशीले दावी गरेका छन्। तथापि बलियो पकड भने तारा लामा तामाङको रहेको छ। साथै उनैलाई दलको नेता बनाउने तयारी नेकपा एसको छ।

कन्चनपुरबाट निर्वाचित लामा अन्तिम समयमा थप सांसदसहित नेकपा एसमा सनाखत गर्न गएका थिए। उनी साबिक एमालेको जेठ २ अघिको कञ्चनपुर जिल्ला अध्यक्ष छाडेर नेकपा एसमा लागेका थिए।

Logo