२ महिनादेखि बस्न सकेन प्रदेश २ को बैठक, अझै अनिश्चित

२ महिनादेखि बस्न सकेन प्रदेश २ को बैठक, अझै अनिश्चित


प्रदेश नं २ को प्रदेशसभा बैठक दुई महिनादेखि बस्न सकेको छैन। बैठक कहिले बस्ने अझै निश्चित छैन।

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विभाजनका कारण प्रदेशसभाको बैठक अनिश्चित बनेको हो। गत असारमा सरकारले प्रदेशसभाबाट बजेट पारित गरेपछि छैटौँ अधिवेशन अन्त्य गरिएको थियो। सातौँ अधिवेशनको हालसम्म कुनै सुरसार छैन।

लामो समयसम्म प्रदेशसभा बैठक नबस्दा संसदमाथि नै प्रश्न उठेको सत्तारूढ दलकै सांसदहरू बताउँछन्। प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बैठक चाँडै बोलाउन छलफल अघि बढाइएको बताए। “दसैंँअघि नै अधिवेशन आह्वान गर्ने तयारी छ”, उनले भने। 

यसैगरी प्रदेशसभाका विभिन्न विषयगत संसदीय समितिसमेत अहिले सभापतिबिहीन छन्। सार्वजनिक लेखा, कृषि र प्राकृतिक स्रोतलगायत समिति सभापतिबिहीन छन्। अहिले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको सङ्ख्या सात पुगेको छ। यसअघि पाँच दल थिए। राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नयाँ दलकारुपमा अस्तित्वमा आएका छन्। 

जसपा विभाजित भएसँगै महन्थ ठाकुर नेतृत्वमाको लोसपामा १६ प्रदेशसभा सदस्यले सनाखत गरेका छन्। त्यस्तै एमाले विभाजित एकीकृत समाजवादीमा १३ प्रदेशसभा सदस्यले सनाखत गरेका छन्। प्रदेशसभामा जसपाका ३९, नेपाली कांग्रेसका १९, लोसपाका १६, एकीकृत समाजवादीका १३, नेकपा (माओवादी केन्द्र) का ८, एमालेका ८ र नेपाल सङ्घीय समाजवादी पार्टीका एक सांसद छन्। 

एकीकृत समाजवादी प्रदेश सरकारमा सहभागी हुने भएको छ। सङ्घीय सरकारमा बनेको समीकरणजस्तै प्रदेश २ मा पनि बनाइने दलहरूबीच सहमति भएको छ। अहिले जसपाको नेतृत्वमा कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी छन्।

Logo