माओवादी केन्द्रद्वारा पार्टीको विधान पारित

माओवादी केन्द्रद्वारा पार्टीको विधान पारित


नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान पारित गरेको छ। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी केन्द्रिय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्नेगरी पार्टीको विधान पारित गरेको हो। 

बैठकले पार्टीको निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। 

आयोगलाई पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने? भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि बैठकले दिएको छ। प्रवक्ता महराले स्थायी कमिटीको बैठकले अहिलेसम्म सम्पर्कमा आएका ४५ वटा पार्टीबाट विद्रोह गरेका नेताहरुलाई कसरी समायोजन गर्ने र यस सम्बन्धी कार्यान्वयनका लागि बनेको कार्यदलले प्रतिवेदनको पूरा रुप दिन आग्रह गरिएको बताए।

प्रवक्ता महराले फेरि सर्वदलीय बैठक बसेर वा छुट्टाछुट्टै बैठक बसेर भएपनि संसद राम्रोसँग चलाउनु पर्छ भन्ने कुरामा नै नेकपा माओवादी अडिक रहेको बताए।

Logo