गठबन्धनको सरकार बनेपछि सुरुमा प्रदेश १ को नामकरण गर्छाैंः राजेन्द्र राई

गठबन्धनको सरकार बनेपछि सुरुमा प्रदेश १ को नामकरण गर्छाैंः राजेन्द्र राई


प्रदेश  १ मा अहिले भीम आचार्य मुख्यमन्त्री छन्। शेरधन राईले पार्टी एकता गर्न भन्दै पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीमा आचार्यको लट्री लागेको थियो। 

तर, एमाले पार्टी नै फुटेपछि भने आचार्य अल्पमतमा परे। दश सांसदसहित विद्रोह गरेर एमालेबाट नेकपा एकीकृत समाजवादीमा सनाखत गरेपछि अब गठबन्धनको सरकार बन्ने देखिएको छ।

प्रदेश १ मा नेकपा (एस) बाट राजेन्द्र राई मुख्यमन्त्री बन्ने चर्चा छ, जसको लागि नेकपा एस प्रदेश १ ले राईलाई संसदीय दलको नेता पनि बनाइसकेको छ।

यता एमाले पनि आफ्नो सरकार टिकाउन हरसम्भव लागिरहेको छ। यसबीच संसदीय दलका नेता राई आफ्नो नेतृत्वमा सरकार बनाउन कसरी भूमिका खेल्छन्? पार्टी विभाजनपछि नेकपा एसको अवस्था र सरकारमा गएपछिको प्राथमिकता विषयमा केन्द्रबिन्दुकर्मी विकास आचार्यले राजेन्द्र राईसँग गरेको कुराकानीको सम्पादित अंशः

नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश १ संसदीय दलको नेतामा चुनिनु भयो । अब तपाईकै नेतृत्वमा सरकार बन्ने हो?

त्यो सम्भावना अलि बढी छ। किन बढी छ भने अरु दलले विभिन्न प्रदेशमा मुख्यमन्त्री लिइसके । तर नेकपा एकीकृत समाजवादी पार्टी चाहिँ भर्खरै गठन भएकाले हामीले पाउने सम्भावना बलियो छ।

प्रदेश १ मात्र होइन, बागमती प्रदेशमा पनि हाम्रो पार्टीले नै मुख्यमन्त्री पाउनुपर्छ भन्ने हाम्रो कुरा हो।

सत्ता गठबन्धनमा केन्द्रमै पनि खटपट  । केन्द्रको गठबन्धनले सरकार समेत दिन सकेको छैन । यो अवस्थामा तपाईहरूले बनाउने प्रदेश १ गठबन्धन सरकार टिक्ने दरिलो आधार के ? 

सत्ता बाँडफाँट र मुलुकको राजनीतिक कारणले चाहिँ यो गठबन्धन टुट्न सक्ने सम्भावना छँदै छैन। 

आगामी निर्वाचनसम्म पनि गठबन्धनलाई अगाडि बढाउने एक किसिमको सहमति केन्द्रकै भएको कारण यो टुट्छ भन्नेमा मलाई विश्वास छैन। 

एमसीसीको विषय प्रवेश गरेर विवाद भएर यो गठबन्धन पनि परिर्वतन हुन्छ कि भन्ने एउटा आशंका छ।त्यही भएर हामीले नेताहरूसँग बाक्लै भेटघाट गरिरहेका छौं । उहाँहरूको कुराअनुसार पनि एमसीसीले पनि केही फरक नपर्ने जवाफ दिइराख्नु भएको छ।

त्यसैले, हामी ढुक्क छौं। तर, एमालेको तर्फबाट गठबन्धन फुटाउने अधिकतम प्रयास भइरहेको छ। केन्द्र, प्रदेश र जिल्लाका नेताहरूसँग उहाँहरूले निरन्तर कुराकानी गरिराख्नु भएको छ। तर, त्यो सम्भावना छैन।

त्यसो हो भने मुख्यमन्त्री भीम आचार्य चाहिँ कहिले सम्मको मुख्यमन्त्री ? 

अब दशैंअघि सम्ममा सरकार परिर्वतन हुन्छ। उहाँले आफूलाई टिकाउन सक्दो प्रयास गरिराख्नु भएको छ। तर, अबको ९ \१० दिन पछि हामी सरकार ढाल्छौं।

तपाईहरूसँग पनि आचार्यको केही कुरा भएको छ? पार्टी अलग भएपनि हामी सँगै सरकार बनाऊँ भनेर ?

त्यो त छैन, बरु कतिपय सांसदहरूलाई चाहिँ फोनबाट, भेटमार्फत् पनि र कतिलाई नेताहरू लगाएर पनि फकाउन खोज्दै हुनुहुन्छ । तर, अब उहाँहरू यत्रो विद्रोह गरेर आईसक्नु भएको छ । यहाँ त्यसो गर्नुहुन्न, अब त फ्लोर क्रसको पनि त डर हुन्छ नि हामीलाई।

पदकै लागि पार्टी फुटाएको जस्तो देखियो नि ?

यो पदको लागि विल्कुलै थिएन। व्यक्तिगत रुपमा त मैले यो कार्यकालमा त मन्त्री, मुख्यमन्त्री हुन्न भनेर पटक पटक भनेको थिए । सोहीअनुसार मैले मन्त्री पद पनि लिइन।

केन्द्रको हकमा पनि हाम्रो नेता माधव नेपालले अध्यक्ष, प्रधानमन्त्रीको अफर आउँदा पनि गलत करालाई सहि भन्नु भएन ।

तत्कालीन प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहँदा न सरकार सञ्चालन राम्रोसँग गर्नुभयो, न पार्टी सञ्चालन गर्नु भयो। सोही कारणले विवाद बढ्दै गयो। विवाद समाधान गर्ने बाटोमा लाग्नु पर्नेमा अध्यक्षले उल्टै कारवाही गर्न थाल्नु भयो। पटक पटक पार्टीको ढोका बन्द गर्ने काम उहाँले गर्नुभयो। त्यसपछि मात्र विभाजन गर्नुपर्ने अबस्थामा पुग्नुपर्यो।

हाम्रो सोंच पार्टीबाट अलग हुनुपर्छ भन्ने थिएन । हामी मजबुर भयौं।

पार्टीभित्रै बसेरै समस्या समाधान गर्नुपर्छ भन्ने विचार तपाईहरूमा आएन? 

हामी कहिल्यै पार्टी फोर्ने पक्षमा थिएनौं एकताको पक्षमै थियौं। अब आफैले दुःख गरेको पार्टीबाट अलग भएर हिँड्नु पर्दा दुःख त अवश्य नै लागेको छ।

अब हामीलाई फागुन २८ को पार्टी निर्णयपछि पार्टीमा फर्किने अवस्था नै नबनाई दिएपछि यो विद्रोद गर्नु पर्यो।

तपाईंले पनि देख्नु भएकै छ त, हामीलाई कति अपहेलना गरियो । संख्या गन्न गाह्रो पर्ने गरी कारवाही गरियो, अनि हामीले विकल्प खोज्नु गलत हो र? 

फरक प्रसंगमा जाऔं, हिजो सँगै हुनुहुन्थ्यो । के प्रदेश १ मा शेरधन राई नेतृत्वको प्रदेश सरकारले जनताको भावना अनुरुप काम गर्न सक्यो ? 

एउटा त प्रदेश एक सरकारको नामकरण उहाँले गर्न सक्नु भएन। दोस्रो कामको सन्दर्भको कुरा गर्ने हो भने कस्तो भयो भने कामहरु अत्यन्तै धेरै थालियो तर, पैसा कम छैन भनेर टारियो ।

त्यसो भएको हुनाले अब ५ बर्षभित्र त पर जाओस्, १० बर्षभित्र पनि थालिएको काम सक्न मुस्किल छ।

अर्को चाहिँ कामको प्राथमिकता के हो भन्ने कुरा निर्धारण हुन सकेन । पैसा छैन भन्ने तर गाडी खरिद जस्ता विलासितामा बढी खर्च गर्ने काम भयो।

अरु त अरु टावर बनाउने कुराले प्राथामिकता पायो, जुन विषय प्राथमिकतामा कम पर्नुपर्ने थियो । त्यस विषयमा बढी लगानी भएर खर्च भए।

काम नै नभएको भने होइन भएका छन् । तर, जनभावनारुप चाहिँ भएन।

नेकपा एमाले विभाजन भएपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीको चुनौती कति देख्नु भएको छ? जनप्रतिनिधिकै कुरा गर्ने हो भो कुनै प्रदेशमा त शुन्यकै स्थितिमा छ । अब कसरी अघि बढ्नुहुन्छ?

संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहमा शुन्यको अवस्थाको कुरा छ। हेर्नुहोस् त टिकट वितरणमा कति पक्षपातपूर्ण ढंगले वितरण गरिएको रहेछ। माधव नेपाल समूहलाई टिकट वितरणमा कति दबाइएको रहेछ भन्ने यहाँबाट स्पष्ट हुन्छ।

अब जहाँसम्म हामी कसरी अघि बढ्छौं भन्ने कुरा छ, केपी ओलीको सरकारले आफ्नो कार्यकालमा गरेको कामबाट जनतामात्र हो, उहाँ सँगै हिँड्ने कार्यकर्ता पनि निराश छन्।
त्यस्तो अवस्थामा हामीलाई केही समय बढी लाग्छ तर, जनताले, कार्यकर्ताले धेरै धेरै साथ दिने पार्टी बन्छ भन्ने विश्वास लिएका छौं ।

यो हाम्रो पार्टी विचारले अघि बढ्ने हो । त्यो हिसावमा पनि हामीलाई केही असहज पर्छ जस्तो मलाई लाग्दैन।

प्रदेश १ मा अधिकांश स्थानीय तहहरूमा त तपाईंहरू शुन्य हुनुहुन्छ? तपाईंले भने जसरी कसरी जनताले साथ देलान् त?

प्रदेश १ को स्थानीय तहहरूमा टिकट दिन सारो पक्षपात भएको थियो। त्यसैले, प्रतिनिधि कम भएका हुन्। 

त्यसबेला खुद भीम आचार्य पनि शेरधन राईसँग मिलेर माधव पक्षका नेताहरूलाई पक्षपात गरेकै हो।

कतिपय स्थानीय तहमा वडा सदस्य समेत नदिने काम भयो। उहाँहरू मिलेर प्रदेश १ मा माधव नेपाल विचार समूहलाई त पाखा लगाएकै हो । त्यही भएर यस्तो भएको हो।

तर हिजो भीम आचार्य तपाईंहरुकै कोर टिमको होईन र ? अहिले तपाईंले त्यस्तो आरोप लगाउन मिल्छ?

उहाँको त्यही बानीले र शेरधनसँगको साठगाँठले उहाँलाई मुख्यमन्त्री बनाउन सांसदहरूले मत हाल्नु भएन।

त्यतिखेर शेरधन राईलाई चिठ्ठा पर्यो। उहाँको बानी कस्तो भने माधव नेपालको नाममा प्रदेश १ को इन्चार्ज बन्ने तर, काम चाहिँ ओलीको पक्षमा गर्ने ।

कुनै दिन इन्चार्ज भएपछि माधव नेपाल पक्षका साथीहरूसँग उहाँले छलफल गर्नुभएन।

त्यसले संगठन पुर्नगठनमा चाहिँ असर गरेन तर, टिकट दिने कुरामा त अति नै धेरै असर गर्यो।

प्रदेश र केन्द्रमा चाहिँ भीम आचार्य निर्णायक नभएका कारणले अलिकति बढी सांसद रह्यौं, आचार्यको हात हुने थियो भने त यो संख्या पनि हुने थिएन।

गठबन्धन टिकाउन तपाईंबाट कस्तो भूमिका हुन्छ । सरकारको नेतृत्व गरेपछिको अवस्थामा कस्ता कुरा प्राथमिकतामा पर्छन्?

गठबन्धनले टिकाउन त केन्द्रले भूमिका खेल्ने हो । केन्द्रमा मिल्यो भने त प्रदेशमा मिल्छ नै।। प्रदेशमा पनि सामूहिक ढंग निर्णय गरेर हामी गठबन्धन टिकाउने प्रयास गर्छौं नै। कार्यदल बनाएर सरकारले गर्नुपर्ने कामसहित अन्य कुरा पनि सरसल्लाह गरेर अघि बढ्छौं।

रह्यो सरकारको प्राथामिकताको कुरा । पहिलो त प्रदेशको नाम दिने प्रयास गर्छु । त्यस्तै शान्ति सुरक्षालगायत अधुरा काम पुरा गर्न लाग्ने छु।

खास गरी बजेट थोरै छ तर, चुहावट बढी छ । त्यो चुहावटलाई रोक्ने प्रयास गरिनेछ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला

Logo