मुलुक बजेटबिहीन हुनुमा देउवा सरकार दोषीः डा. कँडेल

मुलुक बजेटबिहीन हुनुमा देउवा सरकार दोषीः डा. कँडेल


राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कँडेलले मुलुक बजेटबिहीन हुनुमा सरकार स्वयं जिम्मेवार रहेको बताएका छन् ।

विभिन्न राजनीतिक खिचातानी लगायत कारणले मुलुकले बजेट शुन्यताको स्थिति सामना गर्न नपरोस् भनेर संविधानमा नै जेठ १५ गते बजेट संसदमा पेस गर्नुपर्ने प्रावधान राखिएको स्मरण गर्दे उनले अहिले मुलुक बजेट शुन्यताको अवस्थामा पुग्नुको मुख्य कारक वर्तमान सरकार भएको अभिव्यक्ति दिए ।

बुधबार संक्षिप्त कुराकानी गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष कँडेलले प्रतिपक्षले सदन बन्द गरायो भन्ने आडमा टेकेर प्रतिपक्षलाई आरोप थुपार्दै बजेट खर्च गर्न पाइएन भन्ने छुट वर्तमान सरकारलाई नरहेको बताए । 

नेकपा एमालेका नेता समेत रहेका उनले सरकारले आफूलाई चाहिएको डकुमेण्ट बलजफ्ती पास गरिरहेको दाबी पनि गरे । उनले बजेट अधिवेशन पार्टीलाई फुटाउनका लागि बन्द गरेर अर्को अध्यादेश ल्याउनुबाट सरकारको नियत भएको स्पष्ट भएको टिप्पणी गरे।

पूर्व उपाध्यक्ष कँडेलले प्रतिपक्षले रचनात्मक हिसावले सहयोग गरिरहेको भन्दै मूल निर्णयकर्तामाथि प्रतिस्थापन विधेयकबारे प्रश्न उठेकोले मूल निर्णयकर्ताले नै समस्याको समाधान गर्नुपर्ने बताए । उनले प्रतिपक्षको समस्या समाधान नगरी सरकारले आफ्नो इच्छानुसार  काम गरिरहेको विचार राखे ।

मुलुक बजेटबिहिन हुँदा अस्पताल, जेल लगायत सरकारी कार्यालयमा हुने दैनिक खर्च ठप्प हुनेछ, आयोगका पूर्व उपाध्यक्ष कँडेलले भने ।
 

Logo