४ कात्तिक २०७८ बिहीबार
केन्द्रबिन्दु बुलेटिन

अस्तव्यस्त वायुसेवा निगम (भिडियोसहित)

हामीले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक टप फाइब समाचार भिडियोसहित सम्प्रेषण गर्ने गरेका छौं । आजका टप फाइब समाचार ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टीमा नगई एमालेमै फर्किन नेता कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । तर, एमालेलाई माधव नेपालको भने कुनै काम नरहेको बताएका छन् । काठमाडौंमा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता नेपालले व्यक्तिगत स्वार्थ र अहंकारका कारण पार्टी फुटाएर गएको ओलीको आरोप छ। यस्तै सोही कार्यक्रममा सम्बोधन गर्दै एमाले उपाध्यक्ष एवम् बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भने माधव कुमार नेपालले लिएको बाटो सही नभएको भन्दै समीक्षा गरेर ‘सुदृढ एमाले बनाउने अभियान’मा आउन आह्वान गरेकी छन् । 

असोज १ गतेबाट विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले अन्तिम समयमा आएर उक्त निर्णय फिर्ता लिएको छ। बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शैक्षिक संस्थाहरू (विद्यालय)ले भौतिक उपस्थितिमा पठनपाठन गर्न÷गराउन नपाउने आदेश जारी गरेका हुन् । अभिभावक तथा सरोकारवाला निकायबाट कारोना र निपा भाइरसको संक्रमण त्रास र दशैंको छेकोमा विद्यालय खोल्ने निर्णय आएको भन्दै चौतर्फी विरोध भएपछि प्रशासन आफ्नो निर्णयबाट पछि हटेको हो । 

झण्डै ५० अर्ब ऋणभारको सामना गरिरहेको निगम यतिबेला झनै अस्तव्यस्त बनेको छ। निगमलाई निजीकरण गर्न लागिएको भन्दै निगमभित्रका कर्मचारीका ट्रेड युनियनहरुले आन्दोलन गर्दै आएका छन् भने, कर्मचारीकै आन्दोलनका कारण निगमको प्रशासनिक काम प्रभावित बन्दै गएको छ। निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल दुई महिनादेखि कार्यालय पुग्न सकेका छैनन् । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पुनः एक पटक वरियता सार्वजनिक गरेको छ। नयाँ वरियताको सूचीमा नेपालको स्थान भने यथावत नै रहेको छ। यस्तै आईसीसीको एकदिवसीय वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने पहिलो पटक अटाएका छन्। सन्दीप बलिङ वरियताको ९१ औं स्थानमा रहेका छन्। 

अफगानिस्तानबाट यस बर्ष सन् २०२१ को अहिलेसम्ममा छ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन् । विस्थापित भएका मध्ये दुई लाख ८२ हजार २४६ जनालाई विभिन्न सहयोग पनि प्रदान गरिएको अधिकारीहरुले जनाएका छन् । देशमा भइरहेको आन्तरिक द्वन्द्वका कारण उनीहरु विस्थापित भएको जनाइएको छ । यस्तै संयुक्त राष्ट्रसंघले हाल अफगानिस्तानका नागरिकलाई तत्काल ठूलो मात्रामा आर्थिक सहयोगको आवश्यकता रहेको पनि औंल्याएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६८९ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४५ हजार २१५ पुगेको छ। नेपालमा आज १ हजार ५११ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३४६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ८१ हजार ९८९ जना र एन्टीजेन परीक्षणबाट ८८ हजार १८७ जना पुगेको छ। आज ११ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ। आज १५ हजार १७९ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४० लाख ६८ हजार ५९१ जनाको पिसिआर र ५ लाख २८ हजार ४५६ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

राजनीति केन्द्रविन्दु टिभी

प्रकाशित: ३१ भदौ २०७८ १९:५२ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी