एमसीसी सम्झौता सही थियो भने संसदबाट पास गर्न किन रोकिएको ?: प्रदीप ज्ञवाली

एमसीसी सम्झौता सही थियो भने संसदबाट पास गर्न किन रोकिएको ?: प्रदीप ज्ञवाली


नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरुको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन् । 

शुक्रवार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरणः सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोग बिना एमसीसी संसदबाट पास गर्न चुनौती दिएका हुन् । 

विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरुले सडकमा आगो बालेको भन्दै सम्झौता गलत भए किन सम्झौता गरेको, सम्झौता सही थियो भने संसदबाट पास गर्न किन रोकिएको हो भन्ने प्रश्न पनि गरे ।

एमसीसी पास गर्न प्रतिपक्षको सहयोग मागिएको भन्दै उनले अब सरकारले संसदमा प्रस्ताव ल्याएपछि मात्रै आफूहरुको धारणा सार्वजनिक गर्ने स्पष्ट पारे ।

नेता ज्ञवालीले एमसीसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउनु नहुने बताए । यसले छिमेकी राष्ट्रहरुमा देशको विश्वसनीयतालाई कमजोर गराउने उनको तर्क छ ।

उनले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्याको रुपमा लिएको भन्दै सिमा समस्या नै नभएको चीनसँग भने सिमा समस्या देखाएर सम्बन्धमा चिसोपन निम्त्याउने काम गरेको बताए ।

नेता ज्ञवालीले दुवै छिमेकी राष्ट्रहरुसँग सन्तुलित र परिपक्व सम्बन्ध राखेर अघि बढ्नुपर्ने जिकिर गरे ।
 

Logo