संविधान दिवसः आफै भक्षक आफै रक्षक !

संविधान दिवसः आफै भक्षक आफै रक्षक !


संविधान सभाबाट संविधान जारी भएको ६ वर्ष पुग्दै गर्दा संविधानको विषयलाई लिएर विभिन्न टिप्पणी हुनुका साथै संविधानको आयुमाथि नै प्रश्न उठ्न थालेको तर्क वितर्क हुन थालेको छ । 

राजनीतिज्ञहरू संविधान कार्यान्वयनको बाटोमा नहिँडेर सत्ता जोगाउने खेलमा लागि परेकाले पनि जनमानसमा संविधानप्रति विश्वास हराउँदै गएको कानुन व्यवसायी कीर्तिनाथ शर्मा पौडेल बताउँछन् । 

दुई दशकदेखि कानुन व्यवसाय पेसामा कार्यरत शर्माले संविधानको रक्षक नै भक्षक हुनु नेपाली जनताका लागि दुर्भाग्यको कुरा भएको बताएका छन् । 

“संविधान जारी भएको ६ वर्ष पुग्दै गर्दा हामीले संविधानमाथि गर्व गर्ने अवस्था सिर्जना नभइसकेको अवस्था छ । विगतमा देशका कार्यकारी प्रमुखद्वारा नै पटक पटक संविधानको मर्म विपरित कार्य हुनु आफैमा देश र नेपाली जनताका लागि दुर्भाग्यको कुरा पनि हो,” केन्द्रबिन्दुसँगको कुराकारीका क्रममा उनले भने, “संविधानमाथि नै दुर्व्यवहार हुने कार्य पनि गरियो । हिजो सत्ता टिकाउन संविधान विपरित कदम चाल्नेहरूले नै आज संविधान दिवस मनाउँदै गर्दा यहाँ भक्षक नै रक्षक बन्ने प्रयत्न गरेको प्रस्ट हुन्छ ।”

नेपाली जनताको लामो र अथक प्रयासपछि आएको संविधान अल्पकालमै मृत्युवरण तिर जाने खतरा देखिएको नेपाल डेमोक्रेटिभ लयर्स एसोसिएसनका वरिष्ठ केन्द्रीय सदस्यसमेत रहेका शर्मा बताउँछन् । उनले भने, “आज दुःखका साथ भन्नु परेको छ कि संविधान अल्पायुमै मृत्युवरणतर्फ जाने खतरा देखिन थालेको छ । यो अवस्था आउनुमा पछिल्लो सरकारको प्रत्यक्ष भूमिका देखिन्छ । गत पुस ५ गते र जेठ ७ गते असंवैधानिक रूपमा गरिएको प्रतिनिधि सभा विघटनले संविधानको मर्ममा प्रत्यक्ष रूपमा प्रहार गरेको हो ।”

उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई इंगित गर्दै भने, “उहाँले नै हो नि दुई दुई पटक प्रतिनिधि सभा विघटन गरेको ? अनि असंवैधानिक ढंगबाट विभिन्न आयोगका पदाधिकारीहरू नियुक्ति गर्ने । मन्त्रिपरिषद् विस्तारलाई पनि असंवैधानिक कदम भनेर सर्वोच्चले नै प्रमाणित गरिसकेको छ । फेरि यति गरिसकेर अझै आफै संविधान दिवस मनाउन कम्मर कस्नु आफैमा हास्यास्पद कुरा पनि हो ।”

कानुन व्यवसायी शर्माले पूर्व प्रधानमन्त्री ओलीमा नैतिक र कानुनी चरित्रको अभाव रहेको जिकिर पनि गरेका छन् । उनले भने “खड्ग ओलीमा कानुनी चरित्र छैन भन्ने त पहिले नै प्रस्ट भएको थियो । अब उहाँमा नैतिक चरित्र समेत छैन भने प्रमाणित भयो । आफै बोक्सी आफै धामी भन्ने नेपाली उखानले ठ्याक्कै उहाँलाई नै प्रतिबिम्ब गरेको देखिन्छ ।” 

Logo