काभ्रे कांग्रेसमा तीन वडा सभापति सर्वसम्मत, बाँकीमा अधिवेशन जारी

काभ्रे कांग्रेसमा तीन वडा सभापति सर्वसम्मत, बाँकीमा अधिवेशन जारी


नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनका क्रममा काभ्रेका तीन वडा सभापति सर्वसम्मत चयन भएका छन्। यसरी चयन हुनेमा धुलिखेल नगरपालिका–११ वडा सभापतिमा नारायणप्रसाद ओझा, बनेपा नपा–११ मा राजु श्रेष्ठ र १२ नम्बर वडामा प्रेम शर्मा वाग्ले छन्। पार्टीका जिल्ला प्रवक्ता महेश पौडेलले केही वडामा सर्वसम्मतको प्रयास भइरहेको र केही वडामा सर्वसम्मत चयन भई निर्णय गर्ने चरणमा रहेको जानकारी दिए। 

उन्नाइस हजारभन्दा बढी क्रियाशील सदस्यले बाँकी वडासभापति चयन गर्दैछन्। जिल्लामा तेह्र पालिका छन् ।

आज काभ्रेसहित सात जिल्लामा वडा अधिवेशन जारी छ। पार्टीको केन्द्रीय कार्यालय अनुसार यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता सदस्यता विवरण प्राप्त भएपछि वडा अधिवेशनको समय तालिका निर्धारण गरिनेछ। 
वडा निर्वाचनमा उन्नाइस हजार १० सदस्यले मतदान गर्न पाउने समितिले जनाएको छ। समितिका अनुसार वडा निर्वाचनमा वडासभापतिसहित २२ को वडा कार्यसमिति चयन गनर्छे। साथै, वडा निर्वाचनमा वडामा रहेका क्रियाशील सदस्य सङ्ख्या अनुपातमा १५ देखिमाथि क्षेत्रीय प्रतिनिधि चयनसमेत हुने जनाइएको छ। समितिमा हाल अद्यावधिक क्रियाशील सदस्यमध्ये आधा नवीकरण र आधा नयाँ क्रियाशील सदस्य हुन्। 

पार्टीको निर्वाचन कार्यतालिका अनुसार असोज ५ गते वडा अधिवेशन, ९ गते गाउँ, नगर, १२ गते प्रदेश क्षेत्र, १५ गते प्रतिनिधिसभा क्षेत्र तथा असोज १८ गते जिल्ला अधिवेशनको मिति तय भएको छ। यस्तै, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर नौदेखि १३ गतेसम्म तय गरिएको छ। 

यसैबीच, असोज ९ गते हुने नगर निर्वाचनमा बनेपाका वर्तमान नगर सचिव महेश कर्माचार्य र पार्टी जिल्ला प्रशिक्षण विभागका सचिव शान्तिरत्न शाक्यले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। जिल्ला सभापतिमा भने सात आकांक्षी देखिएका छन्।  

वर्तमान जिल्ला पार्टी सभापति मधुप्रसाद आचार्य, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, उपसभापति अच्युत पौडेल, सचिव दिनेश लामा, पूर्व सांसद तीर्थ लामा, क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाइँ र पाँचखाल नगरपालिका प्रमुख महेश खरेल रहेका छन्।रासस

Skip This
Logo