सार्वजनिक रुपमै झापड र जुत्ता खाने नेताः कुन नेताले कहाँ भेटे झापड र जुत्ता?

सार्वजनिक रुपमै झापड र जुत्ता खाने नेताः कुन नेताले कहाँ भेटे झापड र जुत्ता?


बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीले गएको असोज ४ गते आफ्नै कार्यकर्ताबाट मुक्का खाए। पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि गणेश पंगेनीले मुक्का प्रहार गर्दै हातपात गरे। पहिरोले विस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई कुनै उचित व्यवस्थापन नगरेकाले आक्रोशित भएर ती युवाले मेयरमाथि हातपात गरेको थिए। 

मेयर सुवेदी नगर प्रहरीको कडा सुरक्षा घेराभित्र थिए। उनलाई नेपाल प्रहरीले पनि सुरक्षा दिइरहेको थियो। तर, रिसको आवेगमा युवाले मेयरमाथि एक मुक्का बजारे। मेयर सुवेदी मात्र होइनन्, कडा सुरक्षा घेराभित्र रहेका शीर्ष राजनीतिक नेतृत्वले बेला–बेलामा कार्यकर्ताबाट र कहिलेकाहिँ आम–नागरिकबाट झापड, जुत्ता र मुक्का भेट्ने गरेका छन्।

मुलुकमा संघीयताको सफल कार्यान्वयनपछि बनेका प्रदेश र स्थानिय तह र त्यसका जनप्रतिनिधिहरूले पनि बेला–बेला सार्वजनिक स्थानमा कुटिने गरेका छन्। कुटाई जुत्ता वा झापड खानु सामान्य कुरा होइन। धेरैले यसलाई राजनीतिक कार्यकर्ताको नेतृत्वप्रतिको आक्रोशको रुपमा लिने गरेका छन्। हुन पनि कडा सुरक्षा घेराभित्र आफ्नै कार्यकर्ताबाट नेताहरुले यसरी सार्वजनिकरुपमा दुर्व्यवहार भोग्न बाध्य भएका छन्।

नेपालको संविधान २०७२ को माग ३ धारा १७ को उपधारा २ अन्तर्गत च(१)मा ‘कुनै पनि व्यक्ति हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्यमा संलग्न हुन पाइने छैन’ भनि उल्लेख गरिएको छ। संविधान अनुसार पनि सार्वजानिक व्यक्ति होस् या कोही कसैलाई पनि हिंसा, दुरुत्साहन सार्वजनिक नैतिकता प्रतिकूल कार्य गर्न नहुने उल्लेख हुँदा हुँदै पनि नेतृत्वहरूमाथि साङ्घातिक हमला हुने गरेको छ। त्यसो त फौजदारी कसुर ऐन अन्तर्गत त्यस्तो कसुर गर्नेलाई कानुनी कारवाही त हुन्छ तर, पनि सार्वजनिक व्यक्तिहरूलाई यसले असर गर्दछ।

आज हामी सार्वजनिकरुपमा दुर्व्यवहार भोग्नु परिरहेका केही नेताहरूबारे चर्चा गर्दैछौं।

नेपाली कांग्रेसका वष्ठि नेता रामचन्द्र पौडेल 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि २०५१ सालमा संसदमै जुत्ता प्रहार भएको थियो । तत्कालीन एमालेका तर्फबाट राष्ट्रिय सभामा सदस्य रहेका गोल्छे सार्कीले पौडेलमाथि जुत्ता प्रहार गरेका थिए। तत्कालीन एमालेका तर्फबाट राष्ट्रिय सभामा सदस्य रहेका गोल्छे सार्कीले पौडेलमाथि जुत्ता प्रहार गरेका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) 

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विसं २०६९ साल मंसिर २ गते आफ्नै नेतृत्वमा भएको सशस्त्र युद्धमा सहभागी एक लडाकुको परिवार सदस्यबाट झापड खानु परेको थियो । काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा माला लगाइदिने भन्दै बाग्लुङका पदम कुँवरले प्रचण्डलाई झापड हानेका थिए । कुँवरले प्रचण्डलाई झापड हान्दा उनको चस्मा नै फुटेको थियो । कुँवरले प्रचण्डलाई झापड हानेपछि आक्रोशित बनेका माओवादी कार्यकर्ताले कुँवरमाथि हातपात गरेका थिए । त्यसपछि प्रहरीले पक्राउ गरेको कुँवरलाई प्रचण्डले नै धरौटी वापतको रकम उपलब्ध गराई हिरासतमुक्त गरेका थिए।

त्यस्तै अध्यक्ष प्रचण्डलाई २०७६ फागुन १८ गते जुत्ता प्रहार गरिएको थियो। तत्कालीन नेकपा पार्टीको अध्यक्षको हैसियतले भरतमोहन अधिकारीको प्रथम स्मृतिसभालाई सम्बोधन गरेपश्चात उनीमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको थियो। प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा थिए। उनका बाबु मनु तिरुवाले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएकाले त्यही आवेगमा उनले प्रचण्डलाई जुत्ता प्रहार गरेको रतनले प्रहरीसँगको बयानमा बताएका थिए। उनलाई पनि प्रचण्डले माफी दिए।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता, झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि सार्वजनिक कार्यक्रममा झापड खानु पर्यो। नेकपा एमालेमै रहँदा २०६७ माघको पहिलो हप्ता सुनसरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता खनालले स्थानीय देवीप्रसाद रेग्मीको झापड खाएका थिए। पार्टी प्रवेश गर्न लामबद्ध बनेका कार्यकर्ताहरुसँगै लामबद्ध भएर रेग्मी खनाल भएको ठाउँमा पुगेका थिए। नेता खनालले रेग्मीसँग हात मिलाएर उनलाई टीका लगाइदिन खोजेका थिए। तर, रेग्मीले टीका लगाउन इन्कार गरे। त्यसपछि नेता खनालले दुवै हात तल राखेको मौका पारी रेग्मीले नेता खनाललाई झापड बजारे। रेग्मीले नेता खनाललाई झापड हान्दा उनको चश्मा भुईंमा खसेको थियो भने नाकमा सामान्य चोट लागेको थियो। तर, नेता झलनाथ खनालले पनि आफूलाई झापड हान्ने देवीप्रसाद रेग्मीलाई माफी गरिदिन आग्रह गरेका थिए।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष, डा. बाबुराम भट्टराई 

२०७३ साल मंसिर २२ गते जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पनि पोखरामा जुत्ता प्रहार गरिएको थियो। नयाँ शक्ति पार्टीका संयोजक रहँदा पोखराको पृथ्वीनारायण क्याम्पसमा आफूनिकट विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रमलाई भट्टराईले सम्बोधन गर्दै थिए । सम्बोधनका क्रममा कार्यक्रममा उपस्थित कैलालीका ३४ वर्षीय सञ्जिव भट्टराईले डाक्टर भट्टराईलाई कालोझण्डा देखाउनुका साथै जुत्ता प्रहार पनि गरेका थिए । त्यसो त सञ्जिवले प्रहार गरेको जुत्ता मञ्चसम्म भने पुगेन। त्यसपछि जुत्ता प्रहार गर्ने भट्टराईलाई पार्टीका विद्यार्थी संगठनका कार्यकर्ताहरुले आक्रमण गरेका थिए । तर, प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिएपछि उनी जोगिएका थिए। बाबुराम भट्टराईले पनि सञ्जीव भट्टराईलाई प्रहरी नियन्त्रणमा नराख्न र चर्चाको विषय नबनाउन आग्रह गरेका थिए।

माओवादी केन्द्रका नेता, झक्कु सुवेदी

माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीले २०६९ जेठ २ गते झापड खानुपर्यो। संविधानसभाको बैठक सकेर घर फर्कंदै गर्दा तीनकुने स्थित एक चिया पसलेले चिया खुवाइसकेपछि २ झापड हानेका थिए। सोही समय गोर्खाको गाईखुर–८ का प्रेमराज देवकोटाले सुवेदीलाई बोलाएर संविधान कहिले बनाउँछौ, भनेर सोधेका थिए। सुवेदीले ‘हामी संविधान बनाउँदैछौं भनेपछि देवकोटाले पनि सुवेदीको गालामा दुई झापड हानेका थिए। त्यसबेला उनीहरूले संविधान बनाउन प्रतिनिधि पठाएको तर, आफ्नो काम पुरा नगरेको भन्दै आक्रोसमा हात छोडेको प्रहरीसँग भनेका थिए। सुवेदीले पनि उनीहरूलाई माफी दिए। 

पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय सुशील कोइरालाले पनि आफ्नै कार्यकर्ताको आक्रोश सहनुपर्यो। २०६९ साल असोज १३ गते काठमाडौंको कपनमा आयोजित पार्टीको कार्यक्रममा उपस्थित भएका तत्कालिन पार्टी सभापति सुशील कोइरालामाथि कांग्रेसकै कार्यकर्ता प्रवेश बस्नेतले आक्रमणको प्रयास गरेका थिए। तथापि नेता कोइराला आक्रमण गर्ने प्रवेश प्रति उदार देखिए। कोइरालाले ‘आक्रमणकारी’लाई आफ्नै पहलमा रिहा गराए। त्यसबेला सुशील कोइरालामाथिको आक्रमणका विषयमा कांग्रेसले छानविन समिति गठन गरे पनि पछि आक्रमणकारी बस्नेतलाई कोइरालाले माफी दिएका थिए । तथापि बस्नेतलाई भने कांग्रेस कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका थिए।

नेपाली कांग्रेस महामन्त्री, पूर्णबहादुर खड्का

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्कालाई एक महिला सभासद्ले सार्वजनिक कार्यक्रममै चप्पल बर्साइन्। ०६५ जेठ १५ गते एमालेकी सभासद् कमला शर्माले खड्कामाथि चप्पल प्रहार गरिन्। उनले पहिलो संविधानसभाको निर्वाचनताका एमाले उम्मेदवार ऋषिराज अधिकारीको हत्याको रिस पोख्दै खड्कालाई चप्पल हानेकी थिइन् । 

पूर्व अर्थमन्त्री, रामशरण महत 

पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि पनि बोटल प्रहार भएको थियो । दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा २०७४ चैत १ गते बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोटल प्रहार भएको थियो। 
 
सो घटनामा संलग्न दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले तत्काल पक्राउ गरेको थियो। शिलान्यास समारोह चलिरहेको समयमा अकस्मात् महतलाई पानीले भरिएको बोटल प्रहार गरेर गालीगलौज गर्न थालेपछि ३१ वर्षका खड्कालाई लगत्तै नियन्त्रणमा लिइएको थियो।

किन हात छोड्न उद्धत हुन्छन् मानिस? के भन्छन् त मनोविद्?

मनोविद् पदम जोशीका अनुसार कुनै–कुनै व्यक्तिमा निश्चत आशा राखेको व्यक्तिले  नकारात्मक काम गर्यो वा आफूलाई चित्त नबुभ्mदो काम गर्यो भन्ने भान ती कुट्ने पिट्ने जुत्ता हान्ने वा झापड हान्ने मानिसमा पर्यो भने उनीहरूको शरीर असन्तुलन हुन्छ, जुन उत्तेजित हर्मोनका कारण हुन्छ। उक्त हर्मोनलाई मानिसले सन्तुलन गर्न खोज्छ। सन्तुलन गर्नका लागि मानिसले कुट्ने पिट्ने गर्छ।

सबैले त्यसैगरि कुट्ने नभए कोही भने रुने, कराउने गर्ने गरेको उनले बताए। त्यस्ता मानिसमा त्यस्तो उत्तेजना आउनुको मुख्य कारण चाहिँ इच्छाएको व्यक्तिबाट आफ्नो इच्छापूर्ति नभएका कारण नै हो। 

‘मानिस लामो समयसम्म रिसमा बस्न सक्दैन्, तनावमा बस्न सक्दैन्, त्यसैले आफूभित्र रहेको तनाव हटाउन मानिसले कुट्ने काम गर्छन्। त्यसो त मानिसले कुटिसकेपछि उनीहरूको तनाव कम हुन्छ। तर, त्यो हर्मोन विकास भएको बेला उनीहरूले आफूलाई पुलिसले समात्ने वेइज्जत हुने लगायत कुरा विर्सिन्छन्,’ जोशीले भने।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई झापड हानेका पदम कुँवर, झलनाथलाई झापड हानेका देवीप्रसाद, डाक्टर भट्टराईलाई जुत्ता प्रहार गरेका सञ्जीव भट्टराईको एउटै तर्क छ कि नेताहरुले राजनीतिको नाममा आफ्नो स्वार्थ मात्रै पूरा गरे र जनताको जीवनमा खेलबाड गरे । नेपालकै इतिहासमा बहुदल आएपछि र त्यसपूर्व पनि राजनीतिज्ञहरु बारम्बार जनस्तरको तारोमा परेको पाइन्छ। 

बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीमाथी मुक्का प्रहार गर्ने युवक गणेश पंगेनीको पनि गुनासो नेताले जनताको सेवा गरेनन् भन्ने छ। पहिरो पीडितका समस्यालाई बेवास्ता गरेको र कामभन्दा अवलोकनमै ध्यान दिएको भन्दै मुक्का हानेको पंगेनीले प्रहरी समक्ष बताएका छन्। 

पक्कै पनि नेतृत्वबाट नागरिकको धेरै अपेक्षा हुन्छ, त्यो स्वभाविक पनि हो तर, माग वा अपेक्षा पुरा भएन भन्दैमा कोही कसैलाई हातपात अधिकार संविधानले नागरिकलाई दिएको छैन। अर्कातिर नेतृत्वले पनि जनताको उपेक्षा र मागलाई सम्वोधन गर्न जरुरी छ। अहिलेनै यी माथीका प्रतिनिधिमुलक घटनाबाट पाठ सिकेर नेतृत्व सावधान नहुने हो भने यस्ता घटना पटक पटक नदोहोरिएलान् भन्न सकिन्न।   

Logo