ओलीको कटाक्ष-‘महासभा अस्ति सुरु भइसक्यो, सरकारले हिजो बिहानै थाहा पाएछ!’ (भिडियाे)

ओलीको कटाक्ष-‘महासभा अस्ति सुरु भइसक्यो, सरकारले हिजो बिहानै थाहा पाएछ!’ (भिडियाे)


प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सिस्नुसँग तुलना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई जता छोयो त्यतै पोल्ने सिस्नुजस्तै भएको टिप्पणी गरेका हुन्।

नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले बिहीबार काठमाडौंमा आयोजना गरेको बृहत भेलामा बोल्दै उनले देउवा नेतृत्वको वर्तमान सरकारलाई जता छोयो त्यतै पोल्ने सिस्नुजस्तै छ भन्दै टिप्पणी गरे।

उनले भने,‘कस्तो सरकार आयो आयो–सिस्नु जस्तो। जता छोयो त्यतै पोल्छ। अर्को चुनावमा तातोपानी लगाएर ठिक पार्नुपर्छ।’ त्यस्तै अध्यक्ष ओलीले राजनीतिक सटर बन्द हुने भएपछि आफू नेतृत्वको सरकारलाई हटाउने काम गरिएको दावीसमेत गरे।

एमाले नेतृत्वको सरकार दुई वर्ष टिकेको भए विचाराहरुको सटर बन्द हुने भएपछि आफूलाई सरकारबाट हटाउनु परेको उनको जिकिर थियो। अध्यक्ष ओलीले आफूले बनाईदिएको बालुवाटारको नयाँ प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवा सर्न लागेकोमा आफूलाई खुसी लागेको प्रतिक्रिया पनि दिए।

उनले भने,‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजी हामीले बनाइ दिएको नयाँ घरमा सर्दै हुुनुहुन्छ । सर्दै हुनुहुन्छ । एकचोटी तालि बजाउनूस न । सर्दै हुुनुहुन्छ । हाम्रो समयमा हामीले बनाएको हो । त्यसमा सर्दै हुुनुहुन्छ । मलाई खुसी लाग्छ उहाँले रिवन काटनु हुनेछ, बत्ति बाल्नु हुनेछ । उद्घाटन गर्नुहुुनेछ। घर हामीले बनायौं, रिवन उहाँले काट्नुहुन्छ । घर हामीले बनायौं, बत्ति उहाँले बाल्नु हुन्छ । तार हामीले जोड्यौं। प्लग बनायौं, उहाँले थिच्नु हुनेछ । यस्ता थुप्र्रै कामहरु जुन हामीले गर्यौं । त्यही अपराध हो । सही नसक्नु भएको यही हो । यो एमाले त अब दुई वर्ष सरकारमा टिक्ने हो भने विचराहरुको बन्द हुन्थ्यो सटर । घ्यार्रर सटर तान्नु पर्दथ्यो । राजनीतिक सटर छ नि।’

अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई माके र माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई माने पार्टीको संज्ञा दिँदै राष्ट्रिय एकतामा फाटो ल्याउने गरिरहेको आरोप लगाए।

ओलीले भने,‘माके पार्टी, माने पार्टी हेर्नुस न । यी पार्टीले राष्ट्रिय एकताको नभई फाटोको खेती गर्छन्। राष्ट्रियताको मतलव छैन। सम्प्रभुता, राष्ट्रिय एकताको मतलव छैन। स्वाधिनताको मतलव छैन। भौगोलिक अखण्डताको मतलव छैन। राष्ट्रिय हितको मतलव छैन। राष्ट्रिय स्वाभिमानको मतलव छैन । तर त्यसलाई धुजाधुजा पार्ने खेती गरिएको छ। मलाई कुनै कमेन्ट गर्नु छैन ।  अघि माने पार्टीको यसो हेर्दै थिएँ। पदाधिकारी पार्टी भएछ । पदाधिकारी अलि ठाउँ भरिएको छैन क्यारे। खोज्दै हुुनुहुन्छ उहाँहरु, कोही विकाउको माल छ कि । कसैलाई तान्न सकिन्छ कि । यो पद दिन्छु भनेर तान्न सकिन्छ कि। खोज्दै हुनुहुन्छ, तर त्यो पूरा भएको छैन । हाम्रो राजनीतिक त्यस्तो होइन। हाम्रो राजनीतिक आन्दोलनलाई विभाजित गर्ने होइन। देशलाई एकतावद्ध गर्ने राजनीति हो।’

त्यस्तै अध्यक्ष ओलीले आगामी मंसीरभित्र पनि वर्तमान सरकारले पूर्णता पाउन नसक्ने दावी गरे। उनले सत्ताको दूरुपयोग गरेर आफ्नो पार्टी निकट कर्मचारी संगठन, विद्यार्थी संगठन, युवा संगठनहरुको कार्यालय कब्जा गर्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाए।

अध्यक्ष ओलीले मदन भण्डारीको छोरी उषाकिरण भण्डारीलाई मेडल दिएको भनेर सत्ता पक्षले विल्कुलै झुट बालेको पनि स्पष्ट गरे। आफूले मदन भण्डारीलाई मरणोपरान्त दिएको मेडल छोरी उषाकिरणले लिएको भएपनि त्यसमा भ्रम छर्ने प्रयास गरिएकोमा उनको आपत्ति छ । 

ओलीले माधव नेपालको पार्टीलाई पदाधिकारी पार्टीको रुपमा चित्रणसमेत गरे। फुटेपछि माधव नेपाल नेतृत्वको पार्टी एकीकृत भएको भन्दै अध्यक्ष ओलीले व्यंग्यसमेत गरे। उनले आफू नेतृत्वको सरकारले नियुक्त गरेका राम्रा राजदूतहरुलाई फिर्ता बोलाउने काम सरकारले गरेकोमा असन्तुष्टि व्यक्त गरे।

ओलीले देउवा सरकारले हतारमा परराष्ट्रमन्त्री नियुक्त गरेर संयुक्त राष्ट्रसंघमा भाग लिन पठाएको विषयमा पनि आलोचना गरेका छन्। बिना तयारी सुटकेसमा कपडा बोकेर हतारमा हिँडेका परराष्ट्रमन्त्रीले देशको सही प्रतिनिधित्व गर्न नसक्ने उनले बताए ।

अध्यक्ष ओलीले नवनियुक्त परराष्ट्र मन्त्री डा.नारायण खड्काप्रति पनि व्यंग्य गर्न भ्याए।

ओलीले भने, ‘तराईतिर भन्छन् नि, चट् मंगनी पट सादी । एउटा मन्त्री फ्याट्ट तोकिए । नियुक्त गरिए । हतार–हतार सपथग्रहण भयो । सुटकेस लिएर एयरपोर्ट । के ताल हो? के प्रतिनिधित्व गर्ने, के बोल्ने? के भन्न जाने? कपडाको ब्याग बोकेर प्रतिनिधित्व हुन्छ ? खोइ तयारी?’

उनले व्यंग्य कसे, ‘कपडा, टाइसुटले प्रतिनिधित्व हुन्छ? प्लेनमा जाँदा सुतेर चिन्तन–मनन गर्ने हो? विशिष्ट श्रेणीको सिटमा यसो ढल्केर, घुर्दै सोच्दै.. घुर्दै सोच्दै। यो हालत छ देशको।’

सरकारले राष्ट्रसंघको महासभा छ भनेर हिजो मात्रै थाहा पाएको पनि ओलीले बताए।
‘७५ दिनसम्म महासभा छ भन्ने थाहा नपाउने सरकार । हिजो झल्यास्स सम्झेछ । अस्ति सुरु भइसक्यो, सरकारले हिजो बिहानै थाहा पाएछ । एकजना भाग्यमानीलाई च्याप्प समातेर नियुक्ति दिइयो, अनि सपथग्रहण।’

एमालेसँग लड्नेहरूले एकताबद्ध भएर आउ पञ्चेगुट एकजुट भए आउ यत्तिकै लिरिखिरी पाराले । मन्त्रीमण्डल बनाउन नसक्ने एमालेसँग लड्ने धाक लाउने ?

भिडियाे हेर्न यहाँ क्लिक गर्नु हाेला

Logo