चुनावपछि एमाले भन्ने पार्टी टर्च बालेर खोज्नुपर्छः माधव नेपाल

चुनावपछि एमाले भन्ने पार्टी टर्च बालेर खोज्नुपर्छः माधव नेपाल


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्ने दावी गरेका छन् । 

उनले यो संसद्को कार्यकाल सकिएपछि एमाले भन्ने पार्टीको अस्तित्व नरहने पनि बताए।

शनिबार हेटौँडामा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ‘एमालेको पत्तासाफ हुने’ भन्दै आफ्नो पार्टी शक्तिका रुपमा उदाउने पनि दावी गरे।

‘हामी यो देशको महत्वपूर्ण शक्तिको रुपमा उदाउँदैछौं,’ नेपालले भने, ‘केपी ओलीको समूह आउने चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्न गइरहेको छ।’

पछिल्लो समय नेकपा एस पनि देश दौडाहमा छ। अध्यक्षदेखि केन्द्रीय सदस्यसमेत प्रशिक्षण दिन लागि परेका छन्।

सोही क्रममा हेटौँडा पुगेका अध्यक्ष नेपालले ओलीको दम्भको घडा फुट्ने समय आएको बताए।

उनले थपे, ‘दम्भको घडा फुट्नेवाला छ। केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौजमा उत्रिएका छन्। उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन्। हामी त्यस्तो गर्ने छैनौं ।’

नेपालले पाँच दलीय गठबन्धनको संरचना बनाउने र त्यसलाई आउँदो चुनावसम्मका लागि केन्द्रदेखि स्थानीय स्तरसम्म विस्तार गर्ने पनि बताए।

त्यस्तै अध्यक्ष नेपालले केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।

उनले केन्द्रमा मन्त्रिपरिषदले पूर्णता पाएसँगै बागमती र प्रदेश १ को सरकार फेरबदलमा लाग्ने बताए । 
हाल बागमती र प्रदेश १ मा नेकपा एमाले नेतृत्वको सरकार छ ।

Logo