१४ जना सांसदहरुलाई पदमुक्त गर्ने एमालेको माग पुरा गर्न नसकिनेः महामन्त्री कोइराला

१४ जना सांसदहरुलाई पदमुक्त गर्ने एमालेको माग पुरा गर्न नसकिनेः महामन्त्री कोइराला


काँग्रेस महामन्त्री डा. शशांक कोईरालाले सभामुख अग्नीप्रसाद सापकोटाले माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गराउने नेकपा एमालेको माग सम्बोधन गर्न नसक्ने बताएका छन् । 

महामन्त्री कोईरालाले अध्यादेशबाट दल विभाजन भइसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदहरुलाई पदमुक्त गराउनुपर्ने एमालेको माग पूरा गर्न नसकिने प्रतिक्रिया दिएका हुन् । 

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दलसम्बन्धि अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको पनि बताए ।

उता जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा भट्टराईले २÷२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी समेत गरे । 

अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया भट्टराईले दिए । 

अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि बताए । 

भट्टराईले एमालले आफैंले विघटन गरेको संसदमा अवरोध सृजना गरेर निर्लज्जताको पराकाष्ठ देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको धारणा राखे ।

त्यसैगरी, एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा लुटिएका करिव २१÷२२ अर्ब कालोधनलाई बैधानिकता दिने गरी प्रावधान ल्याएको आरोप लगाए ।

सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न अवरुद्ध संसदलाई सूचारु गराउन पहल नगरेको तर्कसमेत गरे ।

 

Logo