म होइन, अहिलेको सरकार असक्षम छः निवर्तमान स्काउट संयोजक भण्डारी

म होइन, अहिलेको सरकार असक्षम छः निवर्तमान स्काउट संयोजक भण्डारी


नेपाल स्काउटका निवर्तमान संयोजक लोकबहादुर भण्डारीलाई सरकारले असक्षम भएको भन्दै हटाएको छ ।

सोमबार स्काउट केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफूलाई सरकारले काम गर्न नसकेको भन्दै आफू नेतृत्वको राष्ट्रिय तदर्थ  समिति खारेज गरेको उनले बताएका हुन्।

उनले सरकारले आफूलाई असक्षम भनेर हटाउनु निराधार भएको बताए। उनले भने,‘मैले ३३ महिनाको अन्तरालमा कसैले नाम सुन्दा पनि मुख खुम्च्याउने संस्थालाई सबैले स्काउट छ भन्ने देखाएको छु। कसरी असक्षम भएँ ? म असक्षम भएको होइन, वर्तमान सरकार नै असक्षम छ।’

जिम्मेवारी पूरा नगरेको भन्दै सरकारले ८ असोजमा भण्डारी नेतृत्वको राष्ट्रिय तदर्थ समिति खारेज गरेको थियो । 

सोमबार सरकारको पत्र बुझ्दै निवर्तमान संयोजक भण्डारीले अब कानूनी सल्लाह गरेर अघि बढ्ने बताए ।

उनले आफ्नो नेतृत्वको तदर्थ समितिले जिम्मेवारी पूरा गर्न नसकेको सरकारको दाबी अस्वीकार गर्दै भने,‘मैले होइन, सरकारले जिम्मेवारी पूरा गरेन। सरकारले हामीलाई ऐन दिनुपथ्र्यो। तर, समितिमा राखेर ऐन रोकेको छ।’

सरकारले ऐन बनाएर दिएको भए त्यसको ६ महिनाभित्र हामीले निर्वाचन गर्नु थियौं । तर सरकार आफैले असक्षमता देखायो । हामीलाई स्काउट ऐन दिन सकेन ।

सबै तिरबाट पास भएर अहिले स्काउट ऐन मन्त्रिपरिषद्को विधायन समितिमा अड्किरहेको समेत उनले बताए।

अघिल्लो ओली सरकारले २०७५ पौष १६ गते भण्डारीसहित ५ जनालाई स्काउट राष्ट्रिय तदर्थ समिति गठन गरेको थियो।   
 

Logo