सम्पादकहरूसँग ओलीको गुनासै–गुनासोः सरकारले संविधान मिच्दा तपाईंहरू किन मौन ?

सम्पादकहरूसँग ओलीको गुनासै–गुनासोः सरकारले संविधान मिच्दा तपाईंहरू किन मौन ?


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी फुटाउने मनसायले नै सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार सम्पादकहरुसँगको छलफलमा उनले दूषित मनसायले अध्यादेश ल्याएको भन्दै यही हो अग्रगमन भनी प्रश्न गरे ।

ओलीले परमादेशबाट सरकार बन्दा केहीलाई हाइसन्चो भए पनि यसले लोकतन्त्र कमजोर पार्ने बताए । 

‘अहिले कतिलाई हाइसन्चो छ तर दीर्घकालमा देश र लोकतन्त्रले हार्छ । हामी लोकतान्त्रिक प्रणालीको भविष्यप्रति चिन्तित छौं,’ उनले भने ।

त्यस्तै, ओलीले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने बताएका छन् । 

गठबन्धन सरकार संसदीय मूल्यमान्यता भत्काएर स्वेच्छाचारी बन्दै गएको उनले आरोप लगाए ।

एउटा अध्यादेश रद्द गर्न अर्को अध्यादेश वा कानून चाहिने र  संसद् चलिरहेको बेलामा संसद्बाटै कानून बनाइनुपर्ने ओलीको जिकिर थियो ।

उनले भने,‘पहिलेको ऐन–कायम रद्द हुने गरी सूचना जारी हुन सक्दैन । पहिलेको कानून अहिले कहाँ गयो ? सदनको बैठक चालु छ । सूचना जारी गर्न पाइँदैन । कानून परिवर्तन गर्न पाइँदैन ।’

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमले खबरदारी नगरेको गुनासो पनि गरे । 

उनले भने,‘खबरदारी गरिएन भने सरकार लापरवाह हुने रहेछ, जस्तो अहिलेको सरकार भइरहेको छ ।’

सरकारले संविधान मिच्दा पनि सञ्चारमाध्यम मौन रहेको ओलीको आरोप थियो । 

उनले भने, ‘म प्रधानमन्त्री हुँदा सम्पादकहरूबाट जुन सहयोग पाएँ, म त्यसका लागि धन्यवाद भन्न चाहन्छु । यहाँहरूले सजग गराउनुभयो, खबरदारी गर्नुभयो, ती खबरदारीले हामीलाई गल्ती नगर्न प्रेरित गर्यो ।’ 

उनको आशय थियो, यो सरकारलाई सम्पादकहरुको खै खबरदारी ?

वर्तमान सरकारले सदन छलेर दल फुटाउने अध्यादेश ल्याएको बताउँदै त्यसले संविधानको उल्लङ्घन गर्नुका साथै लोकतन्त्रको ‘नर्म्स’ हरू भत्काएको जिकिर गरे । 

Logo