राजनीतिमा उमेर हदको औचित्य छैन, किन ७० वर्ष ?: नेता पौडेल

राजनीतिमा उमेर हदको औचित्य छैन, किन ७० वर्ष ?: नेता पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दलभित्र उमेर हदको व्यवस्था अप्राकृतिक र अराजनीतिक रहेको टिप्पणी गरेका छन् ।

नेकपा एमालेमा ७० वर्षे उमेर हद लागू गरिएको सन्दर्भसमेत जोड्दै पौडेलले ‘केही नेता सिध्याउन र केही नेता जोगाउन’ उमेर हदको व्यवस्था हुने गरेको बताए ।

उनले नेकपा एमालेमा ७० बर्षे उमेरहद ओली ७० नकटेको हुँदा यथावत रहेको बताएका छन् ।

तनहुँमा बोल्दै पौडेलले भने,‘ओली ७० बर्ष अलि पुग्दै छैनन्, ओली ७० बर्ष पुग्नु भन्दा अघि महाधिवेशन भए ७० बर्षे उमेर हक लागु हुन्छ नभए त्यो ७० बर्र्षे हद फ्याँकिन्छ। ओलीका लागि कहिले ७० बर्षे हक लाग्दैन, अनि कसका लागि ७० बर्ष ।’

पौडेलले एमाले पार्टीले अघिल्लो महाधिवेशनमा ७० वर्षे उमेर हद लगाउँदा लोकतन्त्रवादी र इमान भएका नेता सिध्याईएको बताए ।

‘एमालेको उपलब्धी के ? ७० बर्षे उमेर हदले ? उसको उपलब्धि भनेको एमालेभित्रका लोकप्रिय, लोकतान्त्रिक, निष्ठावान् र चरित्रवान् दुईजना नेतालाई सिध्याइयो । भरतमोहन अधिकारी र सिद्धिलाल सिंहजस्ता लोकतन्त्रवादी र इमान भएका नेता सिध्याउन ७० वर्ष लाग्यो । उनीहरूलाई पाखा लाएपछि फेरि उमेरको कुरा हरायो ।

पौडेलले कांग्रेसमा पनि विगतमा एक व्यक्ति एक पदको अवधारणा ल्याएर डा. रामशरण महतलाई राजीनामा दिन लगाइएको तर अरुलाई नियम नलागेको बताए । 

राजनीतिमा उमेर हदको औचित्य नरहेको भन्दै नेता पौडेलले स्वस्थ नेताले मुलुकलाई सधैँ नेतृत्व गर्न सक्ने बताए ।

Logo