गोदावरी सनराइज सभाहलः ओलीका तीन संयोग

गोदावरी सनराइज सभाहलः ओलीका तीन संयोग


ललितपुर जिल्लाको गोदावरी नगरपालिकास्थित नवनिर्मित सनराइज सभाहल नेकपा एमालेको प्रथम विधान महाधिवेशनको कारण चर्चामा छ।

३ हजार मानिसहरू अट्ने क्षमताको सभाहलको सम्पूर्ण निर्माण कार्य सम्पन्न नभइकन पाँच महिना अगाडि मात्रै उद्घाटन भएको थियो। उद्घाटन भएको पाँच महिनापछि शुक्रबारदेखि नेकपा एमालेको प्रथम विधान महाधिवेशन उक्त सभाहलमा भइरहेको छ। 

हलको क्षमता ३ हजार भए पनि ६ हजार एमाले प्रतिनिधि राखेर महाधिवेशन भइरहेको छ। पूर्वप्रधानमन्त्री तथा  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिचमा सभाहलको तीन वटा संयोग मिलेका छन्।

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा लुम्बिनी प्रदेशमा र काठमाडौं उपत्यकामा  ५–५ हजार मान्छे अट्ने सभाहल बनाउने उद्घोष गरेका थिए । तर, पहिलो पटक उनले गरेको उद्घोषमा मात्रै सिमित भयो। ५–५ हजारको सभाहल बनाउने उद्घोष गरेको दुई महिनामा नै प्रधानमन्त्रीबाट हट्नु पर्याे । 

तर, ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि पनि सभाहल निर्माण गर्न लागि परे। उनले बुटवलमा ५ हजार क्षमताको गौतमबुद्ध सभाहल, भक्तपुरको बोडेमा ५ हजार क्षमताको र ललितपुरको गोदावरीमा ३ हजार क्षमताको हल बनाउने तयारी गरेका थिए। भक्तपुरमा जग्गा विवादका कारण भक्तपुरमा छाडेर ललितपुरको गोदावरीमा निर्माण प्रक्रिया अगाडि बढेको थियो।

ओलीले २०७६ पुसमा सभाहलको  शिलान्यास गरेका थिए। कोरोना महामारीका कारणले निर्माण कार्य निधारित समयभन्दा केही समय पर गएको थियो। 

तत्कालिन सरकारले सभाहल सगरमाथा संवादका लागि चाडै निर्माण सम्पन्न गर्ने योजना बनाएको थियो । सरकारले जलवायु परिवर्तनको विषयमा गर्न लागेको सो  अन्तर्राष्ट्रिय सम्मेलन कोभिड–१९ का कारण हुन सकेन।

सभाहलको बाहिरी साजसज्जा र अन्तिमका केही काम बाँकी नै हुँदा पूर्वप्रधानमन्त्री ओलीले नै सभाहलको ०७८ वैशाख ३१ मा उद्घाटन गरेका थिए। ओलीले भर्चुअल माध्यमबाट नै ३ हजार व्यक्ति अट्ने सम्मेलन केन्द्रको उद्घाटन गरेका थिए। 

शुक्रबार उनै ओलीले नेकपा एमालेको प्रथम विधान महाधिवेशनको उद्घाटन पनि उक्त सभाहलमा नै गरेका छन्। सभाहलको शिलान्यास,उद्घाटन र सभाहलमा पहिलो कार्यक्रम पनि ओलीकै भएकाले ओली र सम्मेलन केन्द्रबीच तीन संयोग मिलेको छ।

यसरी तीन संयोग मिल्नाले सम्मेलन केन्द्रको पनि चर्चा बढ्दै गएको छ। ‘गोदावरी सनराइज’ नाम राखिएको उक्त हल ८० करोड रुपैयाँ लागतमा बनेको हो । सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन विभागले २०७६ कात्तिकबाट यसको निर्माण प्रक्रिया अगाडि बढाएका थियो।

हल ४३ रोपनी क्षेत्रफलमा फैलिएको छ। हलमा ११ रोपनी १३ आना जग्गामा निर्माण भएको छ । त्यस्तै सम्मेलन केन्द्रको कुल क्षेत्रफलको २७ प्रतिशत सभाहलले ओगटेको छ  भने हलकोे डिजाइन उदाउँदो सूर्यको आकारमा रहेको छ। सनराइज सभाहलमा ससाना बहुउद्देश्यीय सभाकक्ष, अति विशिष्ट कक्ष र विशिष्ट कक्षसमेत निर्माण गरिएको छ।

भवनका वरिपरि फलफूलका बिरुवासहित बगैंचा, पानीको फोहरा, हरियाली र पार्किङको व्यवस्थापनसमेत गरिएको छ। त्यस्तै, १६ रोपनी २ आना क्षेत्रफलमा बगैंचा तथा हरियाली र १३ रोपनी १ आनामा पार्किङ रहेको छ।

सभाहल केसी समानान्तर जेभीले निर्माण गरेको हो। भवनमा आगलागीबाट हुन सक्ने क्षति रोक्न आधुनिक संयन्त्र जडान गरिएका छन्।

नेकपा एमालेले गोदवारीको सनराइज हललाई आफ्नो पौरख र गौरवका रुपमा चित्रण गरेको छ। शुक्रबार महाधिवेशन उद्घाटन कार्यक्रमको उद्योषण गर्दै एमालेका सचिव प्रदीप ज्ञवालीले एमाले सरकारको ऐतिहासिक कामभित्र सभाहल पनि भएको बताएका छन्।

यसरी तीन वटै संयोग मिल्दा एमालेले उल्लेखनीय सफलताको रूपमा लिएको पाइएको छ।

Logo