पूर्वमन्त्री सञ्जय साहको जन्मकैद सजाय खारेजः कार्तिक १५ मा सजायकाे समयावधि निर्धारण हुने

पूर्वमन्त्री सञ्जय साहको जन्मकैद सजाय खारेजः कार्तिक १५ मा सजायकाे समयावधि निर्धारण हुने


जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोट काण्डमा पूर्वमन्त्री सञ्जय साह ‘टकला’को कर्तव्य ज्यान मुद्दा ठहर नभएसँगै जिल्ला अदालतले सुनाएको जन्मकैदको सजाय खारेज गरेको छ। उनकाे जन्मकैदको सजाय खारेज  भएकाे उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीले केन्द्रविन्दुलाई जानकारी दिए। 

खड्काले भने, ‘साहविरुद्ध दुईवटा मुद्दा थियो। न्यायाधीशद्वय रमेश ढकाल र धीरबहादुर चन्दको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दा ठहर नभएको फैसला सुनाएको हो। तर साहलाई ज्यान मार्ने मुद्दामा तोकिएको ७ वर्ष कैदको सजाय कायम नै छ। अब उनको सजाय कति हुने भन्ने विषयमा कार्तिक १५ गते फैसला हुनेछ ।’

अब साहलाई ज्यान मार्ने उद्योग ठहर भएमा १० देखि १५ वर्ष वा ज्यान मार्ने उद्योगमा षड्यन्त्र रचेको ठहर भएमा ५ देखि १२ वर्ष सजाय तोकिनेछ। साहलाई जिल्ला अदालतले ९ वर्ष अघि जन्मकैदको फैसला सुनाएको थियो। तर आइतबार उच्च अदालत जनकपुरले फैसला पुनरावलोकन गरेसँगै उनको सजाय घट्ने भएको हो। 

धनुषा क्षेत्र ३ बाट संविधानसभाको दुवै निर्वाचनमा निर्वाचित भएका साह हाल काठमाडौंको नख्खु कारागारमा रहेका छन्। 

२०६४ मा भएको पहिलो संविधानसभा निर्वचनमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट निर्वाचित भएका उनी २०७० को दोस्रो निर्वचनमा तत्कालीन सद्भावना पार्टीबाट निर्वाचित भएका थिए। 

उनलाई सांसद रहेकै बेला दिल्लीबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। ०६९ वैशाख १८ मा भएको बम विस्फोटमा ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए।

अब के हुन्छ त मन्त्री साहको सजाय ?
ज्यान मार्ने उद्योग ७ वर्ष सजाय तोकिएको अवस्थामा सजाय भुक्तान गरिसकेका साह थुना मुक्त हुने सर्वोच्च अदालतका अधिवक्ता कञ्चन कृष्ण न्यौपाने बताउँछन्। 

केन्द्रविन्दुसँग कुरा गर्दै उनले भने, ‘अहिलेको अवस्थामा उनको सजाय पुरा भएको देखिन्छ । त्यसकारण कैदीलाई थुनामुक्त गरिन्छ। फेरी कार्तिक १५ गतेको फैसलाले उनले भुक्तान गरेको भन्दा बढी सजाय सुनाएको अवस्थामा उनलाई पुनः कैद गरिन्छ । अब ज्यान मार्ने उद्योगमा षड्यन्त्र रचेको ठहर भएमा उनले भुक्तान गर्नुपर्ने सजाय कम हुने अवस्था पनि आउन सक्छ। त्यस्तो अवस्था आएमा उनलाई पुनः कैद गरिँदैन।’

Logo