एमालेभित्र फरक मत छैन: उपमहासचिव पौडेल

एमालेभित्र फरक मत छैन: उपमहासचिव पौडेल


नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको बताएका छन्। 

पार्टीका संगठन विभाग प्रमुखसमेत रहेका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसाबले एकताबद्ध रहेको दाबी समेत गरेका छन् । उनले पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पारे। 

सोमबार हालै सम्पन्न पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेर कुरा गर्दै उपमहासचिव पौडेलले पार्टीका अर्का उपमहासचिव घनश्याम भुसालप्रति संकेत गर्दै पार्टीको विधान महाधिवेशनमा औपचारिक रूपले कसैले फरक मत नराखेको प्रतिक्रिया दिए। 

‘पार्टीको औपचारिक, आधिकारिक निकायमा, कमिटीमा होला, महाधिवेशनमा होला। ती ठाउँहरूमा व्यक्तिले आफ्नो विचार व्यक्त गर्छ। कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ। त्यो निर्णयमाथि कसैको असहमति रह्यो भने उसले औपचारिक रूपले बैठकको माईन्यूटमा दर्ज गर्नुपर्छ । औपचारिक रूपमा दर्ज भयो भने देखिन त्यसलाई फरक मत मानिन्छ । यदि कसैले औपचारिक रूपमा फरक मत राखेन भने देखिन उ पार्टीको निर्णयसँग सहमत भयो भन्ने मानिन्छ । हामीले यो प्रणाली नै विकास गरेका छौँ ।

औपचारिक रूपमा माईन्युटमा कसैले मेरो मत यो हो भनेर दर्ज नगर्दासम्म पार्टीमा फरक मत छ भनेर मानिँदैन। अब यसपटकको जहाँसम्म सन्दर्भ छ। यसपटक कसैले पनि पार्टीमा फरक मत राखेको होइन।’ उनले भने ‘विचार त सबैले व्यक्त गर्यौ हामीले स्थायी कमिटीको बैठकमा, केन्द्रीय कमिटीको बैठक, विधान महाधिवेशनमा । सबै ठाउँमा हामीले आफूलाई लागेका कुराहरू बोल्यौँ। तर अज औपचारिक निर्णय हुन्छ। त्यो निर्णयसँग भने कोही पनि असहमत भएको र कसैले पनि फरक मत प्रस्तुत गरेको अवस्था होइन। त्यस कारणले पार्टीमा फरक मतको अवस्था नै छैन। पार्टी विचारमा, संगठनमा सबै हिसाबले एकताबद्ध छ।’

उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुष्पवृष्टि गरेको बताए। विधान महाधिवेशनको उपस्थितिले, त्यहाँ भएको छलफलले र रिर्पोटिङपछि पार्टी विभाजन नभएको आफूहरूको निष्कर्ष सही साबित भएको उनको तर्क छ। 

उपमहासचिव पौडेलले माधव नेपालप्रति संकेत गर्दै स्वार्थवश, कुण्डावश, इस्र्यावश केही साथीहरू अलग भएको र भ्रममा परेर पार्टी छोडेकाहरू पुनः फर्किने क्रम सुरु भएको पनि बताए। उनले भने, ‘नेकपा एमाले विभाजन भएको छैन भनेर हामीले जे भनी आएका थियौं। त्यो निष्कर्षलाई यो महाधिवेशनमा भएको उपस्थितिले, छलफलले, महाधिवेशनमा जुन खालको रिपोर्टिङ भयो, त्यसले पुष्पवृष्टि गरेको छ। एमाले विभाजित भएको छैन। केही साथीहरू स्वार्थवश, कुँडावश, ईसावश पार्टीबाट अलग भए। केही साथीहरू भ्रममा परे । तर भ्रममा रहेका साथीहरू क्रमशः फर्किरहेका छन्।’

उपमहासचिव पौडेलले एमालेको राष्ट्रिय महाधिवेशन निर्धारित समयमै हुने र त्यसले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अरू बढी प्रभावकारी बनाएर लैजाने विश्वास समेत व्यक्त गरे। आइतबार सम्पन्न एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन आगामी मंसीर १०, ११ र १२ गते बुटवलमा हुने घोषणा गरेका थिए। 

Logo