कांग्रेसको कस्तो इतिहास लेख्न चाहन्थे बीपी?

कांग्रेसको कस्तो इतिहास लेख्न चाहन्थे बीपी?


नेपाली राजनीतिमा सर्वाधिक उचो कद बनाउन सफल नेता बीपी कोइरालालाई आफू जिवित छँदै कांग्रेसको इतिहास लेखिसक्ने चाहना थियो। राजनीति र साहित्यमा उत्तिकै योगदान दिएर नेपाल र नेपालीलाई गुन लगाएका कांग्रेसको इतिहास लेख्न नपाउँदै परलोक भए। यस्तै धेरै किताब लेख्ने चाहना राख्दा राख्दै बीपीको जीवन सकियो।

राणा प्रधानमन्त्री चन्द्रशमशेरले पिताजी कृष्णप्रसाद कोइरालालाई देश निकाला गरेपछि बीपीको परिवारले १२ वर्ष भारत प्रवासमा बिताउनु पर्यो। अंग्रेजविरुद्व महात्मा गान्धीले चलाएको स्वतन्त्रता आन्दोलनले गति लिइरहँदा बीपीको राजनीतिक प्रशिक्षण शुरु भयो।

भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणा शासन हटाउन सकिँदैन भन्ने बीपीको वुझाई थियो। स्वतन्त्रता आन्दोलनका क्रममा पक्राउ परि उनले तीन वर्ष भारतीय जेलमा बिताए। आफू रिहा भएकै दिन बीपीले यता काठमाडौंमा राणाहरुले बन्दी बनाएका पिताजीको मृत्युको खवर सुन्नु पर्याे । यो घटनाले उनलाई राजनीति गर्न झनै प्ररित बनायो अनि २००३ सालमा ३२ वर्षको उमेरमै नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरी राणाविरुद्व आन्दोलनको योजना बनाए। राजनैतिकरुपमा विभिन्न उतारचढाव खेपेका बीपीलाई राजाले प्रजातन्त्र अपहरण गरी आठ वर्ष सुन्दरीजल वन्दीगृहमा नपठाएको भए राजनीतिक व्यस्तता कारण सायद उनीबाट यति धेरै कृति लेख्न सम्भव थिएन। राजनीतिमा बीपीका नामले परिचित साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाका अधिकांश कृति उनी सुन्दरीजल बन्दीगृहमा रहँदाकै उपलव्धी हुन्।

सेप्टेम्बर १८, १९६२ (२०१९ असोज २)

मैले जीवनका ४८ वर्ष पूरा गरें । तर पनि कुनै विशेष उपलव्धी आर्जन गर्न सकेको छैन। मैले कारागारमा यी पुस्तकहरू लेख्नुछः

१९५० को आन्दोलन

शाह, नेपालको इतिहास, समाजवाद, शैलजा, उपन्यास, सुशीला, विज्ञानमाथि पुस्तक, प्रकाश, कला, श्रीहर्ष, परीकथा, शशाङ्क र बहिनी, साहित्य, कुन्दन, विश्वको इतिहास, आत्मवृत्तान्त।

बीपीका प्रकाशित यी कृतिहरु पाठकले सर्वाधिक रुचाएका किताबको सूचीमा छन्।

मेरो कथा, आत्मवृत्तान्त, जेल जर्नल, फेरी सुन्दरी जल, मोदी आईन, नरेन्द्र दाई, हिटलर र यहुदी, सुम्निमा, दोषी चम्मा, बाबु आमा र छोरा, श्वेतभैरवी ।

राणाकालमै बीपी क्यान्सर पीडित थिए। बम्वईमा उपचार गराएर फर्किएपछिका दिनमा राजनीतिक सकृयता यति वढ्यो की लेखनलाई समय दिनै पाएनन्। गृहमन्त्री भएसँगै वढेको राजनीतिक सकृयता प्रधानमन्त्री भएर अपदस्त नहुँदासम्म कायमै रह्यो। सुन्दरीजलमा बन्दी हुँदा लेखेका प्रायः कृति प्रकाशित छन्।

२०२५ सालमा सुन्दरीजलवाट छुटेको केही समयपछि नेपालमा बसेर राजनीति गर्न सम्भव नहुने निष्कर्षका साथ उनी भारत प्रवास गए। आठ वर्ष प्रवासमा रहेर निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि सशस्त्र क्रान्ति चलाए।

जहाज अपहरण, ओखलढुंगा काण्ड, भारतमा संकटकाल, नेपालमा राजा महेन्द्रको निधन, नयाँ राजा वीरेन्द्रको सत्तारोहण, पूर्वी पाकिस्तानबाट टुक्रिएर स्वतन्त्र बंगलादेशको निर्माण, सिक्किमको भारतमा विलय।

सन् १९७० को दशकमा सिंगो दक्षिण एसियामा फैलिएको राजनीतिक अस्थिरता र अनि भारतमा इन्दिरा गान्धीले चलाएको तानाशाही शासनका कारण नेपालको स्वतन्त्रता गुम्ने डरले बीपीलाई चिन्तित बनाइरहेका थिए। त्यही ताका भारत सरकारले नेपाली कांग्रेसका गतिविधिलाई सीमाभन्दा पचास माइल पर सिमित गर्न आदेश दियो। त्यति मात्र होइन, प्रजातन्त्रका पक्षमा वातावरण बनाउन सकिन्छ कि भनेर प्रवास गएका बीपीलाई कुनै गतिविधि बन्देज लगाउन थालियो।

ती दिन यता नेपालको अदालतमा बीपीविरुद्व जहाज अपहरण गरेको, ओखलढुंगा कव्जाका लागि सैन्य दस्ता पठाएको लगायत आठ वटा राजकाज मुद्वा विचाराधिन थिए। सबै मुद्वामा मृत्युदण्ड मागदावी गरिएको थियो।

पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकसँगको लामो छलफलपछि बीपी राष्ट्रि«य एकता तथा मेलमिलापको नीतिसहित २०३३ साल पुष १६ गते स्वदेश फर्किने निष्कर्षमा पुगे। पटनाबाट काठमाडौं विमानस्थलमा ओर्लिन नपाउँदैछ सहकर्मीका साथ बीपीलाई बन्दी बनाई फेरी सुन्दरीजलमै पुर्याइयो।

यसरी बीपीले फेरी लेख्ने समय पाए। पर्याप्त समय पाए पनि कागज उपलव्ध नगराउने जेल प्रशासनको निर्णयले उनलाई झनै चिन्तित बनायो।

बीपी आफैंले लेखेका छन्।

सुन्दरीजल

८ फेब्रुअरी १९७७ (२०३३ माघ २६)

मैले केही सादा कागज मगाएँ। उनीहरुले छ पन्ना कागज ल्याए। मैले भनें, मलाई ६ ताउ अर्थात (६.२४ पन्ना) चाहिन्छ।

क्याप्टेनले माथिको आदेश सुनायो। सैनिक हेडक्वाटरको विशेष अनुमतिविना हामीले लेख्ने कागज पाउने छैनौं रे। जेल प्रशासनको यस्तो व्यवहार देखेर रिस उठ्छ। लेख्ने कागज पाइन भने यहाँ बस्न असहैय हुनेछ। लेख्नलाई पत्रिकाहरु प्रयोग गर्ने गणशमान जी (जीएम)को सल्लाह छ। पत्रिकाहरु काटेर अभ्यास पुस्तिकाको आकारमा ल्यायौं। अनि छापिएका पानाहरुका खाली ठाउँमा आफ्नो नोट र विचार लेख्यौं। सम्भवतः हामीले अब त्यसै गर्नु पर्नेछ।

९ फेब्रुअरी १९७७ (२०३३ माघ २७)

पढ्ने किताब नभएपनि म आफ्नो जीवनी लेख्न सक्थें। नेपालको प्रजातान्त्रिक संघर्षको इतिहास लेख्न सक्थें (५०)।

जसमा मैले धेरै सकृय र कहिले कहीँ त प्रमुख भूमिका निर्वाह गरेको छु। कथाहरु लेख्न अथवा नेपालको समसामयिक, राजनीतिक घटनाका बारेमा उपन्यास लेख्ने प्रयास गर्न सक्थें । कागज दिइएन र यदी आफैंले ल्याउन सकेनाैं भने जीवन साँच्चिकै अत्यन्त दुष्कर हुनेछ। यो एकदम उत्साहजनक हुनेछ । लेख्नका लागि प्रयोग गर्न भनेर दुईवटा दैनिक पत्रिकाहरु गोर्खापत्र र राइजिङ नेपालका छेउछाउका खाँली ठाँउहरु काटेर राख्न थालेको छु। कागज बचाउनु पर्ने भएकाले साना साना अक्षरमा लेख्ने गर्छु । यसो गर्दा कागजको धेरै ठाउँ खाँदैन।

मसँग भएका डटपेनका तीन वटा रिफिल छन्। अहिले प्रयोग गरिरहेको यो कलमसहित एक सिसी मसी पनि छ। यो मसी कति दिनलाई पुग्ने हो, थाहा छैन (५१)।

११ फेब्रुअरी १९७७ (२०३३ माघ २९)

दिउँसो खाजा खाएपछि समय बिताउन साह्रै गाह्रो हुन्छ । एक छिन सुत्न खोजेँ तर सकिनँ। एक्कासी मैले नेपाली कांग्रेसको इतिहास लेख्न शुरु गर्नु पर्छ भन्ने कुरा मनमा आयो । यतातिर लेखकहरुले दिनु पर्ने जति ध्यान दिएकै छैनन्। मैले लेखिनँ भने अरु कसले लेख्छ र? त्यसपछि उठें र लेख्न थालें । एक हजार शव्द जति लेखेंछु।

लेख्ने कागज ज्यादै थोरै भएकाले हामीलाई दिइएका पत्रपत्रिकाहरुका एक इञ्च जति चौंडा छेउछाउको लामो खाली ठाउँ काटेर रोखेको छु। कागजका यी लामा टुक्राहरुमा नेपाली कांग्रेसको इतिहास लेखिँदैछ। लेख्न भनेर बाथरुममा राखिएका ट्वाइलेट पेपरलाई पनि मिलाएर राख्न थालेको छु। ट्वाइलेट पेपरको चक्का कोठामा ल्याएर अमूल्य वस्तु जस्तै दराजमा मिलाएर राख्न थालेको छु। ट्वाइलेट पेपर एकदम पातलो हुन्छ। यसमा लेख्न मिल्दैन। त्यसमा लेख्न मिले पनि डटपेनले मात्र मिल्ला। लेख्नमा आफूलाई अभ्यस्त बनाउन सके भने दिमाग खल्वल्याउने खिन्नता हुनेछैन (५४)।

कांग्रेसको इतिहास लेख्नुपर्छ भन्ने विचारले मलाई आफ्नो जिवनी लेख्न पनि प्रेरित गरेको छ। सन् १९५०–१९५९ को क्रान्तिका विषयमा एउटा उपन्यास लेख्ने विचार पनि गरेको छु। यी सबै किताब तीन तीन सय पेजका गरी नौ सय पेजका हुनेछन् (५४)।

बीपी सुन्दरीजल बन्दीगृहमा छँदैको कुरा हो। न्यायाधिश जनकमान श्रेष्ठको अध्यक्षतामा गठित विशेष अदालतमा उनीमाथिका आठ वटा राजाकाज मुद्वामा सुनुवाई चलिरहेकै थियो।

बीपीको स्वास्थ्य बिग्रँदै थियो । उपचारमा संलग्न चिकित्सकहरुले अमेरिका वा वेलायतको कुनै सुविधासम्पन्न अस्पतालमा उपचार नगराउने हो भने बीपीको ज्यान जान सक्ने वा प्यारालाईसिस हुन सक्ने रिर्पोट राजा वीरेन्द्रलाई दिए। यसरी राजाको आदेशमा उपचारका लागि उनीलाई रिहा गरी अमेरिका पठाइयो, फर्किएपछि पुन वन्दी बनाउने सर्तका साथ।

तीन महिनाको उपचारपछि पटना हुँदै स्वदेश फर्किने बेला बीपीले नेपाली कांग्रेसको सम्मेलन बोलाउनु भयो र त्यही कृष्णप्रसाद भट्टराईलाई कार्यवाहाक सभापतिको जिम्मेवारी दिए। काठमाडौं पुग्ना साथ त्रिभुवन विमानस्थलबाटै गिरफ्तार गरी उनलाई फेरी बन्दी बनाइयो।

यसबीच विशेष अदालतले अधिकांश मुद्धामा बीपीलाई सफाई दिइसकेको थियो। २०३६ तिर आइपुग्दा विद्यार्थी आन्दोलन चर्किएर गयो। अनि बीपीसँगको परामर्शमा बहुदल र निर्दल मध्ये कुनै एक रोज्ने अधिकार जनतालाई दिने गरी राजा बीरेन्द्रबाट जनमतसंग्रह घोषणा भयो।

तर पञ्चहरुले धाँधली गरी बहुदल पक्षलाई हराई दिए। गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसहितका आफ्नै सहयात्री, वामपन्थी दल र बौद्विक समुदायबाट जनमतसंग्रहको परिणाम अस्वीकार गर्न बीपीमाथि तिव्र दवाव परेको थियो। तर उनले जतिसुकै अप्रिय भएपनि स्वीकार्ने मतपरिणाम स्वीकार्ने वक्तव्य जारी गरे।  

जनमत संग्रहपछिका दिनमा बीपीको स्वास्थ्य अत्यन्त कमजोर थियो, केवल आत्मबलका भरमा उनी बाँचेका थिए। क्यान्सरको अन्तिम आक्रमण फोक्सोमा भएपछि छ महिनाभित्र मृत्यु हुनसक्ने निदान चिकित्सकहरुले गरिसकेका थिए। त्यही अवस्थामा बीपीले वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँग आफ्नो जीवनी रेकर्ड गराउन थाले। जुन बीपीको आत्मवृत्तान्तका नाममा प्रकाशित छ। बाँकी इतिहास सुनाउन नपाउँदै २०३९ साल साउन ६ गते ६८ वर्षको उमेरमा बीपीको निधन भएसँगै कांग्रेसको इतिहास लेख्ने उनको सपना पनि साकार हुन पाएन।

Logo