उपेन्द्र यादवको खुलासा: जसपाका भागमा भौतिक पूर्वाधारसहित चार मन्त्रालय

उपेन्द्र यादवको खुलासा: जसपाका भागमा भौतिक पूर्वाधारसहित चार मन्त्रालय


सत्ता साझेदार जनता समाजवादी पार्टी, (जसपा) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको औपचारिक जानकारी गराएका हुन् । 

सत्तारुढ गठबन्धन दलको बैठक मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय दिने निर्णय गरेको कुरा पार्टी संसदीय दलको नेता समेत रहेका अध्यक्ष यादवले संसदीय दलको बैठकमा जानकारी गराएको पार्टीका नेता राज किशोर यादवले जानकारी  दिए । 

त्यसै गरी बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ । 

‘आज बिहान सत्तारुढ दलको बैठकले बालुवाटारमा जुन मन्त्रालयको भागबन्डा गरेको छ । त्यसको बारेमा अध्यक्षले बैठकलाई जानकारी गराउनु भयो । हाम्रो भागमा चार वटा मन्त्रालय आएको कुरा जानकारी गराइयो । मन्त्रालय जम्मा ४ वटा छ । सबैलाई मन्त्री बनाउन त सकिँदैन । त्यसैले अव तपाईँहरूले आफ्नो आफ्नो कुरा राख्नुस् । कसरी लादा राम्रो हुन्छ ? भन्ने कुरा भयो ।’ नेता यादवले भने। 

‘पार्टीले पनि अव मन्त्रालयको कुरा यसरी बैठक बसेर टुंगिने विषय होइन भनेको छ । तपाईँले पार्टीको हितमा सबै प्रकारको क्षेत्रीयता , जातीयता, लैंगिकता, मूल्यांकन र क्षमताको आधारमा निर्णय गर्नुहोस् । त्यो निर्णय हामी स्वीकार गछौं भनेर पार्टी अध्यक्षलाई त्यसको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरिएको छ ।’

जसपाका २१ जना सांसदहरु रहेका छन् । सरकार गठन भएको ८३ दिनपछि बल्ल सत्तारुढ गठबन्धनले मन्त्रालय भागबन्डाको विषय टुंगो लगाएको हो । अव दलहरूले मन्त्रीहरूको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएपछि मन्त्रीपरिषद्ले पूर्णता पाउनेछ, यादवले भने।

Logo