नेपाली कांग्रेसमा सुकिला-मुकिलाको नेतृत्व हाबी, इमान्दार नेता कार्यकर्ता ओझेलमा

नेपाली कांग्रेसमा सुकिला-मुकिलाको नेतृत्व हाबी, इमान्दार नेता कार्यकर्ता ओझेलमा


कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाको निधनसँगै कांग्रेसमा सिद्धान्त बमोजिमको आचरण गर्ने नेतृत्व खड्किएको छ। पार्टीमा त्याग गरेका योग्य र क्षमतावान कार्यकर्ताहरु ओझेलमा छन् भने ठेक्का, पट्टा र व्यवसायीक पृष्ठभूमिका मानिसहरु नेतृत्वमाथि हाबी हुँदै गएको आम कांग्रेसीको बुझाई छ।

कांग्रेसका संस्थापक बिपीले त्यो बेलामा भनेको कुरा कताकता आज पनि सन्दर्भमा मेल खाइरहेको छ। बिपीको दूरदर्शिताका बारेमा प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थले त्यो बेला बताएको कुराहरु सम्झँदै सुकिला–मुकिलाले कांग्रेसको नेतृत्व लिने र पार्टीका लागि मरिमेट्ने योद्धाहरु पछि पर्ने बताए। कांग्रेसमा अहिले देखिएको राजनीतिक अवस्थालाई नियाल्दा बिपीले त्यो बेलामा भनेका कुराहरु उनी सम्झन्छन्। प्रजातन्त्रको रक्षाका लागि इमान्दार कार्यकर्ताहरुले सुकिला–मुकिलाहरुको विरुद्धमा आन्दोलनको झण्डा उठाएपछि मात्रै पार्टीका लागि आफ्नो जीवन सुम्पिएकाहरुले पार्टीमा स्थान पाउने कुरा बिपीले त्यही बेलामा गरेको कुरा कायस्थले यसरी सुनाए।  

बिपीले भनेका थिए, ‘भविष्यमा यो पार्टीमा सुकिला मुकिलाको हाबी हुनेछ, इमान्दार कार्यकर्ताहरु पनि छन्, तर भोलि त्यही पुराना इमान्दार समर्पित कार्यकर्ताहरुले तिनकाविरुद्धमा विद्रोह गर्नुपर्छ, अनि मात्र पार्टीलाई सही बाटोमा ल्याउन सकिन्छ।’

कांग्रेसका संस्थापक बिपीले भनेको जस्तै नेपाली कांग्रेसका पूर्वसांसद लेखनाथ न्यौपाने पार्टीको अहिलेको अवस्था त्यो बिपीको वचनभन्दा फर देख्दैनन्। अहिले नेपाली कांग्रेसको नेतृत्व तहका नेताहरुले नै आफ्नो नैतिकता बेचिरहेको उनको बुझाइ छ। कांग्रेस, कम्युनिष्ट, राप्रपा जति पार्टी भएपनि इमान्दारितापूर्वक काम नगरेको गुनासो पोख्दै उनले अहिलेका नेतामा तैँले भन्दा धेरै पैसा मैले खर्च गर्न सक्छु भन्ने घमण्ड पलाएको बताए।

बिपीले भनेको कुरा पूर्वसांसद न्यौपानेले यसरी सम्झिए, ‘अहिले पार्टीका हरेक निकायमा सुकिला मुकिला नै हावी त छन् नी। अपवादलाई छोड्ने हो भने इमान्दार कार्यकर्ताले कही कतै स्थान पाएका छैनन्। पैसावालहरु हाबी हुदै गएकाले पार्टीमा नैतिकताको राजनीति कमजोर हुँदै गएको छ। यो प्रवृति रोक्न सकिएन भने कांग्रेस संकटमा पर्नेछ।’

यतिबेला कांग्रेसमा दुःख पाएका इमान्दार योग्य कार्यकर्तामाथि न्याय नभएको आवाज उठिरहेको छ। स्वार्थ समूह पार्टी र सरकारमा हाबी हुँदै गएपछि आम कार्यकर्ताहरुले सुकिला मुकिलाबाट अपमानीत महशुस भइरहेको बताइरहेका छन्। कांग्रेसमा अहिले पार्टीमा माफियाहरुले कब्जा गरेको भन्दै राजनीतिक विश्लेषक डा.विनोद भट्टराईले यसरी कांग्रेसका संस्थापक नेता बिपी र उनको नेतृत्वमा स्थापना भएको नेपाली कांग्रेस पार्टीको अहिलेको अवस्थाको चर्चा गरे।

बिपीलाई सम्झँदै राजनीतिक विश्लेषक भट्टराईले भन्छन्, ‘बिपीले सुकिला मुकिला भनेको भेष्टेड इन्ट्रेष्ट विकास हुँदै जान्छन्। तिनीहरुले पार्टीका तलदेखि माथिका निकाय कब्जा गर्दै जान्छन्। जुन मैले तपाईलाई भने मठाधीस, माफिया, दुई नम्बरीहरुले पार्टीको संयन्त्रमा कब्जा गर्छन् । नेताहरुलाई नियन्त्रण गर्छन्। खरिद गर्छन्। आफ्नो स्वार्थ पूरा गर्नका लागि पार्टीलाई उपयोग गर्छन् । त्यसलाई रोक्नका लागि इमान्दार कार्यकर्ताहरु सचेत हुनुपर्छ भनेर बिपीले भन्नुभएको छ। हाम्रो पार्टीमा कहीँ कतै त्यस्तो प्रवृत्तिलाई रोक्न सकिएको छैन। अहिले पार्टीमा साठी/सत्तरी प्रतिशत इमान्दार मानिस छन् तर तन्नम अवस्थामा छन्। आर्थिकरुपले जर्जर । तिनीहरु चुनाव लड्न सक्ने अवस्थामा छैनन्। चुनाव लड्नु पर्यो भने भएको घर खेत बेच्नु पर्ने अवस्थामा छन्। जसले दुःख गरे, जेल नेल खाए, पार्टीलाई यो अवस्थामा ल्याउन अत्यन्त दुःख गरे उनीहरु कमजोर छन्। तिनैले जित्छन् जो माफिया छन्, ठेकेदार छन्। यो प्रवृत्ति रोकिएन भने दुर्भाग्यपपूर्ण अवस्था आउन सक्ने म देख्दैछु।’           

बिपीले भने जस्तै यो महाधिवेशनले पार्टी सुकिला मुकिलाको प्रभावबाट मुक्त हुन सक्छ की सक्दैन भन्ने हेर्न भने महाधिवेशनको परिणामसम्म कुर्नै पर्ने हुन्छ। 

Logo