संसद् सहज भएपछि तेजाबसम्बन्धी अध्यादेश फेरि सक्रिय हुन्छ: मन्त्री उमा रेग्मी

संसद् सहज भएपछि तेजाबसम्बन्धी अध्यादेश फेरि सक्रिय हुन्छ: मन्त्री उमा रेग्मी


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले संसद सहज भएपछि तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन गर्ने अध्यादेश सक्रिय हुने बताएकी छन्। मन्त्री नियुक्त भएपछि मंगलबार पहिलो पटक गृहजिल्ला आएकी रेग्मीले पत्रकारहरुसँग कुराकानी गर्दै एमालेका कारण अध्यादेश निश्क्रिय भएको आरोप लगाइन्।

महिलामाथि तेजाब आक्रमणका घटना बढ्दै गएपछि केपी ओलीको सरकारले यो अध्यादेश जारी गरेको थियो। ‘अध्यादेश रद्द भएको होइन, एमालेले सदन घेरिरहेको छ। सदन सहज छैन। त्यसैले गर्दा पारित गर्न नसकिएको हो। अलिकति सदन सहज हुने बित्तिकै सरकारले यो अध्यादेशलाई सक्रिय बनाउँछ’, उनले भनिन्।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन गर्ने अध्यादेश र यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश निश्क्रिय भएको हो। केपी ओलीको सरकारले जारी गरेको उक्त अध्यादेश संसदबाट समयमै पारित नभएपछि अध्यादेश निश्क्रिय भएको हो। अध्यादेशमा पीडकलाई २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था थियो।

फरक प्रसंगमा बोल्दै नेपाली कांग्रेसकी नेतृ समेत रहेकी रेग्मीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबोलमै पार्टी सभापतिले सरकारमा जाने निर्णय गरेको बताइन्। अधिबेशन लागेको भएर वरिष्ठ नेता पौडेलले अहिले आएर पार्टी सभापतिमा सत्ताकोे लोभ देखेको उनले बताइन्। 

उद्योग मन्त्रीमा गजेन्द्र हमाललाई गरेको नियुक्तिको विषयमा पनि उनले पार्टी सभापति देउवाको बचाउ गरिन्। हमाल कांग्रेसकै पुराना नेता भएकाले छ महिनाका लागि नियुक्त गरिएको र त्यसमा कुनै सेटिङ नभएको दाबी गरिन्। यद्यपी आलोचना भएपछि हमालले मन्त्रीबाट राजीनामा दिएर स्वाभिमान देखाएको बताइन्।

गृह जिल्ला आएकी मन्त्री रेग्मीलाई कांग्रेसका नेता कार्यकर्ताहरुले बाजागाजासहित धुमधामसँग स्वागत गरेका थिए। मन्त्रीलाई स्वागत गर्न विमानस्थलभित्रै भिड लागेको थियो। नेता कार्यकर्ताहरुले पुष्प गुच्छा र खादा ओढाएर स्वागत गरेका हुन्।न्युज कारखाना

Logo