३ कात्तिक २०७८ बुधबार

संसद् सुचारु गराउन एमालेसँग छलफलको तयारी छः सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संसद् सुचारु गराउन नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताएका छन् ।

सभामुख सापकोटाले संसद् चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताए । बुधवार पत्रकारहरूसँगको कुराकानीमा उनले संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका हुन् । सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताए ।

सभामुख सापकोटाले भने, ‘म अझै के भन्छु भने पहिला हाम्रो संवाद भइरहेको थियो, अहिले विवाद भइरहेको छ । अन्तिममा फेरि वादविवाद, संवादको विकल्प छैन,ढिलो चाँडो संवादमा उहाँहरू आउनुहुन्छ भन्ने छ र मैले ड्यासबाट नै पनि उहाँहरूलाई विनम्रता पूर्वक नै संसद्को गरिमालाई बढाउनका लागि हामी सबैको दायित्व उत्तिकै छ । के पक्ष, के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसाबले सभामुखको नै हो । के गर्नुपर्छ त्यसको लागि म तयार छु । तर सरकार, सभामुख,विपक्षी दलको नेताको र समस्त सांसदहरुको सबै दायित्व हुन्छ । अब पनि मलाई के लागेको छ भने दसैँको अवसरमा छौँ । यो अवसरले हामी सबैमा सकारात्मक सोचको विकास होस्, हामीले यस्तो बेलामा कामना गर्ने कुरा यो हो, सभामुखको जिम्मेवारी प्राप्त भइसकेपछि कहीँ कतै मैले पनि बल त गरेको छु, तटस्थ, निष्पक्ष र स्वतन्त्र भूमिका खेल्नुपर्छ । मैले संविधान र खास गरी प्रतिनिधिसभाको नियमावलीमा टेकेरै आफ्ना कार्य सम्पादन गर्नुपर्छ, मैले फेरि फर्केर सबै कामको समीक्षा गर्ने कुरा हुन्छ । उहाँहरुले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ, हामी सबैले समीक्षा गरौँ र सकारात्मक सोचका साथ संवाद थालौँ, जतिसुकै ठुलो समस्या भए पनि संवादको विकल्प छैन, समन्वय, सहकार्य र समझदारी नै हो । हाम्रो संसदमा अहिले अलिकति समस्याहरू देखिएको छ, अवरुद्ध भइरहेको छ, १५ दिनको समय पनि छ, कार्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्छ भन्नेमा म आशावादी छु ।’

सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजया दशमीले सकारात्मक सोचको विकास गराउने बताए । उनले संसद् सुचारु रूपमा चलाउनका लागि नेकपा एमालेसँग संवाद गर्न आफू सकेसम्म पहल गर्ने बताउँदै संसद् पुनर्स्थापना गर्न लागि परे जस्तै संसद् सुचारु रूपमा चलाउन संसदहरुले पहल गर्नुपर्ने बताए । उनले संसदलाई जीवन्त र जनमुखी बनाउन आफू पनि गुणात्मक ढंगले लागि पर्ने बताए ।

सभामुख सापकोटाले भने, ‘राजनीतिमा आग्रह, पूर्वाग्रह, हुन्छ, प्रतिसोध सोच्न पनि सकिँदैन, यी सबै आग्रह पूर्वाग्रह मेटिँदै जानेछन्, सकारात्मक सोचको विकास हुनेछ, अझ निष्कर्षमा पुग्नका लागि सबै औपचारिक, अनौपचारिक,ट्रयाक वान, टू,सबै उपायहरु अवलम्बन गर्नका लागि मैले सकेजति मिहेनत गर्दछु, म कहाँनेर अलि बढी चिन्तित छु भने संसदका लागि हामीले पुनर्स्थापना गर्नका लागि जति पहल गर्यौं, प्रयत्न, परिश्रम, त्यत्तिकै त्यसलाई प्रभावकारी बनाउन, सबलीकरण गर्नका लागि जीवन्त र जनमुखी बनाउनका लागि मेरो पनि पहलकदमी गुणात्मक ढंगले बढ्नुपर्छ नै, त्यसमा कुनै द्वीमत नै छैन,तर पार्टी, पार्टीका नेता, अझ सांसदहरुमा त्यसलाई प्रभावकारी बनाउनका लागि चाहे अध्ययन, चाहे छलफल र संघीय संसदलाई जीवन्त र जनमुखी बनाउनका लागि असाधारण खालको मिहेनतको जरुरत हुन्थ्यो नि, संदलाई जीवन्त र प्रभावकारी बनाउनुको विकल्प छैन ।’

सभामुख सापकोटाले संसदमा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै संचारमाध्यमहरुमा आएको कुरा सही नभएको बताएका छन् । उनले एक किसिमले राष्ट्रका संवेदनशील विषयहरु अगाडि बढ्न आफुले नरोकेको सहजीकरण नै गरेको बताए । उनले सभामुखले नै सबै समस्या हल गर्नुपर्छ भनेर अन्य दलका नेताहरु उदासीन नभएको बताउँदै संसद् सुचारु गर्नका लागि शान्तपूर्वक लागिपर्ने प्रतिवद्धता जनाए । उनले यसका लागि सरकार, गठबन्धन दल र सबै सांसदहरुले समीक्षा गर्नुपर्ने बताए ।

सभामुख सापकोटाले भने, ‘एकप्रकारले राष्ट्रका संवेदनशील विषयहरु अगाडि बढेका छन् । अघोषित रूपमा भनेपनि बजेट होलिडे जस्तै स्थिती आएको थियो । बजेट पास भएको छ ।सरकारले गाँठो फुकाउन खोजेका कुरा गाँठो फुकेका पनि छन् । तर मलाई यो लाग्दैन कि, सभामुखले नै सबै समस्या हल गर्नुपर्छ भनेर उदासीन हुनुभएको छ राजनीतिक पार्टीका नेताहरु भन्ने लाग्दैन । तर पनि दुवै तिरले पोजिसन दिने भएकोले अलि कुलीन भएर वातावरण बनोस् भन्ने खालको हो, पहल भएको छ, सरकारले, गठबन्धनका सबै नेताहरुले र विपक्षी दलका नेताहरु सबैले समीक्षा गरौँ भन्ने अपील गर्न चाहन्छु ।’

संसद् लोकतन्त्रको आत्मा हो त्यसैले सभामुख र सांसदहरुको भूमिका बढाउन आवश्यक रहेको बताउँदै सभामुख सापकोटाले प्रवचन र प्रशिक्षणको विषय मात्र बनाइएको बताए । उनले लोकतन्त्र संघीय संसदमा कमै मात्र प्रयोग भएको बताए । आगामी कार्तिक ९ गते बस्ने प्रतिनिधिसभाको बैठकमा संसद् सुचारु रुपले चल्नेमा आफू आशावादी रहेको बताए । 

राजनीति

प्रकाशित: २७ असोज २०७८ १२:१६ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी