बाग्मतीमा विश्वासको मत लिने समय सार्न एमालेको माग

बाग्मतीमा विश्वासको मत लिने समय सार्न एमालेको माग


बाग्मती प्रदेश सरकारको नेतृत्व गरिरहेको एमालेले बिहीबारका लागि आह्वान गरेको प्रदेशसभाको बैठक सार्न सभामुखलाई पत्राचार गरेको छ। पार्टीका बाग्मती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई पत्र लेख्दै बैठक ११ कात्तिकका लागि सारिदिन आग्रह गरेका हुन् ।

पत्रमा निरौलाले पार्टीको आसन्न महाधिवेशन तथा त्यसपछिका जिल्ला, प्रदेशस्तरका अधिवेशन एवं ६ कात्तिकमा हुने वडास्तरीय अधिवेशन र ९ कात्तिकमा हुने पालिकास्तरको अधिवेशनका कारण सभाको बैठक सार्न भनिएको छ । उनले आफ्ना पार्टीका सांसद भोलि ४ कात्तिकका लागि आह्वान गरिएको प्रदेशसभाको बैठकमा उपस्थित हुन नसक्ने भएकाले बैठक सार्न भनेका हुन् । 

४ कात्तिकमा  विश्वासको मत लिने तयारीमा रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पार्टी एमाले नै बैठकमा उपस्थित हुन नसक्ने भएकाले बैठकको समय हेरफेर गर्न माग गर्दै प्रदेशसभाको सभामुखलाई पत्र लेखेको हो । 

२ भदौमा मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्यले विश्वासको मत लिन बिहीबार तयारी भएका बेलामा एमालेले विश्वासको मत लिने समय पर सार्न पत्राचार गरेको हो । एमाले विभाजनपछि १३ जना सांसद (एकीकृत समाजवादी)मा लागेपछि एकल बहुमतको आधारमा सरकारको नेतृत्व गरेकी शाक्य अल्पमतमा परेकी थिइन् ।

बाग्मतीमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को गठबन्धनको सरकार बनाउनका लागि बहुमत पुग्छ ।  विभाजनअघि स्पष्ट बहुमत रहेको एमालेको ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएकी शाक्यलाई अहिले आफ्नै पार्टीको जम्मा ४३ सांसदको समर्थन रहेको छ ।

सरकार बनाउँनका लागि १०९ जना सांसदको बहुमत संख्या आवश्यक पर्दछ । गठबन्धनमा रहेकामा ओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, एकीकृत समाजवादीसँग १३ जना सांसद गरी ५८ जना बहुमत सांसद रहेका छन् । प्रदेशसभामा विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एकजना सांसद छन् । 

बाग्मतीमा नयाँ सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने चर्चा छ । कांग्रेसका इन्द्रबहादुर बानियाँले आधा अवधिका लागि भए पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् । 

Skip This
Logo