सहमहामन्त्री डा महत भन्छन् ‘रोकिएका जिल्ला अधिवेशन छठपछि हुन्छ’

सहमहामन्त्री डा महत भन्छन् ‘रोकिएका जिल्ला अधिवेशन छठपछि हुन्छ’


नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गतका रोकिएका जिल्ला अधिवेशनहरू छठपछि सुरु गरिने बताएका छन् ।

बुधवार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले जिल्लाको सदस्यताको विवाद तिहार अघि नै समाधान हुने बताए । उनले भने “विभिन्न कारणले रोकिएका जिल्ला अधिवेशनहरू छठपछि हुन्छ र तिहारअघि सबै जिल्लाको सदस्यतासम्बन्धी विवाद समाधान भइसक्छ ।” 

सहमहामन्त्री डा महतले स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले नै बहुमत प्राप्त गर्ने गरी पार्टी अघि बढ्ने बताए । 

उनले भने,“अब कांग्रेस एकल बहुमत प्राप्त गर्ने गरी अघि बढ्छ, पार्टीको आगामी महाधिवेशनमा पार्टी एक ढिक्का हुन्छ र यसले आगामी सबै तहका निर्वाचनमा पार्टीमा बहुमत हासिल गर्न पूरा सहयोग पुग्छ ।” 

पार्टीलाई महाधिवेशन केन्द्रित मात्रै नभएर तीन तहको निर्वाचन केन्द्रित भएर अघि बढाउने उनको भनाइ थियो । गठबन्धनको सरकार सञ्चालन गर्न सहज नभएको भन्दै उनले सबैलाई मिलाएर अघि बढ्ने बताए । 

सरकारको एक सय दिन सफल रहेको भन्दै उनले सरकारले अरू धेरै कामका अतिरिक्त चार वटा महत्त्वपूर्ण काम गरेको बताए । उनले भने,“सरकार गठन भएपछि जनतालाई कोभिड विरुद्धको खोप, परराष्ट्र नीति, भ्रष्टाचार नियन्त्रण र संवैधानिक आयोगमाथिको हस्तक्षेप रोकिएको छ ।” 

Logo