माधव नेपाल भन्छन्–चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ

माधव नेपाल भन्छन्–चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावपछि नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् ।

बुधवार सर्लाहीको लामबन्दीस्थित बोहोरेडाँडामा प्रदेशस्तरीय पुष्पलाल स्मृति पार्कको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सिंगो नेकपा एमाले ठान्ने ओली प्रवृत्तिलाई घुँडा टेकाएर नयाँ पार्टी गठन गरेको बताए । मैथिली भाषामासमेत सम्बोधन गरेका अध्यक्ष नेपालले अब भविष्य भएको एक मात्र पार्टी नेकपा (एकीकृत समाजवादी) भएको दाबी गरे ।

सम्बोधनको क्रममा अध्यक्ष नेपालले पार्टी नयाँ भए पनि कम्युनिस्ट पार्टीको असल विचार र नीति लिएर आफूहरू अगाडि बढेको बताए । सिधार सोझा जनतालाई ठग्ने, चुस्ने नीति लिएका जो कसैलाई नछाडिने उनको चेतावनी थियो । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली जनताको चाहनाभन्दा पनि लम्पसारवादको पछि लागेको आरोप लगाए । 

कार्यक्रमका दौरान पुष्पलालको शालिक अनावरण गरेपछि अध्यक्ष नेपालले उनको योगदानको खुलेर प्रशंसा गरे । कार्यक्रमको धेरैजसो समय ओलीप्रति खनिएका उनले पार्टीलाई विधि र पद्धतिमा चल्न नदिएर जथाभाबी गर्ने केपी ओली को हुन्? भनेर प्रश्न समेत गरे । देशमा ओली प्रवृत्ति हाबी भएपछि पटक पटक संविधानको रक्षाको लागि दिनरात लागेको स्मरण गरे । 

कामभन्दा पनि कुरो धेरै गरेर ओलीले देशका नागरिकलाई बेवकुफ बनाएको भन्दै कटाक्ष गरे । ‘काम केही गर्नु छैन,’ उनले भने, ‘गफाडीले झैँ कुरा मात्र गरिरह्यो ।’ जनताको मर्म र भावनाअनुसार जनताको भविष्य कोर्ने कलम लिएर नेकपा एस आएको उनले जिकिर गरे ।

विभिन्न कार्यक्रममा सहभागी हुन मंगलवार नै सर्लाही आइपुगेका अध्यक्ष नेपाल पार्क उद्घाटनपश्चात् काठमाडौं लागेको नेकपा एस जिल्ला कमिटीले जनाएको हो । न्युज कारखाना

Logo