आजका महत्त्वपूर्ण खबर: न्यायाधीश बने विभाजित, मुख्यमन्त्री पाण्डेले पाए विश्वासकाे मत

आजका महत्त्वपूर्ण खबर: न्यायाधीश बने विभाजित, मुख्यमन्त्री पाण्डेले पाए विश्वासकाे मत


पर्यटन बोर्डका सिईओ रेग्मीसँग सरकारले सोध्यो तीन दिने लिखित स्पष्टीकरण

सरकारले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीसँग लिखित स्पष्टीकरण माग गरेको छ। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सीईओ रेग्मीलाई मन्त्रालयमा बोलाएर शनिबार भन्सारका कर्मचारीसँग भएको विवादका सम्बन्धमा जानकारी लिएका थिए। त्यसपछि नेपाल पर्यटन बोर्ड संचालक समितिका अध्यक्ष तथा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले लिखित स्पष्टीकरण माग गरेका हुन्। उनलाई तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ।

लण्डनबाट काठमाडौं आउने क्रममा शनिबार भन्सार विभागका कर्मचारीसँगको लफडामा मुछिएपछि सीईओ रेग्मीसँग पर्यटनमन्त्री आलेले यस विषयमा के भएको हो भनी जानकारी लिएका थिए।

कट्रिना र विक्कीले गरे गोप्य इंगेजमेन्ट
बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफले इंगेजमेन्ट गरेका छन्। लामो समयदेखि अफेयरमा रहेको चर्चा हुँदै आएका कलाकारको यतिबेला इंगेजमेन्ट भएको चर्चा भइरहेको छ ।

भारतीय संचार माध्यमका अनुसार निर्देशक कबीर सिंहको घरमा विक्की र कट्रिनाको इंगेजमेन्ट भएको हो । गोप्य रूपमा गरिएको इंगेजमेन्टमा विक्की र कट्रिनाका परिवार तथा नजिकका साथीको मात्र उपस्थिति थियो । डिसेम्बरमा उनीहरूको विवाह हुने बताइएको छ।

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पाए विश्वासको मत
बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्। नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले आज प्रदेशसभाबाट विश्वासको मत पाएका हुन्।

मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत आएको छ। आजको मतदानमा १०४ जना सांसद उपस्थित थिए। विपक्षमा जम्मा ४३ मत आएको छ भने तटस्थ २ मत आएको सभामुखले प्रदेशसभामा जानकारी गराएका थिए।

नेकपा एमालेले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन। एमालेका ४३ सांसद छन् तर आज २ जना सांसद उपस्थित थिएनन्। नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेपछि राजीनामा दिएकी थिइन्।

सर्वोच्चका न्यायाधीश विभाजित भएका हुन् ? थप २ न्यायाधीश पनि फर्किए इजलास
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका ३ जना न्यायाधीश सोमबार मुद्दा सुनुवाइमा सहभागी भएका छन्। 

बन्दी प्रत्यक्षीकरणको रिट मात्र सुनुवाइ गर्ने बताएका न्यायाधीशहरूले जबराले आफ्नालागिसमेत इजलास तोकेपछि बन्दीको रिटमा समेत सुनुवाइ नगर्ने बताएका थिए । तर, न्यायाधीशहरू कुमार चुँडाल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी इजलास फर्किएर मुद्दा सुनुवाइमा सहभागी भएका छन्। 

ढुंगाना र रेग्मीले संयुक्त इजलासमा एउटा बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ थालेका छन्। यसअघि अर्का न्यायाधीश चुँडालले त्यस्तै प्रकृतिको रिटमा सुनुवाइ गरी आदेशसमेत जारी गरेका छन्। 

चुँडाल र अर्का न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा एक(एकवटा रिट पेसीमा थिए। २ मध्ये चुँडालले एक रिटमाथि सुनुवाइ गरी आदेश दिएका छन् भने श्रेष्ठ अहिलेसम्म इजलास गएका छैनन्। 

प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई छाडेर रोलक्रममा कनिष्ठतम् न्यायाधीशहरूका लागि इजलास गठन गरेका थिए।

२४ वर्षपछि अस्ट्रेलिया क्रिकेट टिम पाकिस्तान भ्रमण गर्दै
अस्ट्रेलियाली क्रिकेट टिमले २४ वर्षपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ। क्रिकेट अस्ट्रेलिया र पाकिस्तान क्रिकेट बोर्डले सोमबार सन् २०२२ को मार्चमा अस्ट्रेलियाली क्रिकेट टिमले पाकिस्तान भ्रमण गर्ने तय गरेको हो।

सन् १९९८ पछि अस्ट्रेलियाको क्रिकेट टिम पाकिस्तानमा क्रिकेट खेल्न गएको छैन। भ्रमणमा वर्ल्ड टेस्ट च्याम्पियनसिप र एक दिवसीय अन्तर्राष्ट्रिय सुपर लिगअन्तर्गतको खेल हुनेछ। उक्त भ्रमणमा तीनवटा टेस्ट खेल, तीन ओडीआई र एउटा टी-२० खेल हुनेछ । खेलहरू कराँची, रावलपिन्डी र लाहोरमा हुनेछन्।

एमालेको महाधिवेशनमा चैतसम्म सदस्यता लिएका मात्र प्रतिनिधि हुने
नेकपा एमालेको आगामी दशौँ राष्ट्रिय महाधिवेशनमा २०७७ चैतसम्म पार्टी सदस्यता लिएका संगठित सदस्य मात्र प्रतिनिधिका रूपमा सहभागी हुन पाउने भएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन- १४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका संगठित सदस्यले मात्र महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ।

ती प्रतिनिधिले महाधिवेशनमा मतदान गर्न पाउनेछन्। एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार चैतसम्ममा सात लाख ३८ हजार पार्टी संगठित सदस्य रहेका थिए। अहिले नौ लाख पुगेका छन्।

महाधिवेशनमा एक हजार ९९९ जना प्रतिनिधि सहभागी हुनेछन्। एमालेले महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत एक हजार २०० पार्टी सदस्यबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले प्रतिनिधि, त्यसपछि ८०० सम्मले थप एक-एक जना प्रतिनिधि निर्वाचित गर्नेछ।

दाङको बबईमा जिप दुर्घटना, एक जनाको मृत्यु, ११ घाइते
सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको यात्रुबहाक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक टीका महतराका अनुसार दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटनामा परी सल्यान कालीमाटी गाउँपालिका- ३ का गाडीधनी अन्दाजी ४० बर्षीय देवबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको हो। 

दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेमध्ये दुई बालबालिकाको अवस्था गम्भीर रहेको महतराले बताए । जिपका चालक फरार रहेका छन्।

निर्मला कुर्मी बेपत्ता प्रकरणमा सात जना पक्राउ
नेपालगंजकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा सात जना पक्राउ परेका छन्। निर्मलाको अपहरण गरी हत्या गरेको किटानी जाहेरीका आधारमा रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुँवर बबन सिंहलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्याम अधिकारीका अनुसार जिल्ला अदालतले बबन सिंह ८० वर्ष पुगेका वृद्ध भएकाले हाजिरी जमानीमा छाडेको बताए । किटानी जाहेरीमा उल्लेखित पूर्वसांसद बादशाह कुर्मीचाहिँ भदौमा सरकारी वकिलको कार्यालयमा हाजिर भएर थप बुझ्दा आउने गरी अदालतले छाडेकाले उनलाई पक्राउ गर्न कानुनी आधार नभएको अधिकारीले बताए।

डेढ महिनादेखि तातोपानी नाकामा रोकिएको छ १५ हजार मेट्रिक टन मल, कृषिमन्त्रीले देखाएनन् चासो

चीनबाट ल्याउने भनिएको १० हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपी मल तातोपानी नाकामा डेढ महिनादेखि रोकिएको छ।

डेढ महिनादेखि रोकिएको मल ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चासो देखाएको छैन । चीनबाट आउने १५ हजार मेट्रिक टन मल तातोपानी नाकामा रोकिएको कृषि सामग्री कम्पनीका विभागीय प्रमुख राजेन्द्रबहादुर कार्कीले जानकारी दिए। तातोपानी नाकामा रोकिएका मल ल्याउन पटक पटक प्रयास गरे पनि असफल भएको उनको भनाइ छ। 

चीनले कोरोना जोखिमका कारण देखाएपछि मल भन्सारमा रोकिएको र सरकार सो नदिँदा मंसिरमा फेरि मलको हाहाकार हुने कृषि सामग्री कम्पनीले जनाएको छ। चीनले कोरोनाको महामारी देखाउँदै तातोपानी नाका अझै खोलेको छैन, जसका कारण भन्सारमा रोकिएको मल ल्याउन समस्या भएको कृषि सामग्री कम्पनीको भनाइ छ।

Skip This
Logo