महाधिवेशन बिशेष: चर्चामा एमालेका २१ अनुहार (भिडियाे)

महाधिवेशन बिशेष: चर्चामा एमालेका २१ अनुहार (भिडियाे)


आज शुक्रवारदेखि नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा सुरु भएको छ । पछिल्लो समय नेकपाको विभिन्न घटनाक्रमले यस पटकको एमालेको महाधिवेशनलाई ऐतिहासिक र बहुप्रतिक्षित रुपमा पनि हेरिएको छ । पहिले– पहिले एमाले महाधिवेशनमा पार्टीको वैचारिक कार्यदिशा, मुद्दा र कार्यक्रमहरूमाथि सघन छलफल हुन्थ्यो । पार्टी सदस्यहरू र विरोधीहरूसमेत बहसमा तानिन्थे । प्रतिनिधि छनोटको निर्वाचन हुन्थ्यो, जसलाई हेरेर राजनीतिक सृजनशीलता र जडताका अनेकौँ अनुभव लिन सकिन्थ्यो । तर अहिलेको महाधिवेशन हेर्दा इतिहासकै सबैभन्दा अराजनीतिक, व्यक्ति केन्द्रित र सन्दर्भहीन देखिँदै छ । पार्टीमा सदस्य कम र सेवकहरू ज्यादा हाबी हुँदै गएको पाइन्छ । माओवादी पृष्ठभूमिबाट आएका नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने हुँदा पार्टीमा लामो समय सङ्घर्ष गरेका नेताहरू असन्तुष्ट पनि देखिएका छन् । आउनुहोस् आज त्यसमध्येका १०औं महाधिवेशनमा एमालेका २१ चर्चित नेताका विषयमा चर्चा गरौँ । 

१,केपी ओली 

वाक्पटुतायुक्त नेताका रूपमा विशेष पहिचान बनाएका ओली ९औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुन् । विक्रम संवत् २०२२ सालमा कम्युनिस्ट राजनीतिमा लागेका ओली २८ सालको झापा आन्दोलनका प्रमुखहरू मध्येका एक हुन् । १० औं महाधिवेशनमा एकताको सन्देश दिने लक्ष्यसहित अध्यक्ष ओली सर्वसम्मत नेतृत्व चयनको रणनीतिमा रहेका छन् । 

२, भीम रावल 

एमाले उपाध्यक्ष भीम रावल सुदूरपश्चिमका प्रभावशाली नेताका रुपमा चिनिन्छन् । रावलले २०४७ सालमा झलनाथ खनालको सल्लाहकारका रुपमा आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए।उपप्रधानमन्त्री, रक्षा मन्त्री र गृहमन्त्री बनिसकेका रावल यस महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन्। यद्यपि अध्यक्षमा दाबी गरिरहेका रावलले वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्षमध्ये कुनै एक पदमा आफूलाई सुरक्षित गर्न खोजेको बुझिएको छ ।

३,अष्टलक्ष्मी शाक्य

नेपाली राजनीतिमा अष्टलक्ष्मी शाक्यको नाम महिला नेतृको अग्र भागमा छ । २०३६ सालमा घर छोडेर भूमिगत राजनीतिमा होमिएकी शाक्य नयाँ नेतृहरूको प्रेरणाकी स्रोत पनि हुन् । उनले तत्कालीन समयमा मेची अञ्चलको महिला संघको नेतृत्वसमेत गरिन् । पार्टीको पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी शाक्य नवौँ अधिवेशनबाट एमालेको उपाध्यक्ष बनेकी थिइन् । छोटो अवधि भए पनि उनी बागमती प्रदेशको मुख्यमन्त्रीसमेत भएकी थिइन्। १० बुँदेबाट एमालेमै समाहित बनेकी शाक्य पनि उपाध्यक्षमै आफूलाई सुरक्षित गर्ने पक्षमा छिन् ।

४, सुवासचन्द्र नेम्वाङ

विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका सुवास नेम्वाङ विसं.२०२९ सालमा अनेरास्ववियुको अध्यक्ष बनेका थिए। उनी कानुन व्यवसायी र प्राध्यापनमा समेत संलग्न थिए । नेपाल बार एसोसिएसनको महासचिव, संविधानसभा अध्यक्ष नेम्वाङ यसअघिको व्यवस्थापिका संसद्मा सभामुख थिए। २०४८ र ०५२ सालमा उनी दुई पटक राष्ट्रिय सभाको अध्यक्ष भए । यस पटकको महाधिवेशनमा उनी वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन्।

५, प्रदीप ज्ञवाली

गुल्मीको रुरुमा जन्मिएका ज्ञवाली नेकपा एमालेका प्रभावशाली नेता हुन् । उनी १५ वर्षको उमेरबाटै भूमिगत राजनीतिमा प्रवेश गरेका थिए । २०३० सालमा अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघको प्रारम्भिक कमिटीबाट उनले औपचारिक राजनीति सुरु गरे । ज्ञवाली ०६३ सालमा पर्यटन मन्त्रीसमेत बनेका थिए । उनी माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि सरकारी वार्ता टोलीको सदस्यसमेत बनेका थिए । उनी पनि महाधिवेशनका चर्चित नेतामध्ये एक हुन् ।

६, विष्णु पौडेल 

पौडेल २०३८ सालदेखि भूमिगत राजनीतिमा सक्रिय थिए । २०५४ सालमा छैटौँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भए । उनी जलस्रोत मन्त्री, रक्षा मन्त्री र २०७२ सालमा संविधान जारी भएपछि बनेको केपी ओलीको सरकारकामा अर्थमन्त्रीसमेत नियुक्त भएका थिए । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछिपौडेलको छवि बिग्रिँदो छ ।यद्यपि उनी १० औँ महाधिवेशनमा महासचिवका आकांक्षी हुन् ।

७, खगराज अधिकारी

अधिकारीले २०४० मा पृथ्वीनारायण क्याम्पस पोखराको स्वबियु सभापति हुँदै अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष थिए । ५ पटकसम्म जेल जीवन बिताएका उनी एमाले कास्की सचिव हुँदै जिल्ला कमिटी अध्यक्ष पनि भएका थिए । तेस्रो पटक ओलीले गरेको मन्त्रीपरिषद्मा उनी गृहमन्त्री रहेका थिए । एक सार्वजनिक कार्यक्रममा ‘डा. गोविन्द केसीलाई मर्न दिनुपर्ने’ तर्क अभिव्यक्त गरेपछि उनी विवादमा तानिएका थिए ।उनी पनि महाधिवेशका चर्चित तथा पदाधिकारीका दाबेदार नेताका रुपमा स्थापित छन् ।

८, भीम आचार्य

धनकुटामा जन्मिएका आचार्य २०५१ देखि विद्यार्थी राजनीति गर्दै आएका हुन् । उनी सन् २०५४ देखि एमाले राजनीतिमा सक्रिय छन् । २०७१ सालमा सुशील कोइराला नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका थिए । उनी २ महिना प्रदेश १ को मुख्यमन्त्रीसमेत भएका थिए । आचार्य पनि महाधिवेशनका चर्चितमध्येका एक नेता हुन् ।

९, ईश्वर पोखरेल

ओखलढुङ्गामा जन्मिएका पोखरेल १६ वर्षको उमेरदेखि कम्युनिस्ट आन्दोलनमा होमिएका थिए । विसं २०२६ देखि नेपाली राजनीतिमा निरन्तर सक्रिय उनी एमालेको आठौँ र नवौँ महाधिवेशनबाट महासचिवमा निर्वाचित भई पार्टीको केन्द्रीय संगठन विभाग प्रमुख, केन्द्रीय सचिवालय सचिव, केन्द्रीय प्रचार विभाग प्रमुख, विभिन्न जनसंगठनका इन्चार्ज, उपत्यका इन्चार्ज र पार्टी केन्द्रीय कार्यालय प्रमुखजस्ता जिम्मेवारी वहन गरिसकेका छन् । यस पटक पनि अध्यक्षमा सर्वसम्मतले केपी ओली नै दोहोराउनु पर्ने भन्दै उनले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन्। 

१०, लेखराज भट्ट

कैलाली भट्ट २०२९ मा राजनीतिमा प्रवेश गरेका हुन् । २०५१ मा नेकपा– माओवादीको एक पूर्ण–समय सदस्य भएका थिए । उनी २०५७ मा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्य बनेका थिए । उनी माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वका क्रममा ६ महिना जेल परेका थिए । उनी प्रचण्डको नेतृत्वको सरकार हुँदा श्रम मन्त्रीसमेत भएका थिए । नेकपा फुटका समयमा सांसद पद त्यागेर एमालेमा समाहित बनेका उनी दशौँ महाधिवेशनबाट राजनीतिक क्षतिपूर्ति उठाउन चाहन्छन् ।

११,घनश्याम भुसाल 

कपिलवस्तुका भुसाल २०३४ सालदेखि राजनीतिमा सक्रिय छन् । उनी २०३७ देखि २०४६ सालसम्म पटक–पटक गरेर झन्डै तीन वर्ष जेल परेका थिए । २०७१ सालमा भएको एमालेको नवौँ महाधिवेशनबाट उनी उपमहासचिवमा निर्वाचित भएका थिए । उनी कृषि तथा पशुपन्छी विकास मन्त्रीसमेत भएका थिए । मार्क्सवाद दर्शनको गहिरो विश्लेषण गर्न सक्ने उनी केपी ओलीकै कट्टर आलोचकसमेत हुन् । उनी पनि १० औँ महाधिवेशनमा चर्चामा रहेका नेता हुन् । 

१२,योगेश भट्टराई

ताप्लेजुङको साँघुमा जन्मिएका योगेश भट्टराई विद्यालय पढ्ने समय देखिनै वामपन्थी राजनीतिप्रति झुकाव राख्थे । २०५१ सालमा उनी अनेरास्ववियूको अध्यक्ष भएका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यको लागि निर्वाचित भएका थिए । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटना मृत्यु भएपछि भट्टराईलाई रिक्त रहेको पदमा दोस्रो ओली मन्त्रिमण्डलले पर्यटन मन्त्रीको रूपमा नियुक्त गरेको थियो। महाधिवेशनमा सचिवमा उनले दाबी गरेका छन्।

१३, रामबहादुर थापा बादल

जनयुद्धको नेतृत्व गरेका बादल माओवादी शान्ति प्रक्रियामा आएपछि, भएको पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा रक्षा मन्त्री बनेका थिए। जनयुद्धकलादेखि शान्ति प्रक्रियासम्म आइपुग्दा उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका इमान्दार सहयोगीका रुपमा चिनिएका थिए। नेकपा फुटको समयमा एमालेमा समाहित भएका उनले१० औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन्।

१४, पद्मा अर्याल

वि.सं. २०३९ सालदेखि नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमार्फत उनको राजनीति सुरु गरेकी थिइन्। उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जनताको प्रत्यक्ष मतदानबाट संसद्मा निर्वाचित हुने मात्र आठ जना महिलाहरू मध्ये एक थिइन्।उनी पनि महाधिवेशनमा पदाधिकारीकी दाबेदार हुन् ।

१५, शिवमाया तुम्बाहाम्फे

तेह्रथुममा जन्मिएकी तुम्बाहाम्फे २०३५/०३६ सालदेखि राजनीतिमा लागेकी हुन्। पारिवारिक पृष्ठभूमी राजनीतिकै भए पनि सुरुका दिनमा उनले प्राध्यापन र वकालत पेसा गरेकी हुन् । नेकपाकी समानुपातिक सांसदसमेत रहेकी उनलाई उपसभामुखबाट राजीनामा दिन नेकपा सचिवालयले आदेश दिएको थियो । तर, उनले ‘राजीनामा दिन्न, बरु महाअभियोग लगाऊ’ भनेर आफ्नै पार्टीलाई चुनौती दिएकी थिइन्। पछि उपसभामुखबाट राजीनामा दिएर उनले विभिन्न मन्त्रालयमा मन्त्रीको जिम्मेवारी लिएर काम गरेकी थिइन्।उनी पनि महाधिवेशनकी चर्चित नेतृमध्ये एक हुन् ।

१६,पृथ्वी सुब्बा गुरुङ

गुरुङ पञ्चायत कालमै राजनीतिमा होमिएका थिए । शिक्षण पेसामा आबद्ध उनी २०३४ सालदेखि राजनीतिमा सक्रिय छन् । उनले २०३७ मा तत्कालीन नेकपा मालेको सदस्यता लिएका थिए । जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा विजयी भएका थिए । उनी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत बनेका थिए । २०७८ जेठ २७ मा गण्डकी प्रदेश सभाको विश्वासको मत पाउन नसकेपछि उनी पदमुक्त भएका थिए।उनी पनि महाधिवेशनमा चर्चामा रहेकामध्ये एक नेता हुन् ।

१७, गोकुल बास्कोटा

काभ्रेपलान्चोक–२ बाट प्रतिनिधि सभा सदस्यको रूपमा निर्वाचित भएका थिए । पत्रकारिता हुँदै राजनीतिमा होमिएका बास्कोटा केपी शर्मा ओलीका विश्वासिलो पात्रको रुपमा चिनिन्छन् । उनी नेपाल कम्युनिस्ट पार्टीको सदस्य र ओली सरकारको सञ्चार र सूचना प्रविधि मन्त्रीसमेत थिए। रुखो, छुच्चो बोली छुद्र व्यवहार र ७० करोड घुस काण्डका कारण चर्चामा आएका थिए।पार्टी अध्यक्ष ओलीका विश्वास पात्रका रुपमा स्थापित बाँस्काेटा पनि महाधिवेशनमा सर्वाधिक चर्चामा रहेका नेता हुन् ।

१८, शेरधन राई

भोजपुरको आमचोक गाउँपालिकामा जन्मिएका राई २०४४ सालदेखि राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । राईले तीन वर्ष भूमिगत जीवन बिताएका थिए । २०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा राई दोस्रो पटक संसद् बनेका थिए । २०७४ माघ २ गते १ नं प्रदेशको मुख्यमन्त्री निर्वाचित भएका थिए । उनले महाधिवेशनमा सचिवबाट पछि नहट्ने अडान लिएका छन् ।

१९, विन्दा पाण्डे

विभिन्न राष्ट्रिय दैनिक पत्रिका र अनलाइनहरूमा लेखहरू प्रकाशित गराउँदै आएकी उनी लामो समयदेखि महिला हकहितका तथा मजदुरहरूको विषयमा आवाज उठाउँदै आएकी छिन् । पाण्डे एमालेकी पोलिटव्युरो सदस्यसमेत रहेकी पाण्डे पछिल्लो समय नेकपा एमालेको राजनीतिमा सक्रिय छन् ।यस महाधिवेशनमा उनको उपमहासचिवमा दाबी रहँदै आएको छ ।

२०, महेश बस्नेत

निर्वाचनमा पराजित युवा संघ अध्यक्ष बस्नेत जनताबाट मात्र हैन पार्टी पंक्तिबाटसमेत अस्वीकृत पात्र हुन् । पटक पटक विवादमा आइरहने बस्नेत ओलीका विश्वासपात्र रुपमा चिनिन्छन् । उनी संविधान सभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट पराजित भएका थिए । कुनै समयमा विराटनगरको गुण्डानायके तथा नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेतलाई सार्वजनिक समर्थन दिएका थिए । उनले पनि १० औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी घोषण गरिसकेका छन् ।

२१, कोमल ओली 

रेडियो नेपालमा सञ्चारकर्मीको रुपमा काम गरेकी ओली चर्चित लोक गायिका पनि हुन् । २०७३ सालदेखि राप्रपा नेपालमा पार्टी प्रवेश गरेर राजनीतिमा सक्रिय भएकी हुन् । पछि उनी नेकपा एमाले पार्टी प्रवेश गरिन् । उनी एमालेकी समानुपातिक सांसद् हुन् । कोमलको एमाले प्रवेश जता मल्को उतै ढल्को गर्ने अवसरवादी राजनीतिको एक सामान्य रूप भनेर एमाले भित्रै पनि आलोचित हुने गरेकी छन् ।उनले १० औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा दाबी गरेकी छिन् ।

 

Logo