महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु

महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु


नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अस्ट्रेलिया नेपाल अल्मुनाई संघले मैत्रीपूर्ण फुटबल खेल खेल्दै शनिवार बिहान महिला हिंसाविरुद्धको १६ दिने अभियानको सुरुआत गरेका छन् । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाली खेल पत्रकारहरूको छाता संगठन एनएसजेएफले ३–१ को जित निकाल्यो । ३० मिनेटको दुई हाफमा गरी कूल एक घण्टा खेलाइएको खेलमा दुवै टिममा महिला र पुरुष खेलाडी एकसाथ मैदान उत्रिएका थिए ।

‘हाम्रो गोल महिला हिंसाविरुद्धको बोल’ भन्ने नारासहित खेलिएको खेल महिला अधिकारको पक्षमा लामो समयदेखि काम गर्दै आएको गैह्र सरकारी संस्था साथी, एनएसजेएफ, नेपालस्थित अस्ट्रेलियाली दूतावास, अस्ट्रेलिया नेपाल अल्मुनाई संघ र एन्फाको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

फुटबल नेपालमा सबभन्दा लोकप्रिय खेल भएकाले अभियानको सुरुआत मैत्रीपूर्ण खेलबाट गरिएको साथीकी अध्यक्ष सजनी अमात्यले बताइन् । दुवै टोलीमा महिला र पुरुषको समान प्रतिनिधित्वले लैंगिक समानताको पक्षमा बलियो सन्देश दिएको उनको भनाई थियो ।

साथीकी पूर्व अध्यक्ष वन्दना राणाले महिला र पुरुष राष्ट्रिय खेलाडीका लागि समान तलबको व्यवस्था गरेकोमा एन्फाको प्रशंसा गर्दै १० वर्षअघि साथीले एन्फासँगको सहकार्यमा लैंगिक समानताको अभियान सुरु गरेको स्मरण गरिन् । 

राणाले मैत्रीपूर्ण खेलको नतिजा जस्तो आए पनि लैंगिक समानताको अभियानले जित्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, 'खेलको नतिजा जस्तो आए पनि आजको लागि हाम्रो लक्ष्य भनेको मैदानभित्रमात्र नभई सबैतिर फेयर प्लेको सन्देश दिँदै महिला हिंसाविरुद्ध प्रतिबद्धता जनाउनु हो ।'

कार्यक्रममा बोल्दै नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले दशकौँदेखि लैंगिक समानताका लागि थुप्रै प्रयास भइरहे पनि अझैसम्म महिलाविरुद्ध हिंसा भइरहेको विषयले आफूलाई अत्यन्तै निराश पार्ने गरेको बताइन् । 

'महिला हिंसाविरुद्ध १६ दिने अभियान चलाइन थालेको यो तीन दशक भयो । अस्ट्रेलिया होस या नेपाल अझैसम्म पनि प्रत्येक तीनमध्ये एक महिला लैंगिक हिंसाको सिकार भइरहेका छन् । महिला र केटीहरूमाथिको हिंसालाई अब रोकौँ', उनले आह्वान गरिन् ।

लैंगिक हिंसाको पूर्ण अन्त्यका लागि सबैको प्रयास आवश्यक हुने बताउँदै साथीकी अध्यक्ष अमात्यले भनिन्, महिलामाथि हुने सबै खाले हिंसाको पूर्ण अन्त्य गर्ने हाम्रो लक्ष्यप्राप्तीका लागि पुरुष प्रधान सोचमा परिवर्तन ल्याउनु जरुरी छ । आज मैदान उत्रिएका दुवै टोलीलाई प्रतिनिधित्व गरेका महिला र पुरुष खेलाडीको उपस्थितिले समानताको बलियो सन्देश दिएको छ ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले साथीसँगको सहकार्यमा नेपाली फुटबलको सर्वोच्च निकायले महिला हिंसाविरुद्धको अभियान लामो समयदेखि सुरु गरेको बताए । 

'अमेरिकामा समेत महिला खेलाडीले समान तलबका लागि संघर्ष गरिरहेका बेला हामीले महिला राष्ट्रिय खेलाडीलाई पुरुष खेलाडीसरह तलबको व्यवस्था गरेका छौँ । मलाई साथीसँगको सहकार्यमा दश वर्षअघि एन्फाले महिला हिंसाविरुद्धको अभियान सुरु गरेको अहिले पनि स्मरण छ । त्यसैको फल हो, आज महिला र पुरुष खेलाडीको तलब समान गरिएको छ', तुलाधरले भने ।

Logo