आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु

आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु


पूर्वी चितवनको राप्ती नगरपालिकामा एउटा घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।

जिल्लाको विकट क्षेत्र राप्ती नगरपालिका–१ मैनाटारस्थित जितबहादुर रुम्बाको घरमा शनिवार बिहान करिब १० बजे आगलागी भएको थियो । आगलागीमा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

आगलागीमा रुम्बाका छोरातर्फको नाति तीन वर्षीय सुरज रुम्बा र उनकै छोरीतर्फको तीन वर्षीया नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको अधिकारीले बताए । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको उनले बताए ।

काठ र टिनले बनेको घरमा आगलागी भएको हो । सोलारको ब्याट्री सर्ट भएर आगलागी भएको उनले बताए ।

घरका अभिभावक बाहिर गएका बेला घरमा आगलागी भएको थियो । विकट क्षेत्र भएकाले खबर बाहिर आउन ढिला भएको हो । आगलागीबाट घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

Logo