कांग्रेस कास्कीको सभापतिमा बराल विजयी

कांग्रेस कास्कीको सभापतिमा बराल विजयी


नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन् । शनिवार राती सम्पन्न मतगणनाबाट बराल ८० मतको फरकले विजयी भएका हुन् । उनले ९९५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सुदिपमोहन भट्टराईले ९१५ मत ल्याए । दोश्रो चरणको मतदानमा शनिवार १ हजार ९ सय २६ मत खसेको थियो ।

कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत प्राप्त गर्नुपर्छ । पहिलो चरणमा ५ उम्मेदवार मध्ये कसैले ५० प्रतिशत मत कटाउन सकेनन् । त्यसैले धेरै मत ल्याएका आधारमा २ जना अन्तिम प्रतिस्पर्धामा आएका हुन् ।

पहिलो चरणमा पनि बरालले नै सर्वाधिक मत ल्याएका थिए । ‘रिङ आउट’ भएका अन्य ३ जनाले भट्टराईलाई जिताउन विज्ञप्ति जारी गरे पनि त्यो अभियान सफल हुन सकेन । आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतम पहिलो चरणबाटै बाहिरिएका थिए ।

बराल केन्द्रमा शेरबहादुर देउवा निकट मानिन्छन् भने भट्टराई संस्थापन इतरका हुन् । संस्थापन पक्षको कास्कीमा पहिलो जीत हो । निर्वाचित भएपछि बरालले गुटको पछि नलागी कांग्रेस निर्माणमा जुट्ने प्रतिबद्धता जनाए ।

‘मलाई विश्वास गरेर विजयी गराउनुभएको छ । म विश्वास टुट्न दिन्नँ,’ उनले भने, ‘कांग्रेस निर्माणको अभियानमा सुदीप जी र म सँगै हुन्छौँ । हामी एउटै डुंगामा छौँ ।’ बराल पोखराको भद्रकाली क्याम्पसको संस्थापक क्याम्पस प्रमुख थिए भने शिक्षक संघको नेतृत्व गरेर पनि काम गरिसकेका छन् ।

पार्टीभित्र बौद्धिक नेताको छवि बनाएका बराल कांग्रेसको नवौँ र दसौँ अधिवेशनमा कास्की क्षेत्र नम्बर २ को सभापतिमा पराजित भएका थिए । विशेष गरी नेताहरूलाई उद्यमशील बनाउनुपर्ने र एग्रो टुरिजमलाई अभियानको रुपमा उनले चलाएका छन् ।

पराजित भएका भट्टराईले पनि यो विधान कार्यान्वयन मात्रै भएकोले आफू कांग्रेसको अभियानमा निरन्तर रहेको बताए । ‘यो परिणामले कांग्रेसलाई नयाँ अध्यायको रूपमा परिणत गरेको छ । खस्केको जनमत र साखलाई उचाइमा पुर्याउन नयाँ नेतृत्व सफल होस्,’ उनले भने, ‘हामी लोकतन्त्रवादी हौँ । विधानले व्यवस्था गरेको वैधानिक बाटोबाट नेतृत्व चयन गर्यौं । तथापि कांग्रेसको उचाइ प्राप्त गर्न नयाँ टिमलाई शुभकामना व्यक्त गर्दछु ।’ 

पदाधिकारी र सदस्यहरूको मतगणना भने जारी छ । मध्यान्नसम्म सबै मत परिणाम आई सक्ने कांग्रेस कास्कीले जनाएको छ ।

Logo