एमालेमा जनवाद सकियो अब केपी ओलीको डनवाद सुरु भयो: गगन थापा

एमालेमा जनवाद सकियो अब केपी ओलीको डनवाद सुरु भयो: गगन थापा


नेपाली काँग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहेको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभई ओली शेसन चलिरहेको बताएका छन् ।

आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले चितवनमा भइरहेको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभई ओली शेसन चलिरहेको बताएका हुन् । उनले नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिस्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको बताए । उनले नेकपा एमालेमा अब जनवाद सकिएको र केपी शर्मा ओलीको डनवाद सुरु भएको आरोप लगाए । नेता थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरेका कामहरू हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन जस्तो लागेको भन्दै ओलीको  आदर्श पुरुष हुन सेन रहेको आरोप लगाए । हुन सेनको विरुद्धमा लेख्ने र बोल्नेले आफ्नो काम छोडेर बिदा हुनुपरेको भन्दै नेता थापाले ओलीको विपक्षमा खडा हुने व्यक्ति मञ्चबाट नै भीम रावलको जसरी लेखेटिने बताए ।

नेता थापाले भने, ‘बन्द सत्र कस्तो भइरहेको रहेछ भनेर जान्न चासो लाग्यो । त्यो पनि बन्द शेसन होइन, एक प्रकारले ओली शेसन नै चलिरहेको थियो । मैले बिहान जे भनेको थिएँ, कि नारायणीको किनारमा त्यहाँ कोही पनि मानिस स्वतन्त्र भएका छैनन् । त्यहाँ प्रतिस्पर्धा चलिरहेको छ । त्यो प्रतिस्पर्धामा भाग लिन्न भनेर एक जना उठेछन्, भीम रावल । भीम रावलले झन्डै भकुराइ खाएर, झन्डै पिटाइ खाएर अहिले हाम्रो प्रहरीले भीम रावल बसेको होटेललाई सुरक्षा दिइरहेको अवस्था छ । विधिवत् रूपमा नेपाल कम्युनिस्ट पार्टी एमालेबाट हिजोदेखि जनवाद सकियो, त्यहाँ अब केपी ओलीको डनवाद मात्रै बाँकी छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीको आदर्श पुरुष कम्बोडियाका प्रधानमन्त्री हुन सेन हो । हुन सेन गएको २० औँ वर्षदेखि कम्बोडियाको प्रधानमन्त्री हुनुहुन्छ । कम्बोडियामा प्रजातन्त्र छ, प्रेस पनि छ, अदालत, अख्तियार सबै छ, चुनाव पनि हुन्छ । २५ वटा कम्बोडियाको पार्टीले चुनावमा भाग लियो । चुनावमा भाग लिनु भन्दा केही समयअघि मात्रै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षि दलका नेतालाई राजद्रोहको मुद्दा लगाइदिए । त्यो पार्टीले अर्को नेता चुन्यो, उसलाई जेल हालियो । तै पनि पार्टीले चुनावमा भाग लिन्छु भन्दा पार्टीलाई प्रतिबन्ध लगाइयो । १२५ निर्वाचन क्षेत्रमा २५ पार्टीले भाग लिँदा हुन सेनको पार्टीले १२५ सिटमा नै जित निकाल्यो । कम्बोडियामा प्रेस छ, तर हुन सेनको खिलाफमा लेख्ने प्रेस भीम रावललाई लखेटिएको जस्तै लखेटिन्छ । उसको विरुद्ध फैसला गर्ने न्यायाधीशले त्यही दिनबाट अदालत छोडेर जानुपर्छ ।’

नेता थापाले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई काँग्रेसले तह लगाउने बताए । उनले १० औँ महाधिवेशनपछि नेतृत्वमा आउने एमालेले जनवाद गुमाएर देशको प्रजातन्त्र सक्ने बाटोमा अघि बढेर आउने आरोप लगाए । नेता थापाले एमाले अहिले बरालिएको भन्दै बरालिएको एमालेलाई सही ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने ल्याकत काँग्रेसले राख्नु पर्ने बताए ।  

नेता थापाले भने, ‘हामीले के कुरा बुझ्नु पर्छ भने नेकपा एमालेले राष्ट्रिय राजनीतिमा लिने पोजिशन, उसले लिने राजनीतिक कार्यदिशाले नेपाली काँग्रेससँग धेरै ठूलो महत्त्व राख्छ । चितवन महाधिवेशनपछि आएको नेकपा एमालेले आफ्नो भित्रको जनवादलाई सकाएको मात्रै होइन, देशको प्रजातन्त्रलाई सक्ने बाटोमा यो अघि बढेर आउँछ । त्यो शक्तिको रूपमा आउँछ । अब नेकपा एमालेसँग केही समय हामीले जुद्दै गर्दा हिजो माओवादीलाई हतियारबाट बाहिर निकालेर संसदीय राजनीतिमा ल्याएको जस्तै एमाले बरालियो, बरालिएको एमालेलाई ठेगानमा ल्याउने काम नेपाली काँग्रेसले गर्न सक्नुपर्छ । नचाहिने कुरा गरेमा हप्काउने तागत काँग्रेसले राख्नुपर्छ । एमाले हाम्रो शत्रु होइन तर बरालिएको एमालेलाई ठिक ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने काम काँग्रेसको हो । यो तागत नेपाली काँग्रेसले अबको अधिवेशनबाट ल्याउनु पर्छ ।’

कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा नेतृत्व फेरिनु पर्ने बताए । उनले पार्टीको विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरुरी रहेको बताए । नेतृत्व कमजोर भएकोले नै गत चुनावमा नेपाली काँग्रेस १६५ सिटमध्ये २३ सिटमा खुम्चिएको भन्दै नेता सिंहले पार्टीलाई नियमले चलाउन नेतृत्व परिवर्तनको विकल्प नरहेको बताए ।

नेता सिंहले भने, ‘झन्डै दुई तिहाइ मत हामीले प्राप्त गर्नुपर्ने हो, १६५ मा २३ सिटमा झर्ने ?  यस्तो नेतालाई हामीले फेरि राख्यो भने अब स्थानीय निर्वाचन आउँदैछ, प्रान्तीय निर्वाचन आउँदैछ, संघीय निर्वाचन आउँदैछ । जो कि जनताबाट जसको नेतृत्वमा काँग्रेसको नेतृत्वमा संविधानसभाबाट जारी गरेको संविधानलाई संस्थागत गर्न मत माग्न जाँदा भोट हामीलाई आउनु पर्नेमा नआएको कारणले गर्दा नेतृत्वमा कमजोर छ भन्ने कुरा प्रमाणित हुन्छ । नेतृत्वको परिवर्तन आवश्यक छ । नेतृत्व परिवर्तनमा साथ छ कि छैन भन्ने कुरा काठमाडौं जिल्लाको अधिवेशनको मत परिणामबाट थाहा हुन्छ । बेथितीबाट पार्टीलाई विधि, नियमले चलाउन नेतृत्व परिवर्तन हुनै पर्छ ।’

नेता सिंहले प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसभित्र भइरहेको कुसंस्कार चिर्न अबको नेतृत्वले काम गर्ने र पुरानो नेतृत्वलाई हटाउनु पर्ने भन्दै नयाँ नेतृत्व चयनको लागि मत दिन नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

Logo