कांग्रेस वडा अधिवेशन: सर्लाहीमा गोली चल्यो

कांग्रेस वडा अधिवेशन: सर्लाहीमा गोली चल्यो


नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीको बलरामा गोली चलेको छ । जिल्लाको बलरा नगरपालिका–९, अचलगढमा वडा अधिवेशनको क्रममा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले गोली चलाएका हुन् ।

आइतबार बलारा नगरपालिकाको ९ नम्बर वडाको अधिवेशन स्थलमा पुगेका मन्त्री सिंह र स्थानीय कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि मन्त्रीका पिएसओले एक राउन्ड हवाई फाएर गरेको श्रोतले जनाएको छ । 

स्थानीय कांग्रेस कार्यकर्ताका अनुसार पूर्व वडा सभापति मतदान स्थलमा उपस्थित नभएपछि निर्वाचन प्रक्रिया नै अन्योलमा परेको अवस्थामा मन्त्री सिंह केही कार्यकर्ता लिएर अचलगढ मतदान केन्द्र पुगेका थिए । लगत्तै स्थानीय कांग्रेस नेता कार्यकर्ताले उनलाई मतदान स्थलमा जान रोके । त्यसपछि स्थानीय प्रशासनको सहयोगमा मतदान स्थल प्रवेश गरेका उनले मतदान अधिकृतलाई आफ्नो ढंगले प्रक्रिया अगाडि बढाएको आरोप लगाउँदै गालीगलौज गरेको प्रत्यक्षदर्शीको भनाइ छ । 

मतदान अधिकृतलाई गालीगलौज गर्दै मतदान स्थलको टेबल कुर्सी फाल्न थालेपछि स्थानीय कांग्रेस नेता कार्यकर्ता मन्त्री सिंह र उनीसँगै गएका कार्यकर्ता माथि जाइलागेका थिए । सोही क्रममा सिंहसँगै रहेका  पिएसओ प्रहरी हवलदार रामचन्द्र खंगले एक राउन्ड गोली चलाएका हुन् । त्यसपछि भीड तितरवितर भएको प्रहरीले जनाएको छ ।

भडले प्रहार गरेको कुर्सीले लागेर प्रहरी हवलदार खंगको टाउकोमा समेत चोट लागेको छ । सोही क्रममा अर्का एक जना कांग्रेस कार्यकर्ता रामचन्द्र महतोसमेत घाइते भएको प्रहरी जनाएको छ । 

मन्त्री सिंहका पिएसओले गत २ मंसिरमा पार्टी कार्यालयमा कांग्रेसका दुई पक्षबीच छलफलका क्रममा भएको विवादमा समेत पेस्तोल निकालेका थिए । त्यसवेला समेत आक्रोशित नेताकार्यकर्ताको भीडले मन्त्री सिंह, उनका पिएसओ र तत्कालीन निर्वाचन अधिकृत दिवाकर राज पाण्डेमाथि कुटपिट गरेका थिए । अहिले घटनास्थलको अवस्था सामान्य रहेको जिल्ला प्रहरी  कार्यालयका सूचना अधिकारी एवं डिएसपी माधव प्रसाद बुडाथाकीले जानकारी दिए । डिएसपी बुडाथोकीले भने सामान्य वादविवाद मात्र भएको दाबी गरे । 

यता मन्त्री सिंहले प्रतिनिधिसभाका सांसद अमरेश सिंह पक्षका केही मानिसले आफूखुसी मतदान स्थल कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।  आफूलाई मतदान स्थलमा प्रवेश समेत नदिएको उनले बताए ।  आक्रमणबाट आफूसँगै गएका एक जना सहयोगीको हात भाँचिएको र पिएसओको टाउकोमा चोट लागेको उनको दाबी छ ।  

निर्वाचन प्रक्रिया अगाडि बढाउन नपाएको लबरा नगरपालिका-९ को अधिवेशन स्थगित भएको जिल्ला निर्वाचन अधिकृत भरत राउतले जानकारी दिए । जिल्लाका एक दर्जन वडामा सर्वसहमतिको अवस्था नभएपछि मतदानको प्रक्रिया सुरु गरिएको र अन्य स्थानमा शान्तिपूर्ण ढंगले अधिवेशन भइरहेको मतदान अधिकृत राउतले बताए । 

प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । सर्लाहीमा लामो समयदेखि जिल्ला सभापति नागेन्द्र कुमार राय र संस्थापन ईतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण रायबीच टकराब छ । जिल्ला अधिवेशनका दुवै नेता जिल्ला सभापतिको उम्मेदवार छन् । 

Logo