कांग्रेसमा परिवार र वंश हाबी: एकै परिवारका ३ प्रतिनिधि (भिडियाेसहित)

कांग्रेसमा परिवार र वंश हाबी: एकै परिवारका ३ प्रतिनिधि (भिडियाेसहित)


सत्तरी वर्ष भन्दा लामो इतिहास बोकेको नेपाली कांग्रेसले सम्मुनत लोकतान्त्रिक व्यवस्थामाथि आस्था राख्छ । तर कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रदेखि तल्लो तहसम्मै ‘वंश र परिवारवाद’ का अंश यस पटक बढेको छ । पारिवारिकविरासतको विरोधमा पार्टीभित्र बलियो मत छ । तर महाधिवेशनमा भने शिर्षनेताहरूले नै आफ्ना श्रीमती र छोराछोरीलाई सक्रिय राजनीतिमा अगाडी बढाएका छन् ।पार्टीको नेतृत्व चयनमा विरासत हाबी हुँदैछ ।

१४ औँ महाधिवेशनबाट नेतृत्वमा आउन नसके सक्रिय राजनीतिबाटै बाहिरिनुपर्ने जोखिममा रहेका सबैजसो नेताहरूले आफ्नै घरबाट महाधिवेशन प्रतिनिधि बनाउँदा पार्टी भित्र इमानदार, निष्ठावान र सक्षम कार्यकर्ता भने पछाडि परेका छन् । 

नेताहरू आफू रहँदासम्म आफैँ र आफू नरहेको अवस्थामा पनि आफ्नै सन्तानले पार्टी कब्जा गरुन् भन्ने चाहनाले कांग्रेस पार्टीमा परिवारवाद हाबी हुँदै गइरहेको छ । परिवारले नै संगठन कब्जा गर्ने र नियन्त्रणमा राखेर पार्टी चलाउने गलत अभ्यास नेपाली कांग्रेसमा बढ्दै गइरहेको छ ।

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफू जीवित हुँदै छोरी सुजाता कोइरालालाई पार्टी र सत्ता राजनीतिमा अघि सारेका थिए। अहिले त्यसैको सिको गर्दै अन्य नेताहरूले पनि परिवारका सदस्यलाई अगाडी बढाएका छन्। 

चिकित्सा पेसामा आधा जीवन बिताएका शशांक कोइराला १२ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । १३ औँ महाधिवेशनमा उनी महामन्त्री नै बने । अहिले पनि उनी सभापतिका बलिया आकांक्षी हुन् ।यी सबैका पछाडि बीपी विरासत नै मुख्य कारण हो । किनकि उनी बीपी कोइरालाका छोरा हुन्।

नेतृत्व चयनमा सैद्धान्तिक र वैचारिक योगदानको मुल्यांकन हुनुपर्छ । परिवारको विशिष्ट योगदानकै आधारमा दोस्रो र तेस्रो पुस्ताले निरन्तर नेतृत्व गर्ने संस्कारले पार्टीलाई भने कमजोर बनाउँदै लैजान्छ । आज हामी पारिवारिक विरासतकै आधारमा यस पटकको १४ औ महाधिवेशन प्रतिनिधि बनेका ६ नेताका श्रीमती र छोराछोरीका बारेमा चर्चा गर्नेछौँ।

१. सभापति शेरबहादुर देउवाकी श्रीमती डा. आरजु राणा देउवा र छोरा जयवीरसिंह देउवा 

आसन्न महाधिवेशनमा फेरि पनि सभापतिमै दोहोरिन चाहेका देउवाले श्रीमती र छोरालाई पनि सक्रिय राजनीतिमा ल्याएका छन् । डडेलधुराबाट महाधिवेशन प्रतिनिधिमा खुला (महिला)तर्फ डा. आरजु सर्वसम्मत चयन भएकी हुन् । छोरा जयवीर सिंहले पनि यस पटक डडेलधुराबाट क्रियाशील सदस्यता लिएका छन् । २८वर्षीय जयवीरले बेलायतको युनिभर्सिटी अफ योर्कबाट राजनीति शास्त्र विषय अध्ययन गरेका छन् । २० औ वर्ष सिङ्गो पार्टी कब्जा गरेको भन्दै देउवा१० औँ महाधिवेशनदेखि कोइराला परिवारविरुद्ध लड्दै आएका हुन् । १३ औँ महाधिवेशनमा कोइराला परिवारबाट उम्मेदवार कोही नहुँदा उनले पार्टीको नेतृत्व गर्ने मौका पाएका थिए । पार्टी विरासतले होइन, क्षमता र निष्ठायुक्त नेतृत्वले चल्छ भनेर देउवाले एजेन्डा नै बनाएका थिए । विरासतबाट बिरक्तिएका कार्यकर्ताको समर्थनमा नै उनी नेतृत्वमा पुगेका हुन् । तर अहिले सभापति एवं प्रधानमन्त्री देउवा आफैँ पारिवारिक विरासत फैलाउन लागिपरेका छन् ।

२, प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंह र छोरा प्रभाषमान सिंह महाधिवेशन प्रतिनिधि

सभापतिका आकांक्षी प्रकाशमान सिंहकी श्रीमती र छोरा पनि १४ औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट सिर्जना र प्रभाषमान सर्वसम्मतरुपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । यस पटक प्रकाशमान आफैँ सभापतिका आकांक्षी बनेपछि सिर्जना महाधिवेशन प्रतिनिधि चुनिएकी हुन् । प्रभाषमान तरुण दलको केन्द्रीय पार्षदसमेत बनेका थिए । अस्ट्रेलियाबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनी अब भने पार्टीको सक्रिय राजनीतिमै होमिएका छन् । योसँगै प्रकाशमानको घरबाट तीन जना महाधिवेशन प्रतिनिधि बनेका छन्।

३, रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल

वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पनि सक्रिय राजनीतिमा आएकी छिन्। आसन्न महाधिवेशनमा पार्टीको सभापतिका आकांक्षी पौडेलकी छोरीले कास्की क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि जितेकी हुन् । उनले महिलातर्फ खुला प्रतिस्पर्धा गरेरै महाधिवेशन प्रतिनिधि जितेकी हुन् । ४ पदका लागि ११ उम्मेदवार मध्ये संज्ञाले दोस्रो लोकप्रिय मत पाएकी छिन् । 

४, विजयकुमार गच्छदारका छोरा सुवास गच्छदार

कांग्रेस उपसभापति विजयकुमार गच्छदारका कान्छा छोरा सुवास पनि कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका छन्। पार्टीको केन्द्रीय उपसभापतिका आकांक्षी गच्छदारले आफ्ना छोरालाई मोरङको क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि बनाएका हुन् । सुवास सो क्षेत्रबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । बेलायतबाट इलेक्ट्रिकल इलेक्ट्रोनिक्समा इन्जिनियरिङ गरेका ४० वर्षीय गच्छदारले अब राजनीतिमा लागेर बाबुको विरासतलाई अघि बढाउने घोषणा गरेका छन् ।

५, बालकृष्ण खाँडका भाइ रामकृष्ण खाँण

नेपाली कांग्रेस रुपन्देहीको जिल्ला सभापतिमा रामकृष्ण खाँण निर्विरोध चयन भएका छन् । जिल्ला निर्वाचन समितिका अनुसार सभापति पदमा खाँणको एकल उम्मेदवारी परेको हो । उनी गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन् । सभापतिमा निर्वाचित खाँण यसअघि जिल्ला सचिव थिए । दुई कार्यकाल सचिव भएका उनले सहमतिबाटै जिल्लाको नेतृत्व सम्हाल्ने अवसर पाउने भएका छन् । संस्थापन समूहबाट सभापति पदमा उम्मेदवारको चर्चामा पहिलेदेखि नै उनको चर्चा रहेको थियो ।

६, बलबहादुर केसीकी श्रीमती रिना के.सी.

बलबहादुर केसी नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन् । उनी सोलुखुम्बुका हुन् । पूर्व मन्त्री समेत हुन् । उनकी श्रीमती रीना केसी नेपाल महिला संघको राजनीतिमा सक्रिय छिन् । उनी ओखलढुंगाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् ।

दक्षिण एसियाली देशहरूको नकारात्मक अभ्यासको प्रभाव नेपाली राजनीतिमा उत्तिकै परेको छ । भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालगायतकादक्षिण एसियाली मुलुकहरूमा राजनीति र सत्तामा परिवार र वंश हाबी छ ।जुन एकदमै नकारात्मक अभ्यास हो । रत्यसैको प्रतिबिम्ब नेपाली राजनीतिमा पनि देखा परेको छ। यसले पार्टीको छविमा नकारात्मक असर पुर्‍याउँछ।

कांग्रेस जस्तो लोकतन्त्र र उदारवादी पार्टीभित्र नेतृत्व चयन गर्दा सैद्धान्तिक वैचारिक योगदानको मुल्यांकन हुन आवश्यक भए पनि व्यवहारमा भएको पाइँदैन । पारिवारिक विरासतकै आडमा राजनीतिमा आएर पद र प्रतिष्ठा आर्जन गर्ने संस्कारले सिङ्गो पार्टीलाई कमजोर बनाउँदै लैजान्छ । यो विषयमा इमानदार, निष्ठावान र सक्षम कांग्रेस कार्यकर्ताले समयमै गहिरो चिन्तन गर्न आवश्यक देखिन्छ।

 

Logo