एमालेलाई पद्धतिमा हिँडाउन अध्यक्षमा उम्मेद्वारी दिएँ: नेता रावल

एमालेलाई पद्धतिमा हिँडाउन अध्यक्षमा उम्मेद्वारी दिएँ: नेता रावल


नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा पराजित भएका नेता भीम रावलले पार्टीलाई विधि र पद्धतिमा हिँडाउन अध्यक्षमा उम्मेद्वारी दिएको बताएका छन्। एमालेलाई विधि पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गर्ने अठोटअनुसार आफूले उम्मेद्वारी दिएको समेत उल्लेख गरेका छन्। 

महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले बन्दशत्र हलमा प्रवेश गरेको नयाँ नेतृत्वको सूची अनुमोदन नगर्ने अडान लिँदै निर्वाचन प्रकृयामा जाने अडान रावलले लिएका थिए। सोहीअनुरुप बन्दशत्र हलमा ओलीले पेश गरेको नयाँ नेतृत्वको सूचीप्रति असहमति राख्‍दै नेता रावलले ओलीविरुद्ध अध्यक्षको उम्मेद्वार बन्ने निर्णय लिएका थिए। ओलीले अन्तिमसम्म सर्वसम्मत गर्ने प्रयास गरे पनि अन्ततः निर्वाचनमा जानुपरेको थियो । 

मंगलबार सम्पन्न भएको निर्वाचनबाट केपी ओलीले १८४० मत ल्याउँदै अध्यक्ष निर्वाचित भए भने रावलले २२३ मत ल्याएर पराजित भए। महाधिवेशनबारेमा काठमाडौं पुगेर प्रतिक्रिया दिने बताएका रावलले बुधवार सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेद्वारी पार्टीलाई विधि र पद्धतिमा हिँडाउने प्रयास स्वरुप भएको बताएका छन्। ‘एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिँडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरेअनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेद्वारी दिएको हुँ’, नेता रावलले लेखेका छन्, ‘मलाई साथ, समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई हार्दिक धन्यवाद दिँदै कृतज्ञता प्रकट गर्दछु।’ 

एमालेको निर्वाचनमा हार्ने निश्चित हुँदाहुँदै पनि ओलीलाई सर्वसम्मत अध्यक्ष हुन नदिई निर्वाचनमा  लैजान सफल भएको भन्दै उनको चर्चा भइरहेको छ। अध्यक्षमा पराजित भए पनि रावलले ओलीले तयार पारेको सूची अनुमोदन नगरेर आफ्नो एजेण्डा महाधिवेशनमा स्थापित गराउन सफल भएको भन्दै रावलको अहिले चर्चा भएकाे हाे। रावलको अडानकै कारण एमालेले नयाँ नेतृत्व चयनका लागि निर्वाचन गराएको थियो। जसअनुसार मंगलबार ३०१ सदस्यीय नेतृत्व चयन भएको छ। 

Logo