सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईकाे आज ९८औं जन्मजयन्ती मनाइँदै

सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईकाे आज ९८औं जन्मजयन्ती मनाइँदै


नेपाली कांग्रेसका तत्कालिन सभापति एवं पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईकाे आज ९८औं जन्मजयन्ती मनाइँदैछ। उनको जन्म जन्म विसं.१९८१ पौष ०८ गते भएको थियो। कृष्णप्रसाद भट्टराईको राजनीतिक नाम किशुनजी हो। भट्टराई नेपालका २९ औं प्रधानमन्त्री हुन् । 

नेपालका राजनीतिज्ञ, नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पछिका पहिलो प्रधानमन्त्री थिए, उनी । भट्टराई वि.सं. २००३ सालमा नेपाली कांग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा संलग्न थिए। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर तथा उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए। भट्टराई वि.सं.२०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए।

उनी विसं.२०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषदमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । नेपाल अधिराज्यको संविधान २०४७ को निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्वपूर्ण दायित्व यिनले सफलतापूर्वक बहन गरेका थिए । तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा यिनी आफू भने काठमाडौंबाटै पराजित भए । पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए ।

गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे । यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे । हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो । गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा थियो । पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ । आजीवन नेपाली कांग्रेसमै रहेर राजनीतिमा होमिएका उनको मृत्यु २०६७ फागुन २० गते भएको थियो । कांग्रेसमा उनको अभाव अहिले पनि उत्तिकै छ।

Logo