एमाले कास्कीमा तोडियो खगराजको एकाधिकार, मनबहादुर गुरुङ अध्यक्षमा निर्वाचित

एमाले कास्कीमा तोडियो खगराजको एकाधिकार, मनबहादुर गुरुङ अध्यक्षमा निर्वाचित


सानो सानो संगठनमा पनि आफ्नो प्रभाव खोज्ने केन्द्रीय सदस्य खगराज अधिकारी अन्ततः आफ्नै जिल्लाको राजनीतिमा पछि परेका छन् । एमाले जिल्ला कमिटीको निर्वाचनमा अधिकारीले खडा गरेका प्रमुख पदहरु गुमाए । अध्यक्षमा उपमहासचिव तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्यानलबाट मनबहादुर गुरुङ निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी दामोदर बैरागीलाई ४९ मतान्तरले पछि पार्दै गुरुङले अध्यक्ष जितेका हुन्। गुरुङले ४ सय ५६ मत पाउँदा बैरागीले ४ सय ७ मत पाए। गुरुङ कार्यवाहक अध्यक्ष थिए भने बैरागी सचिवमा काम गरेर कमिटीबाट बाहिरिएका हुन्।

उपाध्यक्षमा पनि गुरुङ प्यानलकै तेजनारायण अधिकारीले जिते। निकटतम प्रतिश्पर्धी प्रभा कोइरालालाई ८ मतले हराएका हुन्। अधिकारीको ४ सय २१ मत आएको छ भने कोइरालाको ४ सय १३ मत छ। बाँकी पदाधिकारी बैरागी प्यानलका उम्मेद्वार विजयी भए। सचिवमा बैनबहादुर अधिकारी क्षेत्री सबैभन्दा फराकिलो मतान्तरले विजयी हुँदा गुरुङ प्यानलका विष्णु केसी हारे । अधिकारीले ४ सय ७५ मत पाउँदा केसीको ३ सय ६४ मत मात्रै छ।

उपसचिवमा लेखबहादुर तामाङ (दर्शन लामा) र नवराज ओझा विजयी भएका छन्। लामाले सर्वाधिक ५ सय ४० मत ल्याएका छन्। अर्का विजयी ओझाले ४ सय ६३ मत मत पाए। पराजित भएका गुरुङ प्यानलका इमानराज पौडेलले ३ सय ५५ र मनबुजा विकले २ सय ३७ मत पाएका छन्। सदस्यहरुको मतगणना जारी छ। ९ सय १९ मतदाता मध्ये कास्कीमा ८ सय ९४ मत खसेको थियो।

Logo