कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशनमा अझै किचलो, निर्वाचनस्थलको विवाद कायमै

कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशनमा अझै किचलो, निर्वाचनस्थलको विवाद कायमै


विवादका कारण महोत्तरी क्षेत्र नम्बर ३ को स्थगित भएको अधिवेशनमा पुरानै अडान दोहोरिएको छ। संस्थापनइतरका रामचन्द्र पौडेल र विमलेन्द्र निधि प्यानलबीच अधिवेशन गराउन भएको निर्वाचनस्थलको विवादले पुनः अधिवेशनका सम्बन्धमा शंका उत्पन्न भएको हो।

‘केन्द्रीय महाअधिवेशनमा सहभागी हुन नपाएपछि अधिवेशन नभए पनि हुन्छ भन्ने मनसायले केही नेताहरू अधिवेशन नै हुन नदिने षडयन्त्रमा लागेका छन्’, जिल्ला सचिव शम्भु पाठकले भने।

आपसी विवादका कारण क्षेत्रको अधिवेशन स्थगित भएपछि केन्द्रीय महाअधिवेनमा भाग लिन नपाएका नेताहरूमा अहिले ठूलो असन्तुष्टि देखिएको छ। 

निर्वाचन पिपरामा गराउने कि जलेश्वरमा गराउने  विवादलाई लिएर सहमति जुटन नसक्दा  छलफल निष्कर्षमा पुग्न सकेको छैन।

विमलेन्द्र निधि पक्षले निर्वाचन पिपरामा नै गराउनु पर्ने र रामचन्द्र पौडेल पक्षको सुरक्षित वातावरणको लागि भए पनि सदरमुकाम जलेश्वरमा नै निर्वाचन गराउनु पर्ने अडान छ।

जिल्ला अधिवेशन गराउनुभन्दा पहिला विवादित क्षेत्रीय र वडा अधिवेशन गराउनु पर्ने भन्दै जिल्लाका पूर्वमहासचिवसमेत रहेका बजरङ्ग नेपालीले भोकहडताल सुरु गरेका थिए।

नेता नेपालीको भोकहडताललाई मध्यनजर गर्दै नेपाली कांग्रेसले ३ माघभित्र अधिवेशन गराउन निर्देशन दिए पनि नेताहरूको विवादले पुनः समस्या सिर्जना बनिरहेको कांग्रेस जनाएको छ।

केन्द्रबाट नै निर्वाचनस्थल समेत निर्धारण गरे विवाद सुल्झाएमात्र  क्षेत्रीय अधिवेशन सम्पन्न गर्न सकिने नेताहरूको आंकलन छ। तर, केन्द्रबाट अधिवेशनको लागि मिति निर्धारण भए पनि विवादित निर्वाचनस्थलको विषयमा कुनै निर्णय हुन सकेको छैन।

विवाद सुल्झाउन पटक–पटक नेताहरू छलफलमा बसे पनि दुई पक्षबीचको अडानले अधिवेशन बिथोलिँदै आएको छ।

सुरुदेखि नै निधि निकटका नेताहरू मनोज झा, रामु यादव र रागवेन्द्र झाले सभापतिको लागि उम्मेदवारी घोषणा गरेका छन्। मनोज झा र रामु यादव विमलेन्द्र निकट मानिन्छन् भने रागवेन्द्र झा रामचन्द्र पौडेल निकट मानिन्छन्।

क्षेत्रीय अधिवेशन हुन नदिन पूर्व केन्द्रीय सदस्य रामचन्द्र तिवारी लगायतका नेताहरू लागि परेको संस्थापनइतरका निधि पक्षको आरोप छ। पिपरा गाउँपालिकामा नै अधिवेशन गराउनु पर्ने पौडेल पक्षको अडान रहे पनि छलफलकै क्रममा दुई पक्षबीच झडप हुँदा अर्को पक्षले निर्वाचन जलेश्वरमा नै हुनुपर्ने माग राखेका छन्।

‘हामीभित्र अब एउटै विवाद बाँकी छ कि निर्वाचनस्थल सुरक्षित वातावरणमा होस्’, सचिव पाठकले भने ।

विवादकै कारण कांग्रेस महोत्तरीमा क्षेत्र नम्बर ३ र मनरासिस्वा नगरपालिकाको एउटा वडाको अधिवेशन बाँकी छ भने कसैले पनि महाअधिवेशनमा भाग लिन पाएका थिएनन्।

Logo