राष्ट्रिय युवा संघद्वारा ४०५ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन

राष्ट्रिय युवा संघद्वारा ४०५ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन


नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले ४०५ सदस्यीय नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ। आयोजक कमिटीको संयोजक किरण पौडेल रहेका छन् भने सहसंयोजकमा सञ्जिवकुमार झा र क्रान्ती बुर्लाकोटी छन्।

युवासंघ केन्द्रीय सचिवालयको दोस्रो पूर्ण वैठक र नवौं महाधिवेशन आयोजक कमिटीको पहिलो पूर्ण वैठक पोखरामा पुस २८ देखि ३० गतेसम्म आयोजना गरिएको थियो। उक्त वैठकले गठन गरेको आयोजक कमिटीलाई अन्तिम रुप दिँदै संयोजक किरण पौडेलले संगठनभित्र विशेष सर्कुलरसमेत जारी गरेका छन् ।

राष्ट्रिय महाधिवेशनपछिको दोस्रो हैसियत कायम रहने गरि २५०१ सदस्यीय केन्द्रीय युवा परिषद निर्माण गर्ने निर्णयसमेत भएको सर्कुलरमा उल्लेख भए छ। परिषदमा २० प्रतिशत मनोनित गरिनेछ। यस्तै युथफोर्स र साइबर सर्कल विभागलाई केन्द्रदेखि वडासम्म विस्तार गरिने पनि 
सर्कुलरमा उल्लेख गरिएकाे छ।

बैठकले संगठनको बिगतको राजनीतिक तथा सांगठनिक जीवनको वस्तुनिष्ठ समीक्षा गर्दै आगामी कार्यभार लक्षित स्पष्ट मार्गचित्र आगाडि सारेको छ भने समसामयिक राजनीतिक परिघटनाप्रति स्पष्ट दृष्टिकोण पनि तय गरेको छ । बैठकले २०७८ फागुन ११–१३ गते संघको नवौँ राष्ट्रिय महाधिवेशन बाँकेस्थित नेपालगंजमा भव्यताकासाथ सम्पन्न गर्ने निर्णय गरेको छ।

बैठकले अन्तरिम विधान–२०७७, केन्द्रीय कार्यालय बैठकका निर्णयहरू अनुमोदनका साथै समायोजन सम्बन्धी प्रस्ताव पास गर्दै क्रान्ती बुर्लाकोटी लगायत समायोजन प्रक्रियामा रहेकाहरूलाई उचित जिम्मेवारीसहित व्यवस्थापन गरेको छ।

यस्तै, राष्ट्रिय–अन्तर्राष्ट्रिय सरोकारका विभिन्न विषयहरूलाई समसामयिक प्रस्तावका रूपमा पारित गर्दै संघको दिगो हित र सुदृढीकरणको सवालका महत्त्वपूर्ण संकल्प प्रस्तावहरूसमेत पास गरेको छ। यसका साथै, आवश्यक विभिन्न प्रस्तावहरूमाथि छलफल गर्दै उपयुक्त निर्णयसहित बैठक सम्पन्न भएको छ। मातहत कमिटीहरु समक्ष बैठकका महत्वपूर्ण निर्णयहरु सम्प्रेषणका निम्ति बिशेष सर्कुलर जारी गरिएको जनाइएको छ।

Skip This
Logo