कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको साताैं स्मृति दिवस, यस्ताे छ राजनीतिक योगदान

कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको साताैं स्मृति दिवस, यस्ताे छ राजनीतिक योगदान


नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको आज साताैं स्मृति दिवस हो। कोइरालाको विसं.०७२ माघ २६ काठमाडौंको महाराजगञ्जस्थित निवासमा निधन भएको थियो। केही दिनबाट सामान्य ज्वरोका कारण अस्वस्थ भएका उनको  निमोनियाका कारण आकस्मिक निधन भएको बताइएको थियो।

सुशील कोइराला नेपालका ३७ औं प्रधानमन्त्री थिए। कोइराला नेपालको व्यवस्थापिका संसदबाट वि.सं.२०७० माघ २७ गते प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए। कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको हो। सुशीलको जन्म सन् १९३९ मा भएको थियो । उनका ६ भाइ र एक बहिनी थिए। वन अधिकृत बोधप्रसाद जागिरका सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज पुगेका थिए। त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्जमा भएको थियो ।

उनी विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई विसं २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका हुन् । विसं. २०१७ मा प्रजातन्त्रको अपहरणपछि उनी १६ वर्षसम्म भारतमा स्वप्रवासमा रहेका थिए। प्रवासमा रहँदा उनले नेपाली कांग्रेसको मुखपत्र तरुणको सम्पादन गरेका थिए। उनले नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनीतिक बन्दीजीवन बिताएका थिए। 

विसं. २०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका सुशील ०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनाका साथै २०४२ सालको सत्याग्रह र वि.सं.२०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सक्रियरूपमा लागेका थिए।

बीपी कोइरालाको निधनपछि नेता गिरिजाप्रसाद कोइरालासँग सोसलिस्ट इन्टरनेसनलसँग पार्टीको सम्बन्ध विस्तार गर्न युरोप र अमेरिका भ्रमण गरेका सुशीलले समाजवादी नेता बिली ब्रान्ट, ब्रुनोकास्की तथा अन्य युरोपेली र अमेरिकी नेतासँग समाजवादी आन्दोलन सम्बन्धमा छलफल गरेका थिए।

सुशीलले पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका थिए। पार्टीको एघारौँ महाधिवेशनपछि उनले पार्टीको कार्यवाहक सभापतिका हैसियतले काम गरे। त्यतिबेलासम्म सरकारी लाभको पदमा नरहेका सुशील सन्त राजनीतिक नेताका रूपमा पनि परिचित छन्।

विसं. २०१७ मा प्रजातन्त्रको अपहरणपछि उनी १६ वर्षसम्म भारतमा स्वप्रवासमा रहेका थिए। प्रवासमा रहँदा उनले नेपाली कांग्रेसको मुखपत्र तरुणको सम्पादन गरेका थिए।

उनले स्वदेश र प्रवासमा नेपाली काँग्रेसका नेता बीपी र गिरिजानिकट रहेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन्। उनले विसं २०४६ सालपछि पार्टीको परराष्ट्र सम्बन्ध विभागका प्रमुख भई काम गरेका थिए। पार्टी सङ्गठनमा विशेष चासो लिने सुशील तत्कालीन प्रतिनिधिसभा चुनावमा वि.सं २०४८ र २०५६ मा बाँके जिल्लाबाट निर्वाचित भएका थिए। सन् २००० सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा भएको एसियाली राजनीतिक दलहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिएका थिए। कोइरालाले सन् २००१ मा संसदीय दलको नेतामा भने शेरबहादुर देउवासँग हारेका थिए।

कोइराला सन् २०१० सेप्टेम्बर २२ मा काठमाडौंमा भएको १२ औं महाधिवेशनमा नेपाली काँग्रेसको सभापति चुनिए। सुशीलले १ हजार ६ सय ५२ मत ल्याए, जुन पार्टी विधान अनुसार निर्वाचित हुन आवश्यक कूल मतको ५० प्रतिशतभन्दा बढी हो । उनका निकटतम प्रतिद्वन्द्वी देउवाले १ हजार ३ सय १७ मत मात्रै ल्याए। पाँच दशक राजनीतिमा बिताएका कोइरालाले विसं. २०४६ सालपछि कांग्रेस नेतृत्वमा पटकपटक सरकार बन्दा पनि मन्त्री पद अस्वीकार गरेका थिए।

०४६ मा प्रजातन्त्र पुनःस्थापनापछिको अन्तरिम सरकारमा परराष्ट्रमन्त्री र त्यसपछि पनि पटकपटक उपप्रधानमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरेका थिए। ००७ सालपछिको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका कोइरालाले ६ वर्ष जेल र २० वर्ष प्रवासमा बिताएका थिए। ०७२ सालको नेपालको संविधान उनकै नेतृत्वको सरकारको समयमा जारी भएको थियो।

Logo