जनचाहानाअनुसार काम गर्न नपाएकोमा उपप्रमुखको दुखेसो

जनचाहानाअनुसार काम गर्न नपाएकोमा उपप्रमुखको दुखेसो


संघीयता कार्यान्वयनपछि गठन भएको स्थानीय तहमा निर्वाचित पहिलो जनप्रतिनिधिहरुको कार्यकाल सकिनै लागेको छ । २०७४ सालमा भएको निर्वाचनबाट ७५३ वटा स्थानीय तहमा ३६ हजार ६३९  पदाधिकारी निर्वाचित भए । निर्वाचित भएकामध्ये उपप्रमुख र उपाध्यक्षमा ९४ प्रतिशत छन् ।

स्थानीय तहको निर्वाचनसम्बन्धी व्यवस्था ऐन, २०७३ ले राजनीतिक दलले अध्यक्ष/प्रमुख तथा उपाध्यक्ष/उपप्रमुखमा उम्मेदवारी दिँदा एक जना अनिवार्य महिला उम्मेदवार हुनु पर्ने व्यवस्था गरिदिएको छ । सोही प्रावधानका कारण दलहरुले उपप्रमुखमा बढी महिला उम्मेदवार उठाए र ९४ प्रतिशत निर्वाचित पनि भए । 

केछ उपाध्यक्ष/उपप्रमुखको भूमिका ?

स्थानीय तह सरकार सञ्चालनका निमित्त नेपालको संविधान तथा स्थानीय तह कार्य सञ्चालन ऐनले उपाध्यक्ष/उपप्रमुखको भूमिका तोकेको छ। संविधानले नै उपाध्यक्ष/उपप्रमुख न्यायिक समितिको संयोजक रहने व्यवस्था गरेको छ। त्यसैगरी स्थानीय तह सञ्चालन ऐनले उपाध्यक्ष/उपप्रमुखलाई अध्यक्ष र प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने, गैरसरकारी संघ, संस्थाका क्रियाकलापको समन्वय गर्ने, उपभोक्ता हित संरक्षणसम्बन्धी कार्य समन्वय गर्ने, योजना तथा कार्यक्रम अनुगमन तथा सुपरीवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेश गर्ने, सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने, सभा, कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने व्यवस्था गरेको छ ।

यस्तै, कार्य विभाजन र कार्यसम्पादनसम्बन्धी व्यवस्था सम्बन्धित कार्यपालिकाले स्वीकृत गरेको नियमावलीबमोजिम हुने र कार्यविभाजन नियमावलीमा अध्यक्ष तथा प्रमुख, उपाध्यक्ष तथा उपप्रमुख, वडा अध्यक्ष र सदस्यको काम, कर्तव्य र अधिकारसमेत उल्लेख हुनुपर्ने व्यवस्था छ। यसका अतिरिक्त उपाध्यक्ष/उपप्रमुखलाई अन्य विभिन्न समितिको संयोजक तथा सदस्य भई कार्य गर्ने जिम्मेवारी पनि तोकेको छ । 

केही स्थानीय तहमा भने प्रमुख–उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्ष दुबै पदमा पुरुष प्रतिनिधि छन् । संवैधानिक व्यवस्थाअनुसार दलहरुले महिला उम्मेदवार बनाएपनि पराजित भए । कहीँ भने दुबै पदमा महिलाले जितेका छन् । हाल देशभर १४ हजार ३ सय ५६ जना महिला जनप्रतिनिधि छन् । जसमध्येनगर प्रमुखमा ७र गाउँपालिका अध्यक्षमा ११ जना महिला छन् । 

जनप्रतिनिधिको पहिलो कार्यकाल भने संवैधानिक जटिलता, कानुनी अड्चन फुकुवा, क्षेत्राधिकार, कर्मचारी व्यवस्थापन, कार्यालयको टुंगो, भवनसहितको पूर्वाधारलगायतमा रुमलियो । जेनतेन चल्न थालेपछि कोरोना माहामारी रोकथाम, नियन्त्रण तथा उपचारको व्यवस्थापनमा जनप्रतिनिधिहरुको लामो समय खर्चियो । जनप्रतिनिधिहरुको प्रयासले मुलुकमा कोरोना महामारी नियन्त्रण प्रभावकारी भएको स्वास्थ्य जनाकारहरुको बुझाइ छ। 

२० वर्ष लामो समय जनप्रतिनिधि खाली रहेको अवस्थामा जनप्रतिनिधिले स्थानीय सरकारको आभास दिलाएका छन् । तर केहीलाई छाडेर अधिकांश स्थानीय तहमा भने भ्रष्टचार, राज्यशक्तिको चरम दुरुपयोग भएको पाइएको छ । आगामी दिनमा यसमा सुधार ल्याउन सके, एमालेको नारा जस्तो, आफ्नो गाउँ आफैं बनाउन जनता पनि कम्बर कसेर लाग्ने थिए । 

यहाँ हामीले स्थानीय तहमा पहिलो कार्यकाल र आगामी निर्वाचनमा केन्द्रित भएर महिला उपप्रमुखको अनुभव र योजना प्रस्तुत गर्ने प्रयास गरेका छौं। 

शान्ति नेपाल, उपप्रमुख, गोकर्णेश्वर नगरपालिका


‘नेपालले पहिलो पटक चुनावमा उपप्रमुख जितेपछि पार्टीको जिम्मेवारीभन्दा नगरका कामलाई प्रमुख ठानेर अगाडि बढे ।  ५ वर्षको कार्यकाल सम्हाली रहँदा आएका बाधाहरुलाई नेतृत्वले सामान्य मान्नुपर्ने रहेछ । अबको म फेरि उपप्रमुख नै दोहोर्याउने सोचमा छु । यो पाँच वर्षको अवधि सिकाइको क्रम भयो । कोभिडको कारण जनताको माग पूरा गर्ने सकिएन । सोचेका र आँटेका कामहरु गर्ने कतिपयः अवस्थामा पाइएन । अबको मेरो सोच पुराना कुरालाई पूरा गर्न उपप्रमुख नै दोहोर्याउने योजना छ । मलाई पार्टीले टिकट दिन्छ भन्ने कुरामा ढुक्क छु नदिएको खण्डमा विद्रोह गर्न तयार छु । आफूले गरेको कामबाट जनताहरु खुशी भएका छन् भन्ने लागेको छ । जनताले नै उपप्रमुखमा फेरिसाथ दिने कुरा गर्नु हुन्छ । म मेयर पनि चलाउँन सक्ने क्षमता भएको छु जस्तो लाग्छ । तर यो चुनावमा उपप्रमुख नै आफूलाई उचित हुने भएकाले मैले यस्तो निधो गरेकी छु ।’

ज्ञानमाया डंगोल, उपप्रमुख, टोखा नगरपालिका


‘मैले अहिलेको अवस्थाबाट माथि जाने साेच बनाएकाे छैन् तर पार्टीले जिम्मेवारी दियो भने नाई भन्दिन । महिला नेतृत्वले गर्ने सक्दैनन् भन्ने सोचलाई आफूले काम गरेर देखाएको छु । उनले यो कार्यकाललाई पनि उपप्रमुख नै दोहोर्याउने निधो गरेको छु । पार्टी र जनाताले मेरो काम देख्नु भएको छ । मैले नेतृत्व गरिरहँदा गरेका कामको उपलब्धि जनताले देख्नु भएको छ । अहिले पार्टी भन्दा व्यक्तीलाई हेर्ने सिस्टम हाम्रो समाजमा भएकाले मैले गरेको काममा नगरबासी सन्तुष्ट हुनुहुन्छ । सो कारण पार्टीमा छलफल गरेर म पुनः उपप्रमुखमा नै जाने योजनामा छु । प्रमुखमै आफ्नो सम्भावना भएपनि अहिले अधुरा कामलाई पुरा गर्ने उपप्रमुखमा नै जान चाहान्छु ।’  

वसन्ती तामाङ, उपप्रमुख, दक्षिणकाली नगरपालिका


‘यो कार्यकालमा जनताको काम गर्न कोभिड बाधक बन्यो । पछिल्लो दुई वर्ष त कोरोना कोरोना भनेरै बित्यो । सोही कारण जनताको विश्वास जुटाउन समस्या भयो । अब फेरि उपप्रमुखमा जाने योजनामा छु । मेयर पाइयो भने पनि काम गर्ने सक्ने आँट भने छ । पार्टीमा एक दुई पटक छलफल गर्दा नेताहरु सकारात्मक हुनुभएको छ । जनताको मन जितेको छु जस्तो लाग्छ । उपप्रमुखका जिम्मेवारी धेरै थिए केही पूरा गर्ने सकेको छैन । सो कारण पुनः म यहीँ पदमा जान चाहान्छु । ५ वर्षको अवधिमा काम गरेको अनुभवले पुनः उपप्रमुखमा गएर आफूले जनताको भावना र अपेक्षा पूरा गर्ने सोच बनाएको छु । अब महिला नेतृत्वलाई जुनसुकै पार्टीले अगाडि बढाएर लानुपर्ने भएकाले मेरो पार्टीले समेत मलाई सहयोग गर्छ भन्ने लाग्छ ।’

रमादेवी राई, उपप्रमुख, बुढानिलकण्ठ नगरपालिका


‘५ वर्षको कार्यकालमा सिकाइ र सिस्टम बुझ्दा धेरै काम अधुरा रहेका छन् । अबको चुनावमा कहाँ जाने कसरी जाने भन्ने कुरामा आफ्नो पार्टीमा छलफल हुन बाँकी नै छ । यो कार्यकाल नयाँ भएको भएपनि उपप्रमुख पदलाई न्याय दिएर काम गरे जस्तो लाग्छ । चुनौतीसँग अवसरको सम्भावना हुन्छ । पार्टीमा छलफल नभएपनि अबको चुनावमा आफूलाई नगर प्रमुखको रुपमा जाने सोच बनाएको छु । महिला तथा समग्र नगरबासीको मागलाई मैले सम्बोधन गर्दै नगरप्रमुखमा उठ्ने योजना बनाएको छु । अघिल्लो कार्यकालमा महिलालाई प्रमुखको जिम्मेवारी कम दिएको थियो । योनिर्वाचनमा धरै उपप्रमुखले प्रमुखमा जाने सम्भावना बोकेका छन् । यो कारण मैले मेयरमा जाने निधो गरेको छु । मेरो इच्छा के हो भने अब महिलाहरु पनि मेयरमा सक्षम र नेतृत्व लिन तयार हुनुपर्छ । मेरो अबको योजना रोजगारी सिर्जना गर्ने तथा युवाहरुको सक्रियतालाई सम्मान गरेर नगरलाई नमुना र सक्षम बनाउँने हो । मलाई मेरो काम देखेर पार्टीले प्रमुखमा टिकट दिन्छ भन्ने कुरामा ढुक्क छु ।’

शुक्रलक्ष्मी श्रेष्ठ, उपप्रमुख, शङ्खरापुर नगरपालिका


‘पाँच वर्षेकार्यकालको अनुभवले नगरको विकास तथा समग्र क्षेत्रको जनकारी भएको छ । उपप्रमुख भएर जिम्मेवारी लिँदा थुपै कुरामा नौलो अनुभव गरेको थिएँ । कानुनको पालना गर्दा जटिलताको पनि सामाना गर्नु परेको थियो । पढ्दै गर्दै गएपछि सहज नै हुने रहेछ । अब स्थानीय तहको चुनावमा नगर प्रमुखको जिम्मेवारी आएपनि चलाउन सकिन्छ । पार्टीमा आफू मेयरमा जाने वा उपप्रमुखमै रहने भन्ने विषयमा सल्लाह हुन बाँकी छ । कोरोना माहामारीले देशको अर्थतन्त्रमा ठुलो नोक्सान परेकाले आफूले सोचेका सबै काम सम्पादन गर्ने सक्षम भएको छैन। कतिपय अवस्थामा काममा कमीकमजोरी भए होलान् । अबको योजना पार्टीले जिम्मेवारी दिएको खण्डमा मेयर उपमेयर दुबै चलाउन सक्छु भन्ने आँट जागेको छ । जनभावना अनुसार काम गर्ने सक्षम छु भन्ने लागेको छ । जनता र पार्टीले उचित मुल्याङ्कन गर्छन् भन्ने अपेक्षा छ । मैले गरेको कामबाट जनता खुशी छन् भन्ने लागेको छ ।’ 
 

Logo