‘जनताको इच्छाअनुसार गाउँपालिकाको नेतृत्व गर्न सक्षम छौं’

‘जनताको इच्छाअनुसार गाउँपालिकाको नेतृत्व गर्न सक्षम छौं’


वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचन हुने भएपछि यो बेला दलहरु चुनावी प्रचारप्रसारमा लागि सकेका छन् । शीर्ष नेताहरु चुनावी सभालाई सम्बोधन गर्नमा व्यस्त रहँदा अन्य भने चुनावी कार्यक्रम लिएर यो बेला गाउँ छिरेका छन् । पार्टीको प्रचारदेखि निर्वाचनको उम्मेदवार छान्न यतिखेर नेपालका राजनीतिक दलहरु कम्मर कसेर लागेका छन् । कतिपय दलले उम्मेदवार छनोटको मापदण्ड बनाएका छन् भने कतिपय दल छलफलमा छन् । 

२०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधि भने कामको मैजारो गर्नमा व्यस्त देखिएका छन् । अधुरा कामलाई पूर्णता दिने, पुराना कामको लेखाजोखा गर्ने, नयाँ कार्यक्रमको आश्वासन दिएर मतदाता रिझाउने लगायत काम गाउँघरमा व्याप्त छ । जसका कारण बजेटको दुरुपयोग हुने हो कि भन्ने चिन्ता पनि छ । 

गाउँपालिका भनेको के हो ?

गाउँपालिका एक भौगोलिक तथा शासकीय तह हो । सरकारले २०७४ सालको साउन २८ गते स्थानीय तहको संख्या ७४४ बाट बढाएर ७५३ मा लगेको बनायो । जस्मा ६ वटा महानगर, ११ वटा उपमहानगर, २७६ वटा नगरपालिका र ४६० वटा गाउँपालिका रहेका छन् । गाउँपालिका गाउँ विकास समितिलाई बिस्तार गरेर बनाइएको नेपालको नवनिर्मित स्थानीय प्रशासनिक एकाई हो । सरकारले तत्कालिन गाविस विघटन गरी गाउँपालिका बनाएको थियो गाउँपालिकामा कम्तिमा पाँच देखि नौ वटा वडाहरू हुन्छन् । हामीले देशभर भएका ४६० वटा गाउँपालिकामध्ये यो लेखमा सातै प्रदेशबाट प्रतिनिधित्व गराउने प्रयास गरेका छौं । गाउँपालिका उपाध्यक्षसँग हामीले ५ वर्षको कार्यकाल कस्तो रह्यो ? आगामी योजना के छ ? जस्ता विषयमा कुराकानी गरेका छौं । उहाँहरुको भनाइ यस्तो छ । 

हिमा अधिकारी, उपाध्यक्ष, फालेलुङ गाउँपालिका, पाँचथर 
‘म अब अध्यक्षमा जाने योजनामा छु । महिलाले अध्यक्ष चलाउँन सक्दैनन् भन्ने भ्रमलाई चिर्न पनि म अध्यक्षमा जानु पर्छ । म हरेक हिसावले अध्यक्षमा जान योग्ग छु भन्ने लागेको छ । क्षमता तथा अनुभवले पनि मानिसलाई सहज बनाउने रहेछ । मैले यो कुरा पार्टीमा पनि राखेको छु र त्यहाँबाट पनि सकारात्मक जवाफ पाएको छु । निर्वाचनका बेला जनतासामु गएर गरेका प्रतिबद्धता पूरा गरेको छु । जनताले पनि तपाईले पाउनु पर्छ भनेर हौसला दिइरहनु भएको छ । अबको मेरो योजना गाउँपालिकाको नेत्तृत्व गर्ने नै हो त्यसकारण मैले आफ्नो तर्फबाट जनताका लागि गर्नुपर्ने काम गरेकाले मलाई पार्टीले मुल्याङ्कन गरेर बिजयी बनाउने छ भन्ने लागेको छ ।’

 

आशादेवी यादव, उपाध्यक्ष, लक्ष्मीपुर पतारी गाउँपालिका,सिराहा 
‘मैले पार्टीमा म उपाध्यक्षमा दोहोरिन चाहान्छु भनेर भनिसकेको छु । मेरो मन तथा रहर अझै पुगेको छैन् । त्यसैले पनि फेरि उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएकी हुँ । मधेसी जनताका महिलालाई माथि उकास्ने मेरो योजना थियो जुन काम अधुरै छ । त्यसलाई पनि पूरा गर्न बाँकी छ । जनताले फेरि उम्मेदवारी दिनु पर्छ भन्नु भएको छ र मलाई साथ सहयोग पनि दिनुभएको छ । हामी तपाईंको साथमा छौं भनेर फोन गर्ने, खबर पठाउने पनि गर्नुभएको छ । मलाई परिवारबाट पनि राम्रो साथ छ । म अध्यक्षमा जान नसक्ने भन्ने होइन तर मलाई पुनः उपाध्यक्ष नै दोहोर्याउन मन लागेको छ । ५ वर्षको अवधीमा धेरै काम गरेको छु । अब पुनः ५ वर्ष यही क्षेत्रमा जाने छु ।’

 

विना लामा उपाध्यक्ष रुवी भ्याली गाउँपालिका धादिङ 
‘म अध्यक्ष नै चलाउँन सक्षम छु । अन्य अग्रजहरु भएका कारण मैले दावी गर्ने मिल्दैन भन्ने लागेको छ । सो कारण म पुनः उपध्यक्षमा जाने तयारीमा छु । सबै कुरामा पार्टीको निर्णय अन्तिम हुने भएकाले अहिले केही भन्न सकेको छैन । पार्टीले टिकट दिए म जुनसुकै क्षेत्रमा जान र काम गर्न सक्षम छु जस्तो लाग्छ । महिलालाई कोटाका लागि मात्र होइन उनीहरुको सक्षमता तथा क्षमताको कदर गर्न पनि अध्यक्ष पद दिनुपर्छ भन्ने बुझाइ छ । मेरो गाउँपालिका दुर्गम भएकाले मैले यहाँको विकास निर्माणको कामलाई प्रथमिकतामा राखेर काम गरे । जनभावना अनुसार काम गरेकै कारण मलाई पुनः पद दोहोर्याउन आग्रह गर्नु भएको छ । उहाँहरुले पुरानै टिम आउँछ भन्ने इच्चा व्यक्त गर्नु भएको छ ।’ 

 

सृजना केसी,उपाध्यक्ष,मंगला गाउँपालिका म्याग्दी 
‘केही घरायसी काम र जिम्मेबारीका कारण आगामी निर्वाचनमा मैले उम्मेदवारी नदिने निधो गरेको छु । यो कार्यकालमा पनि मैले धेरै काम पूरा गर्न पाइन । म समाजको काम गरेर आएको मान्छे भएको नाताले उपाध्यक्ष पद सम्हाल्न सहज भयो सो कारण जनता सामु गएर काम गर्न खासै समस्या भएन । अनुभव राम्रो भयो गाउँको विकास माथि उठाउन जनतालाई स्थानीय सरकारको प्रत्याभुति दिलाउँन सकेको छु भन्ने लागेको छ । धेरै जनताले पुन दोहोेर्याउन आग्रह गर्नु भएको छ तर यो पटक म अरुलाई पनि माथि लानुपर्छ भन्ने हिसावले अगाडी बढेको छु । समाजसेवा रराजनीतिक फरक पाटो भएका कारण म समाजको काममा लाग्ने सोच बनाएको छु । म जता भएपनि गाउँको विकासमा लाग्नेछु ।’

 

पवित्रा जिसी,उपाध्यक्ष,झिमरुक गाउँपालिका, प्यूठान 
‘मैले भनेर केही हुने होइन पार्टीको निर्णय अनुसार काम गर्ने सोच बनाएको छु । यो पटक म पद दोहोर्याउने योजनामा छैन । अरुलाई पनि पालो दिने सोचेकी छु । म सवाजसेवाबाट राजनीतिमा प्रवेश गरेको मान्छे हुँ । तर राजनीति र समाज फरक पाटो रहेछन् । जनतालाई निरास बनाउँने काम गरिएको छैन । इच्छाचाहाना पूरा गरिएको छ भन्ने लागेको छ । पद भन्दा पनि जनताको सेवक भएर काम गरेको छु । समाज सेवा र मेरो गाउँको जिम्मेवारी पद नभएपनि उतिकै महत्वपुर्ण रहने छन् । पद भन्दा काम ठुलो भन्ने हिसावले अगाडी बढ्ने योजनामा छु ।सो कारण म यो निर्वाचनमा अन्य दिदीबहिनीलाई आफ्नो जिम्मेवारी दिन चाहान्छु । जनताले मलाई आउनुपर्छ भनिरहेको भएपनि यो पटक म जनप्रतिनिधि नभइ अन्य महिलालाई पालो दिने सोचमा छु । मलाई पदको कुनै लोभ छैन जहाँ भएपनि म जनताको सेवामा लाग्ने कुरामा कुनै द्विमत छैन ।’

 

राज्यलक्ष्मी मल्ल,उपाध्यक्ष,सोरु गाउँपालिका मुगु 
‘पार्टीमा कुरा चलिरहेको छ । मलाई अहिले जनताको केही चाहानाहरु पूरा नभएका कारण उपाध्यक्षमा नै दोस्रो कार्यकाल बिताउन मन लागेको छ । यदि मभन्दा सक्षम कोही महिला नेतृत्वमा आउन इच्छुक भए म अन्य महिलालाई अवसर दिनेछु । नत्र पुनः म उपाध्यक्ष नै दोहोर्याउने तयारीमा लागेको छु । केही वर्ष नियम कानुन बुझन समय लागेका कारण मैले राम्रोसँग काम गर्न पाएको छैन । कोरोनाका कारण पनि धेरै सोचेका कामहरु अघि बढाउनै पाइन ।सुरुमा काम गर्न सकिन्न सक भन्ने डर लागेको थियो तर पछि गर्दै जाँदा सहज बन्यो । एक्लै गर्ने होइन टिमले काम गर्ने त्यसैले हरेक काममा मज्जा लिईयो । म अध्यक्ष नै हुने क्षमता भएको मान्छे हुँ तर यो पटक पार्टीले कस्तो निर्णय गर्छ पर्खाइमा छु ।’

 

सत्यदेवी महरा, उपाध्यक्ष, लालझाडी गाउँपालिका, कञ्चनपुर 
‘मेरो दावी भनेको अब गाउँपालिका अध्यक्षको हो । पार्टीले के जिम्मेवारी दिन्छ त्यसलाई पनि मान्नै पर्ने हुन्छ । अहिलेसम्म पार्टीमा सामान्यमात्र छलफल भएको छ । हामी पार्टीका अनुयायी भएकाले पार्टीको निर्णय मान्नुपर्ने हुन्छ । ५ वर्षको अवधिमा लालझाडी गाउँपालिकालाई स्वास्थ्य, शिक्षा तथा भौतिक योजनालाई प्राथमिकता दिएर काम गरियो । दुर्गम गाउँ भएकाले पहिलो प्राथमिकता जनताका आधारभुत आवश्यकता पूरा गरेको जस्तो लागेको छ । मलाई जनताले एक कार्यकाल दोहोर्याउनु भन्नु भएको छ । उहाँहरुको माग र पार्टीको निर्णय नै मेरो आधार हो । बाँकी रहेकाकाम पूरा गर्ने तथा अनुभव र क्षमतालाई अझ निखारेर यहाँका जनताको जीवनस्तर माथि उकास्न म अध्यक्षमा जाने तयारीमा छु । मेरो कामको मुल्याङ्कन जनताले राम्रोसँग गर्नु भएको छ । सो कारण पार्टीले समेत मलाई जिम्मेवारी दिन्छ भन्ने कुरामा ढुक्क छु ।’ 

 

Logo