कर्णालीमा स्रोतको केन्द्रीकरण आवश्यक छ : विन्दमान विष्ट

कर्णालीमा स्रोतको केन्द्रीकरण आवश्यक छ : विन्दमान विष्ट


कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले कर्णालीमा स्रोतको केन्द्रीकरण आवश्यक रहेको बताएका छन् । आर्थिक सर्वेक्षण २०७८र७९ को तयारी सम्वन्धि प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले आगामी दिनमा प्रदेश सरकारमार्फत आर्थिक सर्वेक्षणको डाटा संघमा पठाइने बताए । 

हाल वास्तविक आर्थिक सर्वेक्षण र स्रोत परिचालन नहुँदा समस्या भएको उनले बताए । अब प्रदेश सरकारले समयमै तथ्यांक पठाउने र संघीय सरकारले त्यसमा स्रोतसमेत परिचालन गर्नुपर्ने छ, उनले भने ।

मन्त्री विष्टले सर्वेक्षणकै जगमा योजना निर्माण गरेर अघि बढ्न संघीय अर्थ मन्त्रालयसँग अनुरोध गरेका छन् ।

प्रदेश सरकार नयाँ बजेट निर्माणको तयारीमा रहेको उल्लेख गर्दै वास्तविक आर्थिक सर्वेक्षण अनुरूपको स्रोत व्यवस्थापन नै प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको बताए ।

कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यले गत वर्ष कर्णालीमा अन्यभन्दा कोभिड महामारी र विपत् लगायतका क्षेत्रमा आर्थिक स्रोत परिचालन भएको बताए ।
हालसम्म आर्थिक सर्वेक्षणको आधिकारिक तथ्यांक नराखिँदा स्रोत परिचालनमा समस्या उत्पन्न हुने गरेको बताउँदै आगामी दिनमा आधिकारिक तथ्यांक आवश्यक रहेको सचिव आचार्यको भनाई छ ।

यस्तै कार्यक्रममा संघीय अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करले संघीय सरकारले कर्णालीलाई संवेदनशीलताका साथ हेरेको बताए । उनले अन्य प्रदेशको तुलनामा कर्णाली संवेदनशील रहेको भन्दै यहाँ वास्तविक लगानी आवश्यक रहेको बताए । संघीय सरकारले कर्णालीको आर्थिक सर्वेक्षणको आधिकारिक तथ्यांकको आधारमा लगानी केन्द्रित गर्ने उनको भनाई छ ।

कर्णालीमा काम गर्ने कर्मचारीलाई समेत आर्थिक सर्वेक्षणलाई संवेदनशीलताका साथ संघमा पठाउनसमेत सचिव पुष्करले आग्रह गरे । आगामी बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्ने संघीय सरकारको योजना रहेको समेत उनको भनाइ थियो ।

Logo